arrow

अमेरिकासँग कैँदीबन्दी आदानप्रदान गर्न तयार रहेको इरानको भनाइ

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
Iran-US.jpg

तेहरान। इरानले अमेरिकासँग कैँदीबन्दी आदानप्रदान गर्नका लागि तेहरान तयार रहेको आइतबार बताएको छ। यसका लागि कुनै पूर्वशर्त राखिनु नहुने धारणा तेहरानको छ। यसबारे अमेरिकी धारणा भने आइसकेको छैन। “तेहरानले सबै इरानी र अमेरिकी कैँदीबन्दीको आदानप्रदान गर्न तयार रहेको धारणा हामीले केही समय पहिले नै सार्वजनिक गरेका थियौँ,” इरानी समाचार संस्था आइएसएनएले सरकारका प्रवक्ता अलि रबीईलाई उद्धृत गरी समाचार लेखेको छ।

“अमेरिका पहिलेभन्दा अहिले यो अवस्थालाई अन्त्य गर्न बढी इच्छुकजस्तो देखिएको छ,” उनले भने। इरानले कैँदीबन्दी आदानप्रदानका लागि अमेरिकी प्रतिक्रियालाई पर्खिरहेको उनले बताए। “वासिङ्टनलाई कैँदीबन्दी आदानप्रदानका लागि हाम्रो तत्परताबारे जानकारी भएको छ त्यसैले कुनै मध्यस्थताको आवश्यकता छैन।”

इस्लामिक गणतन्त्रले गत वर्षको डिसेम्बरमा एक अमेरिकी शिक्षाविद् सियु वाङसँग इरानी वैज्ञानिक मसोउद सुलेमानीलाई फिर्ता गरेको थियो। उक्त समय नै इरानले समानरूपमा हुने कैँदी आदानप्रदानका लागि इरान तयार रहने बताएको थियो।

अमेरिकामा जैलमा रहेका आफ्ना नागरिकको स्वास्थ्यबारे इरान चिन्तित रहेको इरानी सरकारका प्रवक्ताले बताए। अमेरिकी जेलमा रहेका इरानी नागरिकलाई असल व्यवहार नभएको रबीईले दावी गर्नुभयो । अमेरिकी जेलमा रहेका इरानी वैज्ञानिकमध्ये एक सिरोअस अस्गारी विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित बनेको इरानी विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ताले गत हप्ता सबैकुरा तयारी भएको र उनी छिट्टै इरान फर्किने घोषणा गरेका थिए। तर उनले यसबारे बिस्तृत कुरा गरेका थिए । इरानले अमेरिकी नागरिक साइमक नमाजी, उनका पिता बाकेर र वातावरणविद् मोराद तावेजलाई जासुसी गरेको लगायतका विभिन्न आभियोग लगाई उक्त मुद्दामा दोषी ठहर गर्दै जेलमा राख्दै आएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उच्च अमेरिकी नौसैनिक अधिकारीलाई मार्च १९मा अस्थायीरूपमा रिहा गरेको थियो। अमेरिका र इरान दुबै मुलुकले कोरोना भाइरसको प्रकोपलाई ख्याल गर्दै कैँदीहरूलाई छाड्न आग्रह गर्दै आएका छन्। इरान महामारीका कारण मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित र विश्वकै धेरै प्रभावितमध्ये एउटा मुलुक हो। त्यस्तै अमेरिका कोरोनाभाइरस सङ्क्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो।

इरानले मार्चपछि अहिलेसम्ममा आफ्नो देशको जेलमा रहेका करिब एक लाख कैँदीलाई कोरोनाभाइरसको जोखिमका कारण विभिन्न चरणमा रिहा गरेको इरानी न्यायपालीकाले जनाएको छ।

इरान र अमेरिकाबीच दशकौँदेखि वैमनस्यता कायम रहँदै आएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानसँग विश्वका शक्तिराष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता हुने र इरानमाथि थप प्रतिवन्दहरूको घोषणा गरेपछि सम्बन्धमा थप जटिलता रहँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ