arrow

अहिले सरकार परिवर्तन गर्ने समय होइन : अध्यक्ष दाहाल

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
prachanda.jpg.jpeg
काठमाडौँ। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेट ल्याउने समय भएकाले सरकार परिवर्तन नगर्ने बताएका छ। कार्ल माक्र्सको १९८औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन अबको बाटो’ विषयको अन्तक्र्रियामा उहाँले वामपन्थी पार्टीबीचको एकता आजको आवश्यकता भएको बताए।
 
नयाँ सरकारको नेतृत्व लिन नेपाली काँग्रेसले आफ्नो पार्टीलाई गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दैमा समस्या समाधान हुने अवस्था नरहेको टिप्पणी गरे।
 
उनले भने– “अन्य दल राष्ट्रिय सहमतिमा नआउने अवस्थामा पद र नेतृत्वको लोभ गर्दै सरकारमा जानु अहिले उपयुक्त समय मैले देखिन।” अध्यक्ष दाहालले राष्ट्रिय सहमतिका लागि काँग्रेस र मधेस केन्द्रित दलसँगको छलफललाई आफूले निरन्तरता दिइरहेको जानकारी दिए।
 
वामपन्थी दलले विभाजित भएरभन्दा आफ्ना कमी कमजोरीबाट शिक्षा लिन जरुरीमा रहेको अध्यक्ष दाहालको भनाइ थियो। उनले संविधान लेखनका बेला त्यसलाई रोक्न खोज्नेले अहिले पनि संविधान कार्यान्वयन रोक्न खोजी रहेकाले संविधान पक्षधर एक हुनुको विकल्प नरहेको बताए।
 
अध्यक्ष दाहालले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्छन् कि बढ्दैनन् भनेर जनताले हेरिरहेको टिप्पणी गरे। उनले सबै कम्युनिस्लाई एक ठाउँमा ल्याएर शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउन आवश्यक रहेको बताए।
 
अर्को प्रसङ्गमा कार्ल माक्र्सले शोषण र शासन गर्नु अधिकार होइन विद्रोह गर्नु अधिकार हो भन्ने मान्यतालाई स्थापित गरेको दावी गर्दै अध्यक्ष दाहालले माक्र्सको योगदानको प्रयोग, रक्षा र विकास गर्दै लैजान आवश्यक रहेकामा जोड दिए।
 
नेकपा संयुक्तका अध्यक्ष गणेश साहले माक्र्सको जीवशैलीबाट थोरै मात्र शिक्षा लिएर अगाडि बढे कम्युनिष्ट आन्दोलनका धेरै विकृति हट्ने बताए। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा माक्र्सका विचारलाई कसरी समृद्ध गर्दै लैजाने भन्ने बहस आवश्यक रहेको टिप्पणी गरे।
 
एमाओवादीका पोलिटब्युरो सदस्य राम कार्कीले माक्र्सवाद सफल कि असफल भन्ने बहस चलिरहे पनि कुन माक्र्सवाद असफल भयो भन्ने कसैले भन्न नसकेको बताए। उपमहासचिव भुसालको संयोजकत्वमा र नेता कार्कीको सहसंयोजकत्वमा माक्र्सको द्विशतवार्षिकी समारोह मनाउन राष्ट्रिय भेला आयोजक समित गठन गरिएको कार्यक्रममा जानकारी दिइयो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ