काठमाडौं । देशभरका उच्च माविहरुको साझा संस्थाको रुपमा रहेको उच्च मावि संघ (हिसान) अव साझा संस्था रहेन । एमाले निकटका उच्चमविहरुले मात्रै एकलौटी गरेर हिसानलाई एमालेकरण गरेकाले हिसान साझा संस्था बन्न नसकेको हो ।
यसअघि काँग्रेस निकट उमेश श्रेष्ठको नेतृत्व सम्म रहदा सवैलाई समेटेर लगिएको भएपनि एमाले निकट रमेश सिलवालले नेतृत्व लिएसंगै हिसान स्पष्टसंग एमालेकरण भएको छ । सिलवाल अख्तीयारको मुद्धा झेलीरहेका व्यक्ति समेत हुन् ।
गएराती अवेर सम्म काठमाडौंको ट्रेड टावरमा भएको महाधिवेशनमा सहमतिको प्रयास असफल पार्दै एमाले निकटका उम्मेदवारहरुले एकलौटी निर्वाचन गरेका थिए । उनीहरुले एकलौटी जवरजस्त निर्वाचन गर्न लागेपछि काँग्रेस निकटका उम्मेदवारहरुले निर्वाचन वहिस्कार गरेका थिए । हिसानको अध्यक्षका लागि काँग्रेस निकटका उम्मेदवार माधव बरालले निर्वाचन वहिस्कार गरेपछि एमाले निकटका उम्मेदवार रमेश सिलवाल निर्वाचित भएको घोषणा गरिएको छ ।
घोषणा सभामा निवर्तमान महासचिव युवराज शर्मालाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराईएको थियो । अन्य पाँच उपाध्यक्ष पद मध्ये उम्मेदवार नपुगेर दुई पद खाली नै रहेको छ ।
काँग्रेस निकटले बहिस्कार गरेकाले अन्य पदहरुमा पनि उम्मेदवारहरु नभएपछि जिल्ला कार्यसमितिका पदाधिकारीलाई ल्याएर भरिएको छ ।
काठमाडौंका अध्यक्ष र उपाध्यक्ष दुवै जना केन्द्रीय सचिवमा निर्वाचित भएको घोषण गरिएको छ । जिल्लाको अध्यक्ष र उपाध्यक्ष हुदा हुदै एकाएक केन्द्रीय सचिव बन्ने त्यस्ता भाग्यमानी हुन - काठमाडौंका जिल्ला अध्यक्ष रामहरि सिलवाल र उपाध्यक्ष राजेन्द्र अधिकारी । ललितपुरका जिल्ला अध्यक्ष तिर्थ पोख्रेल पनि रातारात केन्द्रीय कोषाध्यक्ष भएका छन् ।
अर्को अझ रमाईलो के छ भने ललितपुर जिल्लाका सचिव दिपक खनालले एकाएक केन्द्रीय सचिवको समेत जिम्मेवारी पाएका छन् । निवर्तमान सचिव लोक भण्डारीलाई महाधिवेशनले महासचिव बनाएको छ ।
उच्चमाविहरुको व्यवस्थापनको जिम्मेवारी लिएकाहरुले गरेको महाधिवेशन आफैमा निकै गन्जागोल भएको छ ।
महाधिवेशनको गन्जागोलका बारेमा प्रतिक्रिया लिन खोज्दा उपाध्यक्षका उम्मेदवार स्वागत श्रेष्ठले आफु यस बारेमा केही नवोल्ने बताए । उनले सहमतिबाट नेतृत्व चयन गर्ने अथक प्रयास आफुहरुले गरेपनि सहमति हुन नसकेकोमा आफुलाई दुःख लागेको बताए ।
२०५३ सालमा मनोरमा राणाको नेतृत्वमा स्थापना भएको हिसानमा यसअघि उमेश श्रेष्ठले दुई कार्यकाल नेतृत्व गरेका थिए । हिसानमा अहिले देशभरीका झण्डै सात सय उच्च माविहरु आवद्ध रहेका छन् ।