arrow

सार्थक एकता गर्ने एमाओवादीको निर्णय; ६ गते एकता घोषणा

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
dahal-new-jel.jpg.jpeg
काठमाडौँ। एकीकृत नेकपा (माओवादी)ले सबै विभाजित माओवादी घटकसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्ने निष्कर्ष निकालेको हो । 
 
एकताको विषयमा आवश्यक लचकता र जिम्मेवारीबोध गर्ने निष्कर्षसहित बैठकले क्रान्तिकारी कम्युनिस्टहरुबीचको एकतामा सहभागी हुन सबै पक्षलाई आग्रह गर्ने निष्कर्षसमेत निकालेको छ । 
 
एमाओवादी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायतका विभिन्न माओवादी घटकले सार्थक एकता गर्ने निर्णय गरिसकेका छन् । एकताका लागि विभिन्न चरणमा वार्ता र संवादसमेत भइसकेको छ । 
 
एमाओवादीको बैठकले आफूबाट अलग्गिएका माओवादीका नेतालाई सामूहिक तथा एकल जुनसुकै रुपमा आउने भए पनि एकता प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । 
 
प्रवक्ता दीनानाथ शर्माका अनुसार बैठकले राजनीतिक तथा साङ्गठनिक विषय टुङ्ग्याएर केही दिनभित्रै एकता प्रक्रिया टुङ्गो लगाउने र त्यसको संयोजन गर्ने जिम्मासमेत अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । यहि जेठ ६ गते माओवादीका विभिन्न घटकहरुको एकता महाधिवेशनबाट पार्टी एकिकरण भएको घोषणा गरिने बताइएको छ। 
 
माओवादी घटकहरुको बीचको एकता प्रक्रियालाई अगाडि बढाउन विभिन्न १२ बुँदे अवधारणासमेत अगाडि सारेको छ । संविधानसभाबाट निर्माण भएको संविधानका सकारात्मक विषयहरुको अपनत्व ग्रहण गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नेलगायतका विषयमा सहमति भएको छ। 
 
एमाओवादीका सचिव वर्षमान पुनका अनुसार आजको बैठकले एकता प्रक्रियालाई सार्थक निष्कर्ष दिने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट नेता रामबहादुर थापाका नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले पनि एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ