arrow

लकडाउन पछिको अटो बजार : ड्याट्सन र निसानमा ‘बाइ नाउ, पे लेटर’ अफर

logo
पीबी चन्द
प्रकाशित २०७७ साउन ८ बिहिबार
nissan-car.jpg

काठमाडौं। गत आर्थिक वर्ष २०७६/०७७को मौद्रिंक नीतिले निजी सवारी खरिदका लागि ५० प्रतिशत डाउनपेमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको थियो। सो भन्दा अघि सवारी खरिदमा ३५ प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने नीति रहेकोमा गत आर्थिक वर्षको मौद्रिक नीतिबाट ५० प्रतिशत डाउनपेमेन्ट र ५० प्रतिशत सवारी कर्जा हुनुपर्ने नीतिगत व्यवस्था गरेको थियो। त्यसपछि अटो मोबाइल क्षेत्रको कारोबार खुम्चिएको गुनासो अटोमोबाइल व्यवसायीहरु गर्दै आएका थिए। त्यसमाथि पछिल्लो समय फैलिएको कोरोना प्रकोपले गर्दा गत चैत ११ देखि गरिएको लकडाउनका कारणले अटो मोबाइल व्यवसाय करिब करिब धरासायी अवस्थामा पुगेको थियो।

अटो क्षेत्रको खस्किदो व्यवसायलाई उकास्न लागि राष्ट्र बैंकले ३० प्रतिशतसम्म डाउनपेमेन्ट र ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने नीति ल्याउने अपेक्षा व्यवसायीहको थियो। सो विषय मौद्रिक नीतिमा समेट्नुपर्ने माग अटो व्यवसायीहरु गर्दै आएका थिए। तर, चालु आर्थिक वर्ष २०७७/०७८ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सोही व्यवस्थालाई निरन्तरता दिएको छ। गतवर्ष देखि नै खुम्चिएको अटो बजार उकास्न सरकारकातर्फबाट खासै सहयोग नपुगेको गुनासो गर्ने अटो व्यवसायीहरु मौद्रिक नीतिले अटो क्षेत्रलाई हेपेको बताउँछन्।

सार्वजनिक सवारीको यातायात व्यवस्थित नहुँदा अबका दिनमा बढी भन्दा बढी मानिसले नीजि सवारीको प्रयोग गर्ने सम्भावना रहेको देखिएको छ। तर, ५० प्रतिशत डाउनपेमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैंकको नीतिले ग्राहकलाई सवारी खरिदका लागि सहज भने देखिदैन। ग्राहकको सोही आवश्यकतालाई मध्येनजर गर्दै सवारी साधन विक्रेताहरुले आफैं विभिन्न स्किम तथा अफरहरु ल्याउने थालेका छन्।

नेपालका लागि निसान र ड्याट्सनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ड्याट्सन र निसानका चार पाङ्ग्रे खरिदमा विभिन्न स्किमहरु ल्याएको छ। पायोनियर मोटोकर्पका सहायक महाप्रबन्ध ज्ञानेन्द्र चन्दले लकडाउन खुलेपछि चार पाङ्ग्रे सवारी खरिदका लागि राम्रो प्रतिक्रिया आरहेको बताउँदै ड्याट्सन र निसानका गाडी खरिदमा विशेष अफर रहेको बताए। ‘हामीले त बाइ नाउ, पे लेटर'सम्मका स्किमहरु ल्याएका छौं’ चन्दले भने, ‘यो भनेको अहिले किनेर पछि पैसा तिर्दा हुन्छ भन्ने हो।’ उनका अनुसार ड्याट्सनको गाडीमा ‘बाइ नाउ पे इन २०२१’ र निसानमा 'बाइ नाउ पे लेटर’ भन्ने अफर रहेको छ। 
ड्याट्सनमा अहिले किनेर २०२१मा तिर्नुपर्ने र निसानमा ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी २० प्रतिशत ४ किस्तामा तिर्नेगरी दुइटा स्किम रहेका छन्।
त्यस्तै ड्याट्सनमा क्यास डिस्काउन्ट, इन्सुरेन्स, ६ महिनाको किस्ता समेत कम्पनीले नै तिरिदिने किस्ता रहेको चन्दले जानकारी दिए। ‘निसानमा अहिले ३० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे हुन्छ’ चन्दले भने, ‘राष्ट्र बैंकको गाइडलाइन अनुसार त ५० प्रतिशत हुनुपर्ने हो।’

पछिल्लो समय कोरोना महामारी थप फैलिन नदिन भन्दै सरकारले गरेको लकडाउन खोलेसँगै बजारको राम्रो प्रतिक्रिया आइरहेको कम्पनीले जनाएको छ। ‘लकडाउन खुलेपछिको अवस्था हेर्दा राम्रो रेस्पोन्स छ’ चन्दले भने, ‘यसअघि सोचेको जस्तो धेरै डाउन होला जस्तो लाग्दैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ