प्रचण्डको ‘ढुलमुले’ चरित्र नै माओवादी फुटको मूल कारण
शान्ति र संविधान प्रचण्डको कार्यदिशा थिएन
प्रकाशित २०७३ जेठ ५ बुधबार
2.7k
Shares
काठमाडौं । माओवादी विचारधाराका पाँच संगठन एवं पार्टीले एकता गर्ने तयारी गरेसंगै भित्र्याउने र भित्रिनेहरुबीच लेनदेनको चर्को मोलमोलाई भएको छ । स्रोतका अनुसार ‘घरफिर्ती’ भएकाहरुलाई मनाउन केन्द्रीय सदस्यको पद ६ सय ९९ पुर्याई सकिएको छ । चरणवद्ध छलफल र परामर्शमा रहेका घटकहरुले विहिबार बिहान एकताको महाधिवेशन र साँझ घोषणाको कार्यक्रम समेत तय गरिसकेका छन् ।
यद्यपि, एमाओवादीमा भित्रिन नचाहनेहरुले यो एकता नभई संसदवादी विचार मिल्नेहरुको जमघट मात्रै हो भनेका छन् । भित्रिनेहरु कुनै वैचारिक रुपमा फुटेका नभई व्यक्तिगत टकराबले बाहिरिएका र पार्टीभित्र ठाउँ खोजिरहेकैहरु रहेको फर्किन नचाहनेहरुको धारणा छ ।
यो पुरानो घर फिर्तीलाई कुनै नौलो मान्नु पर्ने कारण नरहेको बताउँछन् माओवादी नेता ओमप्रकाश पुन । उनका अनुसार नाम मात्रै एकता हो, यसमा नयाँ एजेण्डाहरु केही छैन, संसदमा शक्ति संचित गर्ने पुष्पकमल दाहालको सपना हो । ती उनै पुष्पकमल हुन् जो हिजो पालुङटारको सातौं विस्तारित बैठकसम्म जनविद्रोहको कार्यदिशामा थिए ।
त्सपछिका महत्वपूर्ण बैठकमा सहभागि मध्येका एक पुनले हाम्राकुरासंग भने, ‘अवसर खोज्नेहरुलाई दाहालले आफ्नो दुनोतिर लोभ्याए तर ती उनै दाहाल हुन् जो हिजो बालाजु बैठकमा पार्टी कार्यदिशाको छलफल प्रारम्भ हुँदा पार्टी विग्रियो भन्ने स्वर सुनेर भावुक भएका थिए ।’ पछि पालुङटार सातौं विस्तारित बैठकमा तीवटा छुट्टा–छुट्टै प्रस्ताव पेश हुँदा उनी मोहन बैद्यसंग निकै खुसी भएका थिए ।
पालुङटारमा दाहाल, बाबुराम भट्टराई र मोहन बैद्यका छुट्टा–छुट्टै तीन प्रस्ताव पेश भए । पार्टीलाई विद्रोहकै कार्यदिशाबाट अघि बढाउने बैद्यको प्रस्तावसंग आफ्नो प्रस्ताव मिलाउन दाहाल राजी भए । जनवादी गणतन्त्रको पक्षमा रहेका बैद्य पालुङटारमा प्रस्ताव मिलानपछि जनताको संघीय गणतन्त्र सम्म आए । दाहाल र बैद्यको प्रस्ताव मिसाइएपछि सोही बैठकले जनविद्रोहको कार्यदिशा पास गरेको थियो । यो दाहालले अहिले विर्सिसकेका छन् ।
सो कार्यदिशा सरकार, सडक र सदन तीन वटै मोर्चाबाट अघि बढेर जनविद्रोहमा जाने कुरा थियो । त्यसमा दाहाल राजी थिए । तर बाबुरामले फरक मत राखे । बाबुरामले शान्ति र संविधानको बाटोबाट अघि बढौं भने । बाबुराम शान्ति र संविधानको पक्षमा उभिसक्दा दाहाल ढुलमुले मै थिए ।
नेता पुनका अनुसार शान्ति र संविधान दाहालको कार्यदिशा थिएन । बाबुराकै कार्यदिशा थियो । बाबुराम अब द्वन्द्व गर्नु हुँदैन र शान्तिको बाटोबाट अघि बढ्नु पर्दछ भन्ने सम्म पुगि सक्दा दाहाल द्वैद्वतामै थिए । दाहाल भन्थे, ‘सके शान्तिको बाटोबाट जाने, नसके विद्रोह गर्ने ।’ यद्यपि, बैद्यहरु जनविद्रोहको कार्यदिशा पास भइसकेकाले त्यसै हुनु पर्दछ भन्नेमा थिए ।
घात, प्रतिघात र फुट
पालुङटार सातौं विस्तारित बैठकलाई माओवादी विभाजनको ढोकाको रुपमा लिइन्छ । जनविद्रोहको कार्यदिशा पास गरिसकेका दाहाल त्यसपछिको स्थायी समिति बैठकमा बाबुरामको शान्ति र संविधानको कार्यदिशामा आए । उनी रातारात परिवर्तन भए । बाबुराम प्रचण्डको एउटा मोर्चा बन्यो । शान्ति र संविधानको कार्यदिशामा जाने निधो भएपछि बैद्यहरु अल्पमतमा परे । उनीहरुले अब घात भयो भन्दै पार्टी छाड्ने मनसाय बनाए । यद्यपि, त्यो धैर्यता धोवीघाट एलाइन्स सम्म टुटेको थिएन ।
बाबुरामलाई प्रधानमन्त्री बनाउने धोवीघाट एलाइन्स
दाहाल बाबुरामलाई कहिल्यै प्रधानमन्त्री बन्न दिनेवाला थिएनन् । तर, धोवीघाट एलाइन्सले प्रचण्डलाई अल्पमतमा पारेर बाबुरामलाई प्रधानमन्त्री बनाउने सहमति गर्याे । बाबुरामका लागि त्यही जीवनको स्वर्णिम अवसर बन्यो । उनी प्रधानमन्त्री बन्ने बाटो खुल्यो ।
बाबुरामको गद्दारी
बाबुरामलाई प्रधानमन्त्री बनाउने वातावरण बन्न पालुङटार बैठकले तय गरेको कार्यदिशा अनुरुप सरकारमा हुँदा बाबुरामले सडक र सदनमा हुने विद्रोहलाई सहयोग गर्ने भन्नेमा सहमति जुटाउनु पर्यो । जहाँ वैचारिक रुपमा बाहिरिएका मोहन बैद्य र नेत्रविक्रमहरुको अथक प्रयास रहेको नेता पुन बताउँछन् । बाबुराम सरकारमा जाँदा सेना समायोजन नगर्ने, अन्य मूलुकसंगका राष्ट्रघाती सम्झौताहरु नगर्ने भन्ने एलाइन्सको म्याण्डेड थियो ।
बाबुरामले सरकारको नेतृत्वमा रहेर जनवादी क्रान्तिलाई सहयोग गर्ने कसम खाएका थिए तर, उनले प्रधानमन्त्रीको सपथ खाएकै भोली पल्ट उलंघन गरिदिए । उनले पछि विवादित विप्पा सम्झौता लगायत कयौं राष्ट्रघाती सम्झौताहरु पनि गरे । पुनका अनुसार उनलाई हिजोका दिनमा र’अ एजेण्टको आरोप समेत लाग्थ्यो, जसकारण प्रधानमन्त्री बन्न विभिन्न व्यवधानहरु थिए त्यसबाट उम्किाएपछि उनले पूर्वसहमति र योजनाहरु विर्र्सिए ।
परिवर्तन चाहने सबै कार्यकर्ता र सिंगो पार्टीलाई त्यहीँबाट धोका दिए । जनविद्रोहको कार्यदिशा मान्ने र जनवादी क्रान्ति गर्ने एक धार बाहिरियो । जनविद्रोह छाडेर दाहाल–बाबुरामहरु संविधानको बाटोमा छिरे, पछि उनीहरुले नै संविधान सभा विघटन गरे । पालुङटारमा विद्रोहबाटै जानुपर्छ, सत्ता कब्जा गर्नुपर्छ भन्ने दाहाल सुकुटे बैठक हुँदै पेरिसडाँडा पुगेपछि बदलिए । संसदवादी कार्यदिशामा आएर रित्तिएपछि उनी फेरि भाग्नेहरुलाई बटुल्न थालेका छन् । यद्यपि, कार्यकर्ता तहमा उनको एकताको कुनै प्रभाव छैन । ६० प्रतिशत बढी कार्यकर्ता अहिले खाडीमा छन् । उनको ढुलमुले र लोभी चरित्रबाट आजित कयौं कार्यकर्ता उननको सम्पर्क बाहिर छन् ।
खरीपाटी बैठक हुँदा दाहाल गिरिजाको एलाइन्समा थिए
खरीपाटीमा छैटौं विस्तारित बैठक हुँदा दाहाल सरकारमा थिए । उनी प्रधानमन्त्री थिए । उनी तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको एलाइन्सबाट अघि बढिरहेका थिए । मोहन बैद्यहरु जुन बखत जनवादी गणतन्त्रको लागि पार्टीलाई जनविद्रोहकै हिसाबले अघि बढाउन आग्रह गरिरहेका थिए ।
बुर्जुवा राजनीतिमा जाने ढोका थियो चुनवाङ बैठक
चुनवाङ केन्द्रीय समिति बैठकले १२ बुँदे समझ्दारी र शान्ति सम्झौताको ढोका खोलेको थियो । यस्तै, सो बैठकले बुर्जुवा राजनीतिमा जाने समेत ढोका खुल्यो । अहिले सोही अनुसार एमाओवादी संसदवादी कार्यदिशामा छ । सोही क्रममा काँमीडाँडा बैठक पनि बुर्जुवा राजनीति प्रवेशका मार्ग हुन् ।
तपाईहरु हतियार उठाउँछु भन्नु हुन्छ, अब के का लागि हतियार उठाउने ?
चन्द समूहका नेता पुनले गम्भीर हुँदै भने, ‘हामी एकिकृत जन क्रान्तिको कार्यदिशामा अघि बढेका छौं । अहिलेको चेतना, जनताको मनोविज्ञान, आवश्यकता अनुसार हामीले नयाँ कार्यदिशा तय गर्दै छौं ।’ दलाल पुँजीवादीविरुद्धको खवरदारी हो । हतियार उठाउने सन्दर्भमा पुनले यदी राज्यले दमन गरेको खण्डमा हामी पनि त्यसको प्रतिकार गछौं भनेका हौं–भने । हतियार नै बोकेर जंगल पस्ने भनेको होइन ।