arrow

जनसम्पर्क अष्ट्रेलियामा अर्को तरंग, के भन्छन् नेताहरु ?

logo
प्रकाश हुमागाँई, 
प्रकाशित २०७७ भदौ १ सोमबार
nc-australia-samparka-samit.jpg

सिड्नी । केन्द्रीय महाधिवेशनको मिति तोकिसकेपछि पनि विभिन्न विभागमा पार्टी सभापति शेरवहादुर देउवाले मनोनयन गरेको विषयलाई लिएर नेपाली कांग्रेसभित्र चरम असहमति र विरोधका आवाजहरु उठिरहेका छन् । 

महाधिवेशनलाई प्रभावित पार्ने गरि भएको विभाग गठन एवं विस्तारको सम्पूर्ण प्रकृया खारेज हुनुपर्ने आवाज कांग्रेसका सबै तह र तप्काबाट उठिरहेको छ । तर यसको ठिक विपरित अष्ट्रेलियामा रहेका कांग्रेस समर्थित अधिकांशले केन्द्रबाट भएको यो मनोनयनमा अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका सुजित सिंहको नाम जनसम्पर्क समन्वय समिति सदस्यमा सार्वजनिक गरेसंगै आफुहरु उत्साहित भएको बताएका छन् । 

त्यसो त केहीले अति जुनियर ब्यक्तिलाई जनसम्पर्क समितिको केन्द्रीय समन्वय जस्तो महत्वपूर्ण जिम्मेवारी दिनुलाई केन्द्रको कमजोरी भएको समेत आरोप लगाएका छन् । 

कांग्रेस उपसभापति विमलेन्द्र निधि र हाल हिरासतमा रहेका नेता मोहम्मद अफ्ताव आलमसंग परिवारको निकटता रहेका सुजितले यो पद पाएको भन्नेहरुको संख्यापनि त्यतिकै छ ।

केहि समयअघिसम्म जनसम्पर्क अध्यक्ष कृष्ण गिरी समुहमा रहेका सुजित अष्ट्रेलियाको कांग्रेसी राजनीतिमा सामान्य कार्यकर्ता बाहेकको हैसियतमा थिएनन् । 

तर अधिकांश पार्टीप्रति आस्था राख्ने सिनियरहरुको समुहमा मिसिन आएको केहि समय मै केन्द्रवाट मनोनितमा परेपछि सुजितलाई चुनौती र अवसर एकैपटक आइलागेको विश्लेषण गरिएको छ । 

अष्ट्रेलियाको कांग्रेस राजनीतिलाई नजिकवाट नियालेका पत्रकार माधव गैरे भन्छन्, ‘बाहिरवाट हेर्दा यो सामान्य पद जस्तो लागेपनि लामो समयदेखि विभिन्न विवादमा जकडिदै आएको र केन्द्रीय नेताहरुले अष्ट्रेलिया नै भ्रमण गरेर समेत सुल्झाउन नसकेको जनसम्पर्कको विवादलाई टुंगोमा पुर्याएर नयाँ उदाहरण बन्ने मौका सुजितजीकोमा आएको देखिएको छ । उहाँको मनोनयनसंगै जसरी राज्य समिति, एनएडिएफ र विभिन्न ब्यक्ती समुहले बधाई र शुभकामना दिएर उहाँलाई हौसला दिएका छन् त्यसलाई सदुपयोग गर्न  सक्नुभयो भने उहाँ सफल हुनुभयो।’

सिंह सदस्यमा मनोनयन भए लगत्तै अष्ट्रेलियाको पूरानो संस्था नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्च एनएडिएफ र जनसम्पर्क समितिका आठवटै राज्य समितिले विज्ञप्ति मार्फत बधाई र शुभकामना ब्यक्त गरेका थिए । लामो समयदेखि रहदै आएको अष्ट्रेलिया जनसम्पर्क समितिको विवादलाई टुंगोमा पुर्याउने कोशेढुंगेका रुपमा यो नियुक्तिलाई मानेर उत्साहित भएका पार्टीप्रति आस्थावान सिड्नीवासी नेपालीहरुको उत्साह यति मै टुंगिएन, एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटा र जनसम्पर्क एनएडब्ल्यू अध्यक्ष इथान शाक्यको अगुवाई र एनआरएन ग्लोवलका उपाध्यक्ष मन केसीको सहयोगमा कोभिड १९ का विविध नियमको परिधिमा रहि सिड्नी सिटीमा बधाई तथा शुभकामना कार्यक्रम उत्साहपूर्ण तवरवाट गरिएको थियो । 

कार्यक्रममा खरो वक्ता जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष एव एनएडिएफका पूर्व अध्यक्ष आंगछिरिङ शेर्पादेखि एनआरएनएका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल, एनएडिएफका पूर्व अध्यक्ष विवेक थापा, जेएसएस महामन्त्री युवा नेता सुर्य खनाल, एनआरएन अभियन्ता डिला खरेल, एनआरएन युथ कोर्डिनेटर इरसाद अहमद, पत्रकार महासंघ अष्ट्रेलिया अध्यक्ष हेमन्त काफ्ले, ब्यवसायी भूपाल सिटौला,हरि अधिकारी, प्रज्ववल भट्टराई, पत्रकार माधव गैरे, युथ एसोसियसनका अध्यक्ष प्रकाश अर्याल, निरज श्रेष्ठ लगायतको उपस्थितिमा वधाई कार्यक्रम राखिएको एनएडिएफ अध्यक्ष सापकोटाले हाम्राकुरा डटकमलाई बताए ।

आफुले अष्ट्रेलियामा रहेर लोप्रोफाईलमा काम गर्दै पार्टी राजनीतिलाई राम्ररी बुझेको बताउने जनसम्पर्क समन्वय समिति सदस्य सुजितले हाम्राकुराडटकमसंग भने, ‘म पार्टीको केन्द्रीय जनसम्पर्क समन्वय समितिको सदस्य भएको हो । तर यसको अर्थ मेरो कार्यक्षेत्र र अधिकार अष्ट्रेलियामात्र हैन, नेपाली कांग्रेसको जनसम्पर्क सम्वन्धि संसारका जुनसुकै भूगोलका विषय मैले बुझ्नुपर्छ । हो, अष्ट्रेलिया मेरो कर्मभूमि हो र यहाँको विवाद मिलाउन अग्रज र सहकर्मीहरु आशातित हुनु स्वभाविक हो । म मेरो क्षमताले भ्याएसम्म आफ्नो निष्ठाले यहाँको वस्तुस्थिति केन्द्रसम्म पुर्याउने र पार्टी संगठनलाई बलियो बनाउन लाग्नेछु । हिजोको सुजित भाई सुजितजी भएको छु, त्यो उहाँहरुको सम्मानलाई मैले त्यतिकै खेर जान दिने छैन ।’
 
सिंह मनोनयन भएलगत्तै अष्ट्रेलियामा सकृय  कांग्रेसका नेताहरुलाई उहाँको नियुक्ती र पार्टीको अहिलेको विवाद कसरी अन्त्य गर्न सकिन्छ भनेर हाम्रा कुराडटकमले केहिलाई टेलिफोन र केहिलाई प्रत्यक्ष कुराकानी गरेको थियो । त्यसैको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

कृष्ण गिरि (अध्यक्ष जनसम्पर्क समिति) अष्ट्रेलिया 
सुजित सिंह मनोनयन भएको मैले सामाजिक सञ्जालमा देखेको त हुँ । तर मलाई पार्टी केन्द्रले औपचारिक रुपमा वोधार्थ जानकारी गराएको छैन र सुजित सिंहजीले पनि सम्पर्क गर्नुभएको छैन । सुजितजी अष्ट्रेलियाको क्रियाशिल सदस्य पनि हुनुहुन्न । तर अहिले सामाजिक सन्जालमा उहाँलाई बधाई दिएको देखेको छु । म पनि पार्टी केन्द्रीय कमिटिवाट आधिकारिक रुपमा नियुक्त भएको हुँ । अहिले सम्मान गर्न हतार गर्नेहरुले मलाई बधाई समेत पनि दिएका थिएनन् । हुन त ‘ब्यूटी अफ डेमोक्रेसीु भनेकै यहि होला । जहाँसम्म जनसम्पर्क समितिको अधिवेशनको प्रसंग र सुजितजीको नियुक्तीको विषय छ, यदि अष्ट्रेलियामा रहनुभएका रौतहटका सुजित सिंह नै हो भने उहाँलाई बधाई दिन र सहकार्य गरेर अघि बढ्न म हरदम तयार छु । अधिवेशनको हकमा ६ महिनाभित्र गराईसक्नु मिति नै सुरु भएको छैन । केन्द्रले १४ जनाको नियुक्ती गरेको दिनवाट ६ महिना अवधि र प्रकृयागत अधिवेशन सुरु हुन्छ । तर यहाँ केही साथीहरु अवरोध गरिरहनुभएको छ, ती साथीहरु कांग्रेस कहिल्य पहिलो नहोस् भन्ने चाहनुहुन्छ, उहाँहरु नेपाल फर्किन पनि सक्नुहुन्न, अनि एनआरएनएमा खेल खेलिरहन चाहनुहुन्छ, तर मलाई दिईएको जिम्मेवारी पूरा गर्न म दृढ छु ।

सुरेन्द्र सापकोटा अध्यक्ष एनएडिएफ)
पहिलो पटक केन्द्रले अष्ट्रेलियामा रहेका कांग्रेसप्रति आस्थावानहरुलाई ुरिक्गनाइजु गर्ने गरि जनसम्पर्क समिति सदस्यमा राखेको छ, यो हाम्रा लागि खुसीको कुरो हो । अष्ट्रेलिया जनसम्पर्कमा लामो समयदेखिको विवादलाई निकाशमा पुर्याउने सहि मौका आएको छ । सुजितजीले यहाँको वास्तविक वस्तुस्थितिलाई केन्द्रमा रिपोर्ट गरेर पुलको काम गर्नुहुने आशा हामीले लिएका छौ । जनसम्पर्क समिति भित्रको विवादलाई टुंगो लगाउने  र त्यसका प्रभावकारी भूमिका निर्वाह गर्ने काममा हामी साथ दिन्छौ । 

इथान थानु शाक्य, अध्यक्ष, एनएसडब्ल्यू जनसम्पर्क समिति 
हामी राष्ट्रियता प्रजातन्त्र र समाजवादमा आस्था राख्ने प्रवासी भूमिमा रहेका र नेपाली कांग्रेस पार्टीलाई आफ्नो पहिचान मान्नेहरु आफैमा एकजुट नभएको जस्तो देखिएको अवस्था छ । तर वास्तविकता त्यस्तो हैन भन्ने पार्टी केन्द्रीय नेतृत्वलाई बुझाउन नसकिएको जस्तोपनि देखियो । २० औं वर्षदेखि पार्टी राजनीतिमा सकृय रहनुभएका अग्रजहरु देखि युवापंक्ति, सवै राज्य समिति, पार्टीप्रति शुभेच्छा राख्ने संस्थाका वर्तमान र पूर्व अध्यक्षहरु एवं अधिकांश पार्टीका साथीहरुको आवाज जसरी पनि अधिवेशनमार्फत पार्टीको प्रवाशको यो संगठनलाई वलियो र एकढिक्का बनाएर लैजानुपर्छ भन्ने छ । तर यहाँ परिस्थिति यस्तो भईदियो कि केन्द्रका केही नेताको प्रभाव र आर्शिवादमा जनाधार वा कसैलाई पनि विश्वासमै लिन नसक्नेलाई नेतृत्व गराउन टिका लगाउने काम भयो । केन्द्रीय नेताहरुको रोहवरमा भएको सहमतिलाई लत्याउने र विभिन्न बहानाबाजीमा हिड्ने परिस्थिति भईरहेको यो असहज परिस्थितिमा केन्द्रले अष्ट्रेलियामा रहदै आउनुभएका सुजित सिंहजीलाई जनसम्पर्क समन्वय समितिमा ल्याएपछि हामी उत्साहित भएका अवस्य हौ । सिंहजीले कुनै समुहको समर्थन गर्नुस भनेर म भन्दै भन्दिन तर यहाको वस्तुस्थिति के हो त्यस्को वास्तविकता केन्द्रसम्म पुर्याएर सेतुको काम गरिदिनुहुनेछ भन्ने हाम्रो अपेक्षा हो । 

आङछिरिङ् शेर्पा कार्यवाहक अध्यक्ष जनसम्पर्क समिति अष्ट्रेलिया  
आजको कांग्रेस नेपाली कांग्रेस हैन, विभिन्न ब्यक्तिका नामको समुहसंग जोडिएको छ र कांग्रेस इतिहासकै कमजोर अवस्थावाट पनि गुज्रिरहेको छ । इतिहासमा फर्कौ ‘विपी कोइरालाका नेतृत्वदायी दिनमा विपीले देशभरवाट प्रत्येक जात, समुदाय र सम्प्रदायवाट एकसेएक नेता उत्पादन गरेका थिए । दलित, मधेसी, आदिवासी, जनजाति सवै नेतृत्वमा अटेको थियो तर अहिले कांग्रेस केही मान्छेको मुठीमा अड्किएको देख्दा दुख लाग्छ । सिमान्तकृत वर्गमा वर्गिय दृष्टिकोण राख्ने परिपाटीको शिकार यहि प्रवाशमा रहेका लोकतान्त्रिक समर्थकमाथि नै परेको देखिएको छ । यहि माहौलमा अहिले मधेसी मुलको प्रतिनिधित्व हुने गरि सुजितजीलाई जनसम्पर्क समितिको केन्द्रीय समन्वय समितिमा मनोनयन गरेको विषयले म खुसी र आवश्यक परेको सहयोग गर्न तयार छु । 

दिनेशराज जोशी संस्थापक सदस्य जनसम्पर्क अष्ट्रेलिया 
अहिलेको नेपाली कांग्रेस विधानले चलेको छदै छैन, कांग्रेसमा जेपनि चल्छ भन्ने उदाहरण सुनिल थापाको कांग्रेस प्रवेशको सेरोफेरोलाई हेरेपुग्छ । तैपनि जनसम्पर्क समितिको हकमा एउटा अवसर आएको छ, यसलाई गुम्न दिनुहुन्न । जनसम्पर्क समितिको विवादलाई हल गर्न त्यति गारो छैन, अहिले आठवटै राज्य समिति लगायतका पार्टीप्रति आस्थावान साथीहरुको एउटै राय छ कि अधिवेशन गराउनुपर्यो । यहाँको वास्तविकता के हो, सेतोलाई सेतो र कालोेलाई कालो भन्न सक्ने हिम्मत जनसम्पर्क समन्वय समितिमा नियुक्त मित्रले गर्नुपर्छ । यहाँको नेतृत्व कसले लिन सक्छ, विवाद कसले मिलाउन सक्छ भन्ने पनि हेक्का राख्नुपर्छ ।
                                
डिल्लीराज ढकाल पूर्व अध्यक्ष एनएडिएफ
एउटा लोकतान्त्रिक पार्टीका सभापतिले महाधिवेशनको मिति घोषणा भइसकेको यो ‘इन्ज्युरीु टाइममा गरेको मनोनयन नै हास्यासपद छ । मनोनयनमा को परे, को परेनन्  भन्ने त तपशीलका विषय हुन् । महाधिवेशन सफल वनाउन पार्टीको विधि, विधान र पद्धति अनुसार चल्न छोडेर एकदलिय तानाशाही तवरले निर्वाचनलाई प्रभावित पार्ने भएका कुनै पनि नियुक्ती र मनोनयमा मेरो न कुनै टिप्पणी छ न त सहमति नै । 

कन्चन पोखरेल महासमिति सदस्य नेकाँ 
प्रदीप गिरि दाईले भन्नुभएको एउटा भनाई याद आयो, ‘पार्टी गुट होइन,गिरोहले चलाएका छन् । नत्र महाधिवेशन सकिएको ६ महिना भित्र मनोनित गर्नु पर्ने विभिन्न विभागको गठन आफ्नो कार्यकाल सकिएको र कामचलाउ भइसकेको ६ महिनापछि गठन गर्नेरु कुन हैसियतमा रु मनोनित हुनेहरु सवै योग्य छन् होला । मनोनित को भयो भन्ने हैन, कुरा प्रकृयाको हो र यो प्रकृया विधान विपरीत छ । म सभापतिले गरेको यो गैरकानुनी नियुक्तीको पक्षमा छैन । नेतालाई शासक हुन नदिने हो र पार्टीमा गुटवन्दी बन्द गर्ने हो भने कार्यकर्ताले दास हुने मनोबृतिवाट मुक्त हुनुपर्छ । जहासम्म जनसम्पर्क अष्ट्रेलियाको विवादको विषय छ, यहाँका अधिकांश पार्टीप्रति आस्थावान साथीहरु र जनसम्पर्क राज्य समितिहरुको एउटै स्वर रहेको छ । केन्द्रीय नेताहरुलाई पनि यहाँको वस्तुस्थितिको बारेमा पटकपटक जानकारी दिइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ