arrow

देउवाद्धारा नयाँ प्रमुख सचेतकको खोजी, को को छन् नजरमा ?

श्रेष्ठको भुमिका प्रभावकारी नभएको गुनासो

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
Sher.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन भएपछि पार्टीले मनोनयन गर्ने पदहरुमा फेरबदल भईरहेका बेला संसदीय दलको प्रमुख सचेतक पनि फेर्ने चर्चा हुन थालेको छ । अहिले बहाल रहेका संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठको काम सन्तोषजनक नभएको भन्दै उनलाई फेर्ने गृहकार्य हुन लागेको हो । 
 
श्रेष्ठलाई तत्कालित पार्टी सभापति तथा संसदीय दलका नेता सुशील कोईरालाले २०७० सालको चैत्र ४ गते काँग्रेसको प्रमुख सचेतकमा नियुक्त गरेका थिए । श्रेष्ठले पार्टीको महाधिवेशनमा रामचन्द्र पौडेल पक्षलाई सघाएको भएपनि सभापतिमा देउवा विजयी भएपछि संसदीय दलको नेताको निर्वाचनमा भने देउवालाई नै सघाएका थिए । उनले खुलेर देउवाको पक्षमा नलागेपनि आन्तरिक रुपमा भने देउवालाई नै सहयोग गरेको देउवा निकट एक नेताले जानकारी दिए । संसदीय दलको नेताको निर्वाचनमा आफुलाई सघाएकाले श्रेष्ठलाई हटाउने पक्षमा देउवा नरहेपनि उनको पदीय भुमीका प्रभावकारी नभएको गुनासो बढेपछि देउवाले पुर्नविचार गर्न लागेका हुन् । 
 
श्रेष्ठले संसदको बैठकमा वा समितिहरुको बैठकमा पार्टीको लाईनलाई प्रभावकारी तरिकाले प्रस्तुत गर्न नसकेको काँग्रेसका धेरै नेताहरुले महशुस गरेका छन् । श्रेष्ठले सक्दो मेहनेत र प्रयास गर्दा गर्दै पनि नसक्नु उनको दोष नभएपनि उनलाई प्रमुख सचेतकबाट हटाउन अन्य कुनै जिम्मेवारी दिन देउवालाई नेताहरुले सुझाव दिएका छन् । 
 
प्रमुख सचेतकबाट श्रेष्ठको राजिनामाको अपेक्षा सहित अहिलेसम्म उनीसंग मुख नफोरेका देउवाले अहिले भने सहयोगीहरुबाट कुरा उठाउन लगाएका छन् । श्रेष्ठ सहितका बैठकहरुमा श्रेष्ठको कार्यक्षमताका बारेमा घुमाउरो तरिकाले देउवा निकट नेताहरुले कुरा निकाल्ने गरेपनि देउवा भने मौन बस्ने गरेका छन् । पटक पटक मनोबैज्ञानिक र घुमाउरो दवाव दिदा पनि अहिले सम्म श्रेष्ठले मार्गप्रसस्त नगरेकोमा देउवा खिन्न भएका छन् । सभापति देउवाले आफुले मनोनित गर्ने प्रमुख सचेतकको निधो गर्दा सम्म पनि श्रेष्ठले राजिनामा नदिएमा आफै भन्ने मनस्थीतिमा पुगेका छन् । 
 
चिनकाजीको ठाउँमा देउवाले कस्लाई ल्याउने भन्ने बारेमा आन्तरिक छलफल गरेपनि अहिले सम्म निर्णयमा पुग्न सकेका छैनन् । उनले चाहेको नेताले रुचि नदेखाएको र रुचि देखाएकाहरुलाई उनले रमेश लेखकलाई ल्याउन चाहेपनि लेखकले रुचि नदेखाएकाले उनी अन्यौलमा परेका छन् । लेखकले पार्टीको पदाधिकारी वा प्रवक्ता बन्न रुचि देखाएका छन् । प्रमुख सचेतकको काम निकै धेरै हुने र यसअघि काँग्रेस प्रजातान्त्रीकमा हुदा पनि प्रमुख सचेतक भईसकेकाले आफुलाई रुचि नभएको लेखकले देउवालाई जवाफ दिएका छन् । 
 
लेखकको विकल्पका रुपमा सभापति देउवाले मिन विकलाई हेरेका छन् । भन्न खोजेको कुरा स्पष्टसंग भन्न सक्ने, अध्ययनसिल र मेहनेती पनि भएकाले देउवाले विकलाई प्रमुख सचेतक बनाउन चाहेका छन् । तर उनी पनि सचेतकको जिम्मेवारी निकै गाह्रो हुने भन्दै अफ्ट्यारो मानिरहेका छन् । उनले काँग्रेस सरकारमा जाने अवस्था आएमा सानै भएपनि मन्त्रालयको नेतृत्व गर्ने रहर गरेका छन् । 
 
काँग्रेस भित्र लेख्ने बोल्ने काममा बढी रुचि राख्ने भएकाले चन्द्र भण्डारी पनि प्रमुख सचेतकका लागि देउवाको नजरमा परेका छन् । विपक्षीसंग आवश्यकता अनुसार राम्रो संवन्ध पनि राख्न सक्ने र प्रतिवाद पनि गर्न सक्ने क्षमता भण्डारीमा रहेकाले उनलाई बनाउदा उपयुक्त हुने कतिपयको सुझाव छ । १३औं महाधिवेशन भन्दा अगाडी देखि नै  देउवा पक्षमा खुलेर लागेका भण्डारीलाई कुनै न कुनै जिम्मेवारी दिनु पर्ने दवावमा देउवा परेका छन् । भण्डारीलाई प्रमुख सचेतक वा प्रवक्ता मध्ये एक बनाउन उपयुक्त हुने देउवाका निकटस्थहरुको सुझाव छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ