रोल्पा । माओवादी विचारधाराका विभिन्न घटकको एकता भएकै भाेली पल्ट माओवादीले मूख्य आधार क्षेत्र मानेको रोल्पामा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । शनिबार राजधानीमा विभिन्न माओवादी घटकहरुले एक भएको घोषणा गर्दा रोल्पामा सत्ताधारी एमाले तथा नव घोषित नेकपा माओवादी केन्द्रका गरी ११ सक्रिय कार्यकर्ताहरु आफ्नो पाटी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जसले माओवादी एकता शीर्ष तहमा मात्रै भएको र कार्यकर्ता तहमा नभएको भन्ने राजनीतिक विश्लेषकहरुको भनाईलाई संकेत गरेको छ । यस्तै, दुई दिन अघि मात्रै बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति नेपालका १८ जना एकिकरण भएको माओवादीमा जाँदा केही व्यक्ति नयाँ शक्तिमा आउन तयार भएको नयाँ शक्तिका उच्च नेताले भनेका थिए ।
उता, वैचारिक रुपमा अहिलेपनि संसदवाद बाहिर रहेका मोहन बैद्य, नेत्रविक्रम चन्द र हेमन्तप्रकाश ओलीले समेत आफुहरु वैचारिक रुपमा एक हुने वहस चलाएका छन् । उनीहरुले एमाओवादीमा फर्किएकाहरुको एकता घोषणालाई कथित अवसरवादीहरुको हावा हुरी भनेर टिप्पणी गरिसकेका छन् । यस्तै, केही दिन अघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले समेत एमालेबाट पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै खुसीयाली व्यक्त गरेका थिए । यो क्रम स्थानीय निकायको निर्वाचन नभएसम्म चल्ने विश्लेषकहरु बताउँछन् ।
रोल्पामा कांग्रेमा प्रवेश हुँदा ओखलढुङगाका कांग्रेस नेताहरुले पार्टी परित्याग गरेका छन् । ओखलढुङगाबाट पूर्व जिविस सभापति, पार्टी सभापति एवम आदिबासी जनजाति विकास समितिका केन्द्रीय उपाध्यक्ष महेशकुमार कोर्मोचा, ओखलढुंगा काग्रेसका पूर्व उपसभपाति लक्ष्मीप्रसाद बाँस्कोटा, तरुण दलका पूर्व अध्यक्ष भक्तबहादुर कटवाल, क्रियाशिल सदस्यहरु प्रभुराम श्रेष्ठ र दिपबहादुर भुजेलले शुक्रवार संयूक्त पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरे । यद्यपि, उनीहरुले केही समय आफुहरु तटस्थ बस्ने बताएका छन् । हुनत कर्मोचा राजाको प्रत्यक्ष शासनकालमा राजावादी भएर हिडेका थिए।
कांग्रेसविना मुलुकको उन्नति असम्भव : नेता पुन
नेपाली कांग्रेसका सांसद एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले कांग्रेसविना मुलुकको उन्नती असम्भव हुने बताएका छन् । नेपाली कांग्रेस गाउँ इकाई कमिटी कुरेलीको पार्टी कार्यालय उद्घाटनका क्रममा सांसद पुनले यस्तो बताएका हुन् ।
सांसद पुनले नेपाली कांग्रेस मुलुक परिवर्तनको जिम्मेवार पाटी भएको हुँदा कांग्रेसविना मुलुकको उन्नति सम्भव नहुने जिकिर गरे । कांग्रेसविना संविधान कार्यान्वयन समेत सम्भव नरहेको पुनको भनाई छ । कार्यकर्ता भेटघाट एवम् गाउँ इकाई समितिको पार्टी कार्यालय उद्घाटनका क्रममा कुरेली पुगेका पुनले नेपाली कांग्रेसका पाटी कार्यकर्ताहरु गाउँदेखि इलाका हुँदै संगठन विस्तारमा लाग्नु पर्नेमा जोड दिए ।