arrow

यस्तो छ लुम्विनीको विकासको हविगत

लुम्बिनी गुरुयोजना ३८ बर्ष बित्दा पनि अधुरै

logo
शिब भुसाल,
प्रकाशित २०७३ जेठ ८ शनिबार
guru-yojana.jpg.jpeg
लुम्विनी । भगवान गौतमबुद्धको जन्मस्थल तथा विश्वप्रसिद्ध पवित्र तिर्थस्थल लुम्विनीको विकास निर्माण अत्यन्त सुस्तगतिमा भईरहेको छ । विश्वको ध्यान खिच्ने ठाउ भए पनि विकास निर्माणको काम किन हुन सकेन त ? अहिले धेरैको चासोको विषय छ । विश्वभरी २५६०औं बुद्धजयन्ती मनाईरहेका बेला हामीले तिनै बुद्ध जन्मेको ठाउको विकास निर्माण बारे सोधीखोजी गरेका छौं । 
...................................................
 
लुम्बिनीको योजनाबद्ध विकासका लागि जापानी वास्तुकलाविद प्राध्यापक केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजना ३८ बर्ष बित्दा पनि अधुरै रहेको छ । शान्तिका अग्रदुत बुद्धको जन्मस्थल लुम्बिनीलाई योजनाबद्ध ढंगले विकास गर्न लुम्बिनीको विकासका लागि गठित अन्तराष्ट्रिय समितिको अनुरोधमा टाँगेले ६ बर्ष लामो अध्ययन पछि  तयार गरेको ‘लुम्बिनी गुरुयोजना’ अहिलेकै हिसाबले अन्तर्राष्ट्रिय सहयोग जुटाउन नसके पचास बर्ष भन्दा बढी समय लाग्ने देखिएको छ । 
 
लुम्बिनी विकास कोषले अहिलेको लागतमा गुरुयोजना पुरा गर्न ६ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने जनाएको छ । यो रकम बर्षेनी मूल्यबृद्धि सँगै बढ्दै जाने कोषका सदस्य सचिब अजितमान तामाङ्गले जानकारी दिए । सदस्य सचिब तामाङले भने– ‘दातृ निकाय वा सरकारबाट ६ अर्ब उपलब्ध भएमा साढे चार बर्षमा गुरु योजना पुरा हुन्छ ।’ सरकारले भने गुरुयोजना कार्यान्वयन गर्न आर्थिक बर्षमा करिब १० करोड बिनियोजन गर्ने गर्दछ । गतबर्ष यो रकम सात करोड मात्र थियो भने त्यसअघि एक÷डेड करोड मात्र उपलब्ध हुने गरेको उनले बताए ।  
 
सरकारले बर्षेनी बिनियोजन गर्ने न्युन बजेट तथा अन्तर्राष्ट्रिय सहयोगको अभावमा गुरुयोजना कहिलेसम्म पुरा हुने भन्नेमा समेत अन्योलता रहेको छ । सन् १९७८ मा लागु भएर १९९५ मा सम्पन्न हुनुपर्ने उक्त गुरुयोजना पुर्ण कार्यान्वयनका लागि तत्कालिन समयमा ६५ लाख अमेरिकी डलर लाग्ने अनुमान थियो । 
 
कोषका अनुसार गुरुयोजना ५० प्रतिशत कार्यान्वयन हुन अझै बाँकी छ । अहिले सरकारबाट प्राप्त बजेटमा मात्र निर्भर रहे निकै समय लाग्ने देखिन्छ । बर्षेनी मूल्यबृद्धि हुने गरेकाले छिटो निर्माण नभए गुरुयोजना महत्वाकांक्षी योजनामा सिमित हुने भएकाले दाताको खोजी भैरहेको तामाङ्गले जानकारी दिए । उनका अनुसार दान  पात्रमा बर्षेनी २०÷२२ लाख रुपैयाँ बाहेक अन्तराष्ट्रिय सहयोग पनि शुन्य छ । 
 
संयुक्त राष्ट्र संघको सहयोगमा १९७८ मा गुरुयोजना बनेर लागु भएपछि कोषको गठन भएको थियो । एक हजार एक सय ९७ बिगाहा जमिन अधिग्रहण तथा बृक्षारोपण गरि त्यसको कार्यान्वयन थालिएको हो ।
 
गुरुयोजना अनुसार, तीन भागमा बिभाजित लुम्बिनीको उत्तरी क्षेत्रमा नयाँ लुम्बिनी ग्राम, बीचको क्षेत्रमा राष्ट्रिय–अन्तराष्ट्रिय गुम्वा, बिहार तथा दक्षिणी क्षेत्रमा पबित्र उद्यान रहेका छन् । नयाँ लुम्बिनी ग्राममा अस्पताल, दुई सय कर्मचारीको आवास गृह, प्रशासकिय भवन, खानेपानी, बिद्युत, दुरसंचार, प्रहरी कार्यालय, बिद्यालय तथा निम्न, मध्यम र उच्च स्तरका होटल निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । 
 
त्यसैगरि गुम्वा–बिहार क्षेत्रमा अनुसन्धान केन्द्र, बिभिन्न देशका आ–आफ्ना कला र शैलीका ४२ वटा गुम्बा, बिहार, केन्द्रीय नहर, अडिटोरियम, यात्रु बिश्राम गृह, ध्यान केन्द्र आदि निर्माण गर्नुपर्दछ । 
 
पबित्र उद्यान क्षेत्रमा मायादेबी मन्दिर, मन्दिर वरिपरि आकर्षक बगैंचा, फुलबारी, २ हजार ८ सय मिटरका गोलाकार चार पोखरी तथा त्यस वरिपरी सडक निर्माण गर्ने गुरुयोजनामा रहेको छ । 
 
हालसम्म मायादेबी मन्दिर पुनर्निर्माण भैसकेको, गोलाकार पोखरी तथा वरिपरि सडक निर्माणाधिन छ । बगैचा, फुलवारी लगायतका महत्वपुर्ण संरचना निर्माण तथा प्रहरी चौकी, प्रशासनिक भवन हटाउने लगायतका काम बाँकी छ । बीचको क्षेत्रमा पनि ३२ वटा गुम्बा–बिहार निर्माणका लागि जमिन बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुलाई दिईएको भएपनि पाँचवटा सम्पन्न भैसकेको र एकदर्जन जति निर्माणाधिन भएपनि अरु शुरु हुनै बाँकी छ । त्यस्तै केन्द्रिय नहर, डिलमा पैदल मार्ग, अडिटोरियम, बिश्राम गृह, उत्तरमा प्रशासनिक भवन, अन्य कार्यालय, टेलिफोन, बिद्युत, खानेपानी सबै अण्डर ग्राउण्ड हुनुपर्ने जस्ता महत्वपुर्ण काम बाँकी रहेको सदस्य सचिब तामाङ्गले बताए ।
 
उनले गुरुयोजना सम्पन्न गर्न सरकारसँग बजेट बढाउन माग र दातृ निकायसँग सघाउन पत्राचार भैरहेको बताए । अन्तराष्ट्रिय समितिमा जापान, थाईल्याण्ड, भियतनाम, श्रीलंका, कम्बोडिया, चीनलगायत १६ बौद्धिष्ट मुलुक छन् ।
 
सन् १९९८ मा लुम्बिनीमा सम्पन्न प्रथम बिश्व बौद्ध शिखर सम्मेलनपछि लुम्बिनीको बिकासले केहि गति लिएको हो । कारण सम्मेलनले गुरुयोजनाको शीघ्र कार्यान्वयनमा जोड दिएको थियो । त्यस्तै गुरुयोजनाको कार्यान्वयनमा जोड दिदै २००५ मा सकिएको दोश्रो शिखर सम्मेलनले पनि सरकारलाई लुम्बिनीको बिकास र गुरुयोजना कार्यान्वयनमा अन्तराष्ट्रिय दवाव परेको हो ।
 
नयाँ गुम्बा भने धमाधम बन्दै 
शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरमा विभिन्न देशले आकर्षक बुद्ध गुम्बाहरु बनाएका छन् । यी गुम्बाहरु पर्यटकका लागि आकर्षण बन्ने गरेका छन् । लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने कतिपयले बनाइरहेको देखिन्छ । सबैभन्दा आकर्षक गुम्बा बनाउन विदेशी मुलुकबीच प्रतिस्पर्धा भइरहेको छ ।
 
करोडौं रुपैयाँ खर्च गरी बनाइएका यस्ता कलात्मक गुम्बाहरुले पर्यटकको ध्यान खिच्ने गरेको छ । लुम्बिनीमा बनाइएको नेपाली गुम्बा पनि मौलिक छ । वुद्धको जन्मस्थल लुम्बिनी विश्वभरि चर्चित छ । हरेक वर्ष लुम्बिनी भ्रमणमा आउने पर्यटकहरु बढिरहेका छन् । लुम्बिनीमा पर्यटकको पहिलो गन्तव्य हुन्छ, मायादेवी मन्दिर । मन्दिरमा बुद्धको दरबार (घर) र उनको पाइला छ । मन्दिर बाहिर पनि पुरानो दरबार उत्खनन् गरिएको छ । जुन पर्यटकका लागि आकर्षण बन्न पुगेको छ ।
 
लुम्बिनीमा मायादेवी मन्दिर र निजी गुम्बाहरु राम्रोसँग अवलोकन गर्नका लागि झण्डै दुई दिन लाग्छ । एकजना पर्यटकलाई लुम्बिनी भित्र मात्रै दुई दिनसम्म अड्याउन सकिन्छ । लुम्बिनीका साथै बुद्धको मावलीघर देवदह र तिलौराकोट घुम्न गएमा तीन दिन बित्छ । तर, अहिले लुम्बिनी घुम्न आउने पर्यटक सोही दिन फर्किने गरेका छन् । लुम्बिनी भ्रमणमा आउने पर्यटकमध्ये करिव ६० प्रतिशत सोही दिन फर्किन्छन बाँकी ४० प्रतिशतको बसाइ एक दिनमात्रै हुने गरेको सिद्धार्थ होटल व्यवसायी संघका अध्यक्ष सीपी श्रेष्ठ बताउँछन् ।
 
लुम्बिनीमा विश्वको ध्यान खिच्नका लागि यही जेठ ६, ७ र ८ गते २५६० औं बुद्ध जयन्ती भव्य रुपमा मनाउने र अन्तर्रा्ष्ट्रिय बौद्ध गोष्ठ पनि संम्पन्न गरेको छ । सम्मेलनले बुद्ध दर्शनको सुरुवात नेपालबाट भएको सन्देश प्रवाह गर्न सफल भएको पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउँछन् । 
 
अहिले लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटक पनि भारतको बाटो हुँदै आउने गरेका छन् । पर्यटकलाई लुम्बिनी भ्रमण गराउने ९० प्रतिशत ट्राभल एजेन्सीहरु पनि भारतीय नै रहेका छन । भारतीय ट्राभल एजेन्सीहरुले पर्यटकलाई लुम्बिनी भ्रमण गराएर सोही दिन आफ्नो मुलुकमा फर्काउने गर्छन् । नेपालमा रहेको लुम्बिनीको भरपुर फाइदा भारले लिइरहेको छ । त्यसमाथि भारतीय पर्यटकले आफै खानेकुरा ल्याएर लुम्बिनी भ्रमणमा आउने र नेपालमा फोहोर फालेर जाने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ