arrow

नयाँ माहोलमा नेपाली फुटबल : एन्फामा मेलमिलाप हुनै लागेको हो त ?

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
ANFA-new-FNL.jpg.jpeg
काठमाडौं । विश्व फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीको निर्देशन पछि अखिल नेपाल फुटबलसंग एन्फामा पदाधिकारी पुनःबहाली र नयाँ नेतृत्वको अभ्यास सुरु भएको छ । विवाद गरिरहने पदाधिकारीहरुले समेत अब आफुहरु मिलेर जाने बताइरहेका छन् । जसले नेपाली फुटबलमा नयाँ माहोल सिर्जना भएको छ । 
 
फिफाले गएको वैशाख २८ गते एन्फालाई वर्खास्त भएका पदाधिकारी पुनः बहाली गर्न र सवैलाई समेटेर साधारणसभा गर्न भनेपछि नयाँ वातावरण सिर्जना भएको हो । विगतमा एन्फाको कार्यशैली र एन्फा नेतृत्वको विषयलाई लिएर एन्फामा विवाद हँुदै आएको थियो । एन्फा अध्यक्ष गणेश थापा निलम्बनमा परेपछि एन्फा नेतृत्वविहिन छ । एन्फा नेतृत्वविहिन हुँदा नेपाली फुटबलको विकासमा अवरोध आएको छ । 
 
एन्फा नेतृत्वविहिन भएको दुई वर्ष वित्न लाग्दा समेत नयाँ नेतृत्व चयनको अभ्यास हुन सकेको थिएन । २१ वर्ष सम्म निरन्तर नेतृत्व गरेका गणेश थापालाई फिफाले नै १० वर्ष प्रतिबन्ध गरेकाले एन्फाको नेतृत्व अब हस्तान्त्रण हुनेछ । यद्यपि, एन्फामा नयाँ नेतृत्वका लागि बहस सुरु हुँदा एन्फा अध्यक्ष गणेश थापा अझै फिफाले आफुमाथि अन्याय गरेको भन्दै कोर्ट अफ आर्बिटेशन फर स्पोर्टस् (क्यास)मा जाने बताइरहेका छन् । यदी थापा साधारण सभा अघि नै क्यास पुगे भने क्यासले आदेश जारी गर्न सक्ने ठाउँ रहेको बताइन्छ । 
 
यस्तै, एन्फाले बर्खास्त गरेका चार पदाधिकारीहरुको पुनःबहाली, साधारण सभाको वातावरण बनाउन एन्फालाई फिफा र एएफसीले ताकेता गरेका छन् । जेठ १० गते भित्रमा बर्खास्तगीमा परेका उपाध्यक्षहरु कर्माछरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई (झापाली) तथा केन्द्रीय सदस्य पंकज नेम्वाङलाई पुनःबहाली गर्न भनिएको थियो । तर, एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत केही पदाधिकारी फिफाकै कार्यक्रममा मेक्सिको गएकाले तत्काल सो विषयमा छलफल हुन नसकेपछि  पुनःबहाली लम्बिएको छ । 
 
श्रेष्ठ वुधबार मात्रै फर्किएकाले तोकिएको समयमा बैठक डाकेर पुनःबहाली गर्न सक्ने अवस्था रहेन । एन्फाले विहिबार फिफालाई १९ गते सम्मको समय थप्न माग गरेको छ । विधान अनुसार कार्यसमिति बैठक बोलाउन १४ दिन समय लाग्ने भएकाले समय थप्न माग गरिएको एन्फा प्रवक्ता इन्द्रमान तुलाधरले बताए । उता, बर्खास्त भएका पदाधिकारीहरुले फिफा र एएफसीको कदम निकै सकारात्मक भन्दै अब नेपाली फुटबलको विकासका लागि मार्ग प्रशस्त भएको बताएका छन् । 
 
उनीहरुले नेपाली फुटबलको विकास, सामूहिक नेतृत्वको अवधारणा, पारदर्शिता र विकेन्द्रिकरणको सिद्धान्त अनुरुप एन्फा संचालन हुनुपर्नेमा जोड दिएका छन् । 
 
के हुँदैछ ? 
एन्फा प्रवक्ता तुलाधरले हाम्राकुरासंग भनेका छन्, ‘साधारण सभा गर्ने विषयमा पदाधिकारीहरुबीचमा अनौपचारिक छलफल भइरहेको छ । बर्खास्त पदाधिकारी पुनःबहालीका विषयमा विधान अनुसार जानु पर्ने भएकाले निर्णय गर्न केही समय लाग्ने भएको छ ।’ साधारण सभा कसरी गर्ने भन्ने विषयमा सामूहक छलफल नभएपनि अनौपचाकिर छलफल भइरहेको छ । 
 
अब साधारण सभा कसैले रोक्न सक्दैन : प्रधान 
एन्फा महासचिव धिरेन प्रधानले नेतृत्वविहिनता लामो समयसम्म रहेको भन्दै अब साधारण सभा हुनै पर्ने बताए । उनले भने, ‘अन्योलबाट गुज्रिएको दुई वर्ष वित्न  लागि सक्यो, चुनाव हुनु परेन ।’ कर्माछिरिङ शेर्पाहरुले गरेको पुनरावेदन के गर्नु हुन्छ ? जवाफमा उनले भने, ‘त्यो उहाँहरुले फिर्ता लिएर आउनु हुन्छ ।’ त्यसो गरेपछि समस्या समाधान गर्न अफ्ठेरो छैन । 
 
उपाध्यक्ष कर्मा छिरिङ शेर्पा समूहले लामो समय एन्फाको कार्यशैली र नेतृत्वको विषयलाई लिएर आन्दोलन गरिरहयो । एन्फा विरोधी गतिविधि गरेको भन्दै शेर्पा समूह बर्खास्त भयो । पछि आफुहरुलाई सहभागि नगराएसम्म साधारण सभा रोक्न भन्दै पुनरावेदन अदालत ललितपुरमा सो समूहले रिट दर्ता गरेको हो । रिटको फैसला अझै भएको छैन । जसले एन्फाको साधारण सभामा अवरोध गर्न सक्ने  भएकाले फिर्ता लिनुको विकल्प नभएको एन्फा पदाधिकारीहरुको भनाई छ । 
 
महासचिव प्रधानले अब कसरी जाने भन्ने विषयमा साथीहरुबीच छलफल भइरहेको छ–भनेका छन् । उनका अनुसार फिफा र एएफसीको निर्देशन मान्नै पर्ने र पदाधिकारी पुनःबहाली गरी साधारण सभाको प्रक्रिया थाल्ने पर्नेछ । 
 
अब फेरि पनि साधारण सभा रोकियो भने ? जवाफमा उनले भने, ‘अब कसैले रोक्दैनन्, रोक्ने साथीहरुले मुद्दा फिर्ता लिनु हुन्छ, विवाद नै सकिन्छ ।’ तर, गणेश थापा फेरि क्यासमा जान्छु भनिरहेका छन् ? उनले भने, ‘जाने भन्नु हुन्छ, जानु हुन्छ–जानु हुन्न हामीलाई थाहा छैन । साधारण सभा अब कसैले रोक्न सक्दैन ।’ उहाँ बारेपनि फिफा र एएफसीले निर्णय लिन्छ । 
 
एन्फाको नयाँ वातावरण र बहस अनुसार अब सामूहिक नेतृत्वको आवश्यकता महसुस भएको संकेत दिन्छ । उत्कर्षमा पुगेको विवाद समाधानको वातावरण बन्दै गएको छ । यद्यपि, गुट अन्त्य अझै भइसकेको छैन । शुक्रबार कर्मा छिरिङ शेर्पाले आफुहरु बहुमतमा रहेको र आफुहरुको मुद्दा नै स्थापित हुने बताएका छन् । पत्रकार सम्मेलनमै शेर्पाले आफुहरु बहुमतमा रहेको बताए ।
 
उद्देश्य पुरा भएपछि मुद्दाको औचित्य छैन, फिर्ता लिन्छौं : शेर्पा 
एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले आफुहरुले जुन उद्देश्यका लागि मुद्दा लडेका थियौं त्यो उद्देश्य पाप्त भइसकेपछि मुद्दाको औचित्य नभएको बताएका छन् । उनले भने, ‘हामीले मुद्दा जितिसकेका छौ, उद्देश्य पूर्ति भइसकेको छ, अब फिर्ता लिनलाई आपत्ति छैन । मैले वकिलहरुलाई पनि भनेको छु, अब अर्थ छैन, फिर्ता गराउनुस् ।’ फिफाको निर्णयलाई हामी कदर गर्छौं । 
 
पुनःबहालीपछि एन्फाभित्र रहेका सबै समस्याहरु हामी समाधान गर्छौं । शेर्पाले सबै मिलेर जानुको विकल्प नभएको बताए । पुनःबहालीपछि अल्प मतमा पर्नु भयो भने फेरिपनि आन्दोलन गर्नु हुन्छ ? जवाफमा उनले भने, ‘खै हामी अल्प मतमा त छैनौं जस्तो लाग्छ , अहिले हामी बहुमतमा छौं ।’ 
 
फुटबल विकासका लागि कार्यसमितिमा प्रस्ताव लान्छु            
शेर्पाले कार्य समितिमा आफुले नेपाली फुटबलको विकास, सामूहिक नेतृत्वको अवधारणा, पारदर्शिता र विकेन्द्रिकरणबारेको प्रस्ताव लैजाने बताए । ठाडै प्रस्ताव लाँदा सबैले मान्लान् ? जवाफमा उनले भने, ‘मैले ठाडै प्रस्ताव लानु भन्दा पनि साथीहरुसंग छलफल गरेर लान्छौं । मैले ल्याएको भन्नु भन्दा पनि त्यसलाई हामीले ल्याएको भन्ने तवरले प्रस्तुत गर्ने छौं ।’ विकेन्द्रिकरणमा विवाद हुँदैन । 
 
सामूहिक नेतृत्वको विषय, मैले पदको कुरा गरेको होइन, उनले थपे, ‘सबै कमिटीलाई सक्रिय बनाउनु पर्यो भन्ने हो । जस्तै, आर्थिकका लागि फाइनान्सियल कमिटी र खेलका लागि टुर्नामेन्ट कमिटीलाई सक्रिय बनाउनु पर्ने हुन्छ ।’ फुटबलको विकासका लागि हामीले फिफा र एएफसी जस्तै विभिन्न कमिटीलाई सक्रिय बनाउनु पर्दछ भन्ने हो । 
 
यस्तै, शेर्पाले पुनः बहाली मात्र होइन हामी आशा र जोस लिएर आएका छौं –भने । हिजो बेला बेलामा विद्रोह गर्नु भो, आज फेरि फर्किनु भा छ, मुद्दा जितेको भन्नु हुन्छ, के गर्नु हुन्छ त अब ? जवाफमा उनले भने, ‘अहिले नै यो गर्छु त्यो गर्छु किन भन्नु, हामी भविष्यमा गरेर देखाउँछौ । नेपाली फुटबल उचाईमा गएको देख्नु हुनेछ ।’ 
 
कार्यवाहकसंग कुनै व्यक्तिगत रिसराग छैन, कार्यगत मतभिन्तता हो 
शेर्पाले एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसंग व्यक्तिगत रिसराग नभएको बताए । उनले भने, ‘हिजो हामीलाई निकाल्नु र नयाँ मान्छेलाई बोलाउनु एकै चोटी भो । त्यसमा हामीले नेतृत्वप्रति असन्तुष्टी जनाएका हौ ।’ अब फिफाको निर्णयलाई हामी सिरोधर गर्दछौं । 
 
हिजो असन्तुष्टि जनाउने अब संगै बस्नुपर्दा के गर्नु हुन्छ ? जवाफमा शेर्पाले भने, ‘फुटबलको विकासका लागि जुट्नुको विकल्प छैन । अहिलेको आवश्यकता सबैले बुझेका छन् । अनि चुनाव जित्ने वातावरण बताउँदै हिड्नु भा छ रे ? शेर्पा भन्छन्, ‘मैले फुटबलको विकासका लागि अनौपचाकिर छलफल चलाएको साँचो हो । अनौपचारिक रुपमा जिल्ला र डिभिजनका साथीहरुसंग छलफल भइरहेको छ । यसलाई कसरी बुझ्नु हुन्छ त्यो तपाईको बुझाईमा भर पर्छ ।’
 
यद्यपि, शेर्पाले जिल्ला र डिभिजनहरुसंगको सम्पर्क एव छलफल निकै बढाएका छन् । कतिपयले उनको यो दौडधुपलाई नेतृत्वका लागि भन्ने अड्कल गरिरहेका छन् । एन्फाभित्रको गुटबन्दी अन्त्य र नेपाली फुबलको विकासका लागि सक्रिय समिति बनेको नतिजा हेर्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ