काठमाडौं। नेपालमा नै पहिलोपटक हुन लागिरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचनमा ६ वटा कर्मचारी संगठनहरूबीच भाले भीडन्त हुने भएको छ । आईतबार साँझ पाँच बजेसम्म रहेको उम्मेदवारी दर्ताको समयावधिभित्र ६ वटा मात्रै संगठनहरूको उम्मेदवारी दर्ता भएकोले ६ वटा संगठनहरूबीच प्रतिस्पर्धा हुने निश्चित भएको प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद तिमल्सिनाले जानकारी दिए।
सरकारले दुईपटकसम्म सारेर तोकेको यही जेठ १९ गते कर्मचारीहरूले आफ्नो आधिकारिक नेतृत्व चयन गर्दैछन् । कूल सातवटा संगठन क्रियाशील रहेकोमा राष्ट्रसेवक कर्मचारी संगठनले भने उम्मेदवारी दर्ता गराएको छैन । यसबाहेक उम्मेदवारी दर्ता गराउनेमा नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेशी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठनले उम्मेदवारी दर्ता गराएको तिमल्सिनाले जानकारी दिए।
पहिले चैत २८ र त्यसपछि बैशाख १० गते गर्ने भनिएको सो निर्वाचनमा राखिएको थ्रेसहोल्डको विषयमा कुरा नमिले पछि तयारी नपुगेको भन्दै निर्वाचन मन्त्रिपरिषद्को निर्णयबाट जेठ १९ को लागि सारिएको थियो । थ्रेसहोल्ड २० प्रतिशतको राखेर तय गरिएको निर्वाचनमा संगठन दर्ता गर्नुपर्ने प्रावधान राखेपछि अघिल्लो निर्वाचन प्रक्रियामा सहभागी नभएकाहरू नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति र राष्ट्रिय कर्मचारी संगठनले समेत निर्वाचनमा भाग लिएपछि जेठ १९ गते निर्वाचन हुने सम्भावना पनि बढ्न थालेको कर्मचारीहरू बताउँछन्।
यसरी चुनावी मैदानमा उत्रिएकाहरूमध्ये सबैभन्दा बढी मत ल्याउने संगठनलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेलाई महासचिव, तेस्रो हुनेलाई उपाध्यक्ष र चौथो हुने संगठनलाई सचिव पद दिईने छ । सदस्यहरूको टुङ्गो भने कर्मचारीहरूले प्राप्त गरेको मतको आधारमा विभाजन गरिनेछ।