arrow

ऋषिलाई जिस्काउँदा साम्बलाई श्राप, श्रीकृष्णको वंश नाश

'आध्यात्मिकता कसैले कसैलाई सिकाउने विषय हो वा आफैं सिक्नुपर्ने'

logo
विष्णुप्रसाद तिमिल्सिना,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
srikrishna.JPG

गौरीघाट ।  श्री शिवपुरी बाबासंग जिज्ञाशुले, “बाबा, आध्यात्मिकता कसैले कसैलाई सिकाउने विषय हो वा आफैं सिक्नुपर्ने हो” भन्ने प्रश्न गर्दा उहांको जवाफ थियो “आध्यात्मिकता कसैले कसैलाई सिकाउने कुरा होइन । यो त आफ्नो भित्री इच्छा, जिज्ञासा, अनुभव र प्रयासले मात्र जागृत हुने कुरा हो । यसको उदाहरणकालागि श्रीमद्भागवतमा साम्बको प्रसङ्ग पढ्नुस् ।”

श्रीकृष्णले राक्षसहरूबाट पृथ्वीको भार हर्नुभयो तर छपन्न कोटि यदुवंशी भने पृथ्वीको भार भइरहेकै थिए । उहाँले आफ्नो मायाले नै यो वंश पनि नाश गर्ने बिचार गर्नुभयो । 

कुनै दिन साम्बसहित यदुवंशका केही केटाहरू विश्वामित्र, दुर्वासा आदि ऋषिहरू तपस्या गरेको ठाँउ पिण्डारक क्षेत्रमा पुगे । उनीहरूलाई ऋषिहरूसँग जिस्कने मन भयो र साम्बको पेटमा कपडा बेर्न लगाए । उनीहरूले ऋषिहरूलाई “यी गर्भवती छिन्, यिनले के जन्माउँछिन् ?” भनेर सोधे ।

ऋषिहरूले “यिनको गर्भबाट फलामको मुसल जन्मन्छ । त्यही मुसल यदुवंशको नाशको कारण बन्नेछ” भन्ने श्राप दिए । नभन्दै पेट हेर्दा मुसल नै निस्कियो । मुसल निस्केपछि सबै डराए तर श्रीकृष्ण भगवान्‌लाई त्यो कुरा थाहानै नदिई मुसललाई सानोसानो चूर्ण बनाएर समुद्रमा बगाइदिए र बाँकी सानो टुक्रा त्यसै फ्याँकिदिए । त्यो टुक्रा माछाले निल्यो । त्यो माछालाई जरा नाम भएको माझीले जालमा पार्‍यो । पानीमा बगेको फलामको चूर्ण समुद्रको तीरमा पुग्यो र सुइरो भएको (एरका) झारको रूपमा प्रकट भयो ।
 
माझीले माछाको पेट चिर्दा फलाम निस्क्यो । त्यही फलाम यदुवंशको नाशको निमित्त हुन पुग्यो । श्रीकृष्ण भगवान्‌ले त्यो श्राप मोक्ष गर्न सक्नुहुन्थ्यो तर त्यही श्रापलाई नै उहाँबाट अनुमोदन भयो । पृथ्वीको भार भएका यदुवंशीहरूले प्रभास क्षेत्रमा मङ्गलकार्य गरेपछि मत्त भएर बारूणी मदिरा पिए । त्यही मदिराको नशाको वशमा परेर एरका घाँस उखेलेर एकआपसमा हानाहान गरे । यसरी झगडा गरे अनि नाश भए ।

साम्बको बारेमा एउटा सानो प्रसंग । एकदिन नारद ऋषि श्रीकृष्णलाई भेटगर्न जानुभयो । उहांको आगमनपछि श्रीकृष्णले उहांलाई पाद्य, अर्घ आदिले ससम्मान पूजा गर्नुभयो । आसन ग्रहण गरेपछि नारदले श्रीकृष्णसंग एकान्तमा केही कुरा बिन्ती गर्नुपरेकोले म आएकोहुं भन्नुभयो । श्रीकृष्णको स्वीकृति पछि नारदजीले “साम्बको रुपले गर्दा वरपरका स्त्रीहरु मोहित र उच्छृंखल भइरहेकाछन्, जसले गर्दा सत्यलोकमा पनि हजुरको निन्दा भईरहेकोछ, त्यसैले साम्बलाई त्याग गर्नु नै कल्याण हुने” भन्ने कुरा राख्नुभयो । नारद ऋषिको यो कुरा सुनेर श्रीकृष्णले वरपरका स्त्रीसहित साम्बलाई पनि आफू सन्मुख बोलाउनुभयो । सबै बसे । साम्बले श्रीकृष्णलाई  यसरी बोलाउनु परेको कारण सोधे । केही छिनपछि श्रीकृष्णले सबै स्त्रीहरुलाई फर्केर जानु भन्नु भयो र सबै फर्केर गए ।
 
साम्ब त्यहीं बसिरहे । श्रीकृष्णले साम्बलाई कुरुप हुने श्राप दिनु भयो । साम्ब तुरुन्तै कोढी भए । उनको शरीरबाट फोहोरको दुर्गन्ध निस्कन लाग्यो । उनको यो स्थिति देखेर नारदले त्यो श्रापबाट मुक्ति पाउन सूर्यको स्तुति गर्न लगाए । साम्बले सूर्यको स्तुति गरिसकेपछि सूर्य प्रकटभएर उनलाई रोगबाट मुक्त गरिदिए । उनले गरेको सूर्यको स्तुतिको नाम हो “साम्बपञ्चाशिका” । (संकलित) 

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ