आकस्मिक शल्यक्रिया गरिएकी महिलामा कोरोना, प्रसूति सेवा बन्द
प्रकाशित २०७७ भदौ ३१ बुधबार
909
Shares
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म सेवा बन्द गरिएको उनको भनाइ छ ।
अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग्राहीमा जानकारी गराएको छ ।
महिलामा कोभिड–१९ को आशङ्कामा २८ गते नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा नतिजा पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेशको सबैभन्दा ठूलो यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी आउने गर्दछन् ।