काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनले आफ्नो स्थापनाको २५औं बर्षको असवर पारेर आजदेखि रजत महोत्सव मनाउन लागेको छ । बर्ष भरी मनाईने रजत महोत्सवको काँग्रेस सभापति शेरबहादुर देउवाले आज राजधानीमा उद्घटन गर्दै छन् । कार्यक्रम अपराहन्न साढे चार बजे भिमसेनगोला स्थीत आनन्द पार्टी भेन्युमा हुने युनियनले जनाएको छ ।
प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा स्थापना दिवस मनाउँदै आइएको छ । देशका शाखाहरुमा पनि युनियनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए ।
पछिल्लो समयमा युनियनले श्रमजिवी पत्रकारका पेशागत तथा भौतिक सुरक्षा लगायतका हक, हितका लागि क्रियाशिल हुदै आएको छ । देशभर करिव सात हजार चार सय पत्रकार युनियनमा आवद्ध रहेको सिवाकोटीले बताए । नेपाल प्रेस युनियन अन्तराष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए । श्रमजीवि पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्धेश्यलले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।
युनियनको स्थापनाकालमा जम्मा गुप्ता सहित हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, श्रीसबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान गरि सत्र जना सदस्य रहेका थिए । उनीहरु सवैलाई आज रजत महोत्सव सुरुवात समारोहमा सम्मान गर्ने कार्यक्रम रहेको युनियनका अध्यक्ष बद्रि सिग्देलले जानकारी दिए ।
उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्य समितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यहरुमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ, जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिना लगायत रहेका थिए ।
त्यसपछि २०५१ साल जेठ २७ र २८ गते पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशन सम्पन्न भई रमेश तुफानको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । उक्त कार्य समितिमा उपाध्यक्ष राजेश्वर नेपाली, महासचिव भरत भुर्तेल, सचिव हरि लम्साल, कोषाध्यक्ष कुलचन्द्र वाग्ले, सदस्यहरुमा कन्यैयालाल केशरी, हर्ष सुब्बा, झपेन्द्र गैरे, माधव घिमिरे, माधव नेपाल, कृष्ण धारावासी र बिष्णुप्रसाद भुषाल निर्वाचित भएका थिए ।
तेस्रो महाधिवेशन पर्सा जिल्लाको वीरगञ्जमा २०५३ साल मंसिर २२ र २३ गते सम्पन्न भइ तारा बराललाई अध्यक्षमा चुनेको थियो । जुन कार्य समितिको उपाध्यक्षमा हरि लम्साल, महासचिवमा कुलचन्द्र वाग्ले, सचिवमा बेद प्रसाद खरेल, कोषाध्यक्षमा गेजा शर्मा वाग्ले, सदस्यहरुमा झपेन्द्र गैरे, मुरारी कुमार शर्मा, मनोज शाह, हिकमान विरही, शिवप्रसाद भट्टराई, गगांधर पराजुली, राजेन्द्रसिंह राठौर, बसन्त प्रकाश उपाध्याय र शंकर खरेल रहेका थिए।
नेपाल प्रेस युनियनको चौथो महाधिवेशन दाङ जिल्लाको घोराहीमा २०५५ साल माघ २४ र २५ गते आयोजना गरियो । तर उक्त महाधिवेशनमा निर्वाचन प्रक्रियाका क्रममा केही विवाद खडा भएपछि निर्वाचन स्थगन गरिएको थियो । पछि उक्त निर्वाचन २०५६ साल साउन ७ गते सुनसरीको इटहरीमा सम्पन्न भई कुलचन्द्र वाग्ले अध्यक्षमा निर्वाचित भए । सो कार्यसमितिको उपाध्यक्षमा मुरारीकुमार शर्मा, महासचिवमा तरुण पौडेल, सचिवमा झपेन्द्र गैरे चयन भए । साथै सो कार्यसमितिमा विकास क्षेत्र अनुसार पूर्वाञ्चलमा सञ्जय सन्तोषी राई, मध्यमाञ्चलमा रविकिरण कोइराला, पश्चिमाञ्चलमा हेमराज बराल र मध्यपश्चिममा राजेन्द्र सिंह राठौरलाई समन्वयका लागि संयोजकको जिम्मेवारी दिइएको थियो ।
सिराहाको लाहानमा २०६० साल असार १४ र १५ गते सम्पन्न युनियनको पाँचौं महाधिवेशनले मुरारीकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्यो । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केदार सुवेदी, उपाध्यक्षहरुमा मनमोहन स्वाँर, गोविन्द कोइराला, गंगाधर पराजुली, बेनीबहादुर कार्की र यम बराल, महासचिवमा समिरजङ्ग शाह, कोषाध्यक्षमा दामोदर प्रसाद दवाडी, सचिवमा चिन्तामणि दाहाल र सदस्यहरुमा संकेत कोइराला, रश्मी उपाध्याय, केशव सिग्देल, अनिल कुमार कर्ण, विजयसन्तोषी राई, राधा चालिसे, भारती उपाध्याय, किरण पोखरेल, जुनारबाबु बस्नेत, शितल कोइराला, उद्धब हमाल र सन्ध्या रेग्मी रहेका थिए ।
युनियनको छैठौं महाधिवेशन कास्कीको पोखरामा २०६४ साल भदौ २८ र २९ गते सम्पन्न भयो । महाधिवेशनबाट समिरजङ्ग शाहको अध्यक्षमा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दामोदरप्रसाद दवाडी, उपाध्यक्षहरुमा राधा चालिसे, भिष्मराज ओझा, युवराज श्रेष्ठ, सतिश चापागाईं, महेन्द्र श्रेष्ठ, नवराज लम्साल र शेखर रेग्मी, महासचिवमा विन्दुकान्त घिमिरे, सचिवमा शिव लम्साल, कोषाध्यक्षमा जुनारबाबु बस्नेत र सदस्यहरुमा सन्तोष न्यौपाने, प्रदीप चापागाईं, उत्तम हमाल, दामोदर भण्डारी, सन्तोष सुवेदी, अनिता विन्दु, शान्ता पौडेल, राजेश झा, हिरालाल विश्वकर्मा, मोहन वान्तवा, होम लम्साल, प्रकाशचन्द्र परियार, अजय बम, दीपेन्द्र चौहान, श्रीमति विष्णु शर्मा र लोकराज ढकाल रहेका थिए । यही कार्यकालमा सम्पन्न नेपाली कांग्रेस पार्टीको १२ औं महाधिवेशनदेखि युनियनलाई शुभेच्छुक संस्थाको नाताले ५ जना महाधिबेशन प्रतिनिधिको अधिकार प्रदान गरिएको थियो ।
त्यसैगरी युनियनको सातौं महाधिवेशन २०६७ साल चैत ६ र ७ गते सुनसरीको इटहरीमा भयो र सो महाधिबेशनले निर्बिरोधरुपमा किरण पोखरेलको नेतृत्वमा ५३ जनाको कार्यसमिति चयन गर्यो। सो समितिमा बरिष्ठ उपाध्यक्ष बद्री सिग्देल, प्रथम उपाध्यक्ष गंगाधर पराजुली, द्धित्तिय उपाध्यक्ष हेमन्त काफ्ले, महिला उपाध्यक्ष अनिता बिन्दु, महासचिव शिव लम्साल, उपमहासचिवद्धय बिजय संतोषी राई र बाला अधिकारी, सचिवद्धय सन्तोष न्यौपाने र भुवन भट्ट, कोषाध्यक्ष ईश्वरी ओझा, क्षेत्रीय संयोजकहरु भिष्मराज ओझा, युवराज श्रेष्ठ, रमेश पौडेल, होम लम्साल, दीपक आचार्य, शेखर रेग्मी, सदस्यहरु अजय बम, अजयबाबु शिवाकोटी, बिमल ज्ञवाली, चन्द्रशेखर अधिकारी, सरोज अधिकारी, पवन आचार्य, भूमि चापागाई, सुमन मिश्र, देबेन्द्र बर्मा, जनार्दन घिमिरे, मानबहादुर न्यौपाने, सलोजा दाहाल, सीता अधिकारी, रञ्जना पौडेल, जयप्रकाश गुप्ता, अनिल तिवारी, के.बी.राना, उमा थापामगर, प्रेम चुनारा, टेक बहादुर सार्की, इकवाल अहमद, टि. एन. जोशी, र अञ्चल संयोजकहरु सुरेश जोशी, मुकुन्द भण्डारी, कटक शाही, कलेन्द्र सेजुवाल, सुदिप गौतम, रामराज पोखरेल, दिपक गौतम, मिलन दनाई, लिलाराज खनाल, शिव देवकोटा, राममणी दाहाल, श्रीनारायण शाह, भत्तिविलास पोखरेल, लिलाबल्लभ घिमिरे, र कृष्ण हुमागाई रहेका थिए ।
युनियनका निवर्तमान बरिष्ठ उपाध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा रहेको बर्तमान कार्यसमिति भने २०७१ भदौ २१ देखि २३ गते सम्म भएको महाधिवेशनले गठन गरेको हो ।
देशभरी ७२ जिल्लामा जिल्ला शाखा छ भने कैलालीमा लम्की उपशाखा तथा काठमाडौंमा साँखु उपशाखा गरी २ ओटा उपशाखा रहेका छन् । अहिले सम्म जिल्ला शाखा गठन हुन नसकेका मनाङ, मुस्ताङ र डोल्पामा यसैबर्ष शाखा गठन गरिने महासचिव सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले युनियनका ७ वटा प्रतिष्ठान शाखा छन भने यसै बर्ष देखि विदेशमा पनि शाखाहरु गठन गर्न सुरु गरिने छ ।
पत्रकारिता व्यवसाय प्रजातन्त्रमामात्र फस्टाउने सास्वत सत्यलाई मध्यनजर गर्दै युनियनभित्र प्रजातन्त्रप्रति पूर्ण आस्थावान् श्रमजीवीहरु पत्रकारहरु आबद्ध रहने युनियनको विधानमा उल्लेख छ ।
विशेषगरी प्रजातन्त्रलाई संस्थागत गर्दै श्रमजीवीका हकहितमा आवाज उठाउने उद्देश्यका साथ स्थापना गरिएको नेपाल प्रेस युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्तीका लागि संघर्ष गर्दैआएको छ । श्रमजीवी पत्रकार ऐन २०५१ निर्माण, नेपालको अन्तरिम संविधान २०६३ मा रहेका स्वतन्त्र प्रेस सम्बन्धि हक, सूचनाको हक सम्बन्धी ऐन २०६४ र यस अन्तर्गत स्थापना गरिएको सूचना आयोग स्थापनामा नेपाल प्रेस युनियनको भूमिका उल्लेखनीय रहेको छ ।
युनियनले संशोधित श्रमजीवी पत्रकार ऐन र सूचनाको हकसम्बन्धी ऐन पूर्ण रुपमा लागू गर्न आजका मितिसम्म पनि दबाब दिइरहेको छ । लोककल्याणकारी विज्ञापनको रकममा बृद्धि र मोफसलका पत्रपत्रिकालाई दिनुपर्ने थप सुविधाका सन्दर्भमा पनि युनियन लड्दै आएको छ । २०४६ साल पछि संचार क्षेत्रका लागि उर्वर रहेको नेपालको राजनीतिक परिवेशमा युनियनको स्थापना मात्र भएन हजारौं युवाहरुलाई व्यवसायिक संचारकर्मी बनाउने कार्य पनि युनियन मार्फत पर्याप्त भएको देखिन्छ ।