काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार आफ्ना लागि आवधिक नभएर आजीवनको वबषय भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको १७औं स्थापना दिवशको अवशरमा आयोगले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैले पनि मानव अधिकारको बलजफ्ती उल्लंघन गर्न नपाओस भनेर सरकार गम्भिर रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘मानवअधिकार मेरो आवधिक बिषय होइन आजीवन हो । त्यसकारण मानव अधिकारका बिषयमा मेरो सजगता सधैं कायम रहन्छ ।’मानवअधिकारलाई व्यक्ति र संस्थापिच्छेले फरक–फरक परिभाषा गर्नु गलत रहेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । ‘मानवअधिकार जताबाट हेरे पनि एउटै र उस्तै हुनुपर्छ ’प्रधानमन्त्री ओलीले भने ‘यो व्यक्तिपिच्छे फरक फरक हुनुहुदैन ।’
वर्तमानको राजनीतिक समस्या समाधानका लागि सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘वर्तमान राजनीतिक समस्या समाधानका लागि सरकारले पत्र पठाएको छ । वर्ताको आह्वान गरेको छ र अनौपचारिक रुपमा पनि कुरा गरिरहेको छ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई मानवअधिकारको बहालीका लागि गम्भिर भएर लागिपर्न आग्रह् गरेका छन् ।
आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको संरक्षण गर्नका लागि राजनीतिक दलबीच देखिएको असमझदारीलाई चाँडो सहमति गर्दै भूकम्पबाट घरवारविहीनलाई बर्खाअगावै आवास निर्माण गर्नुपर्नेमा जोड दिए । उनले आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न सरकारलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानवको स्वतन्त्रता, समानता, मर्यादा र सम्मानपूर्वक बाँच्न पाउने विषय मानिसको नैसर्गिक अधिकारका रुपमा लिनुपर्नेमा जोड दिए ।