पर्सा । कोलकातास्थित बन्दरगाहका ‘क्लियरिङ एजेन्ट’ले नेपालतर्फको काम ठप्प पारेका छन् । आयातकर्ताले ट्रक, कन्टेनरको विलम्ब जरिवाना र शुल्क नबुझाएको कारण देखाउँदै उनीहरुले काम ठप्प पारेका हुन् । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण पेट्रोलियम र अन्य अत्यावश्यकीय मालसामानको आयात अवरुद्ध भइरहेका बेला कोलकातास्थित बन्दरगाहमा समेत क्लियरिङ एजेन्टले नेपालतर्फको काम ठप्प पारेपछि नेपाली आयातकर्ता थप मारमा परेका छन् ।
वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा विगत दुई महिनादेखि मालवस्तु थन्किएका छन् । उक्त मालवस्तु केही दिनयता प्रहरी सुरक्षामा ढुवानी गरेलगत्तै कोलकता बन्दरगाहमा जरिवाना र शुल्कको विषय झिक्दै क्लियरिङ एजेन्टले कामकाज ठप्प पारेका नेपाल उद्योग वाणिज्य महासङ्घका आपूर्ति समिति संयोजक विजयकुमार सरावगीले जानकारी दिए ।
“गत शुक्रबारदेखि नै स्वदेशी आयातकर्ताको काम ठप्प पारेकाले वैदेशिक व्यापार अझ जटिल बन्ने देखिन्छ” उनले भने । नेपाली आयतकर्ताले जरिवाना र शुल्कबापत तिर्नुपर्ने रु चार अर्ब नबुझाएसम्म काम नगर्ने अडान एजेन्टको रहेको उनले बताए । नेपालका लागि काम गर्ने सयभन्दा बढी एजेन्टलाई सिपिङ एजेन्सी र ढुवानी व्यवसायीले रकम बुझाउन दबाब दिएपछि काम नै रोकेको संयोजक सरावगीको भनाइ छ ।
“बन्द हड्ताल र अघोषित नाकाबन्दीका कारण आयातकर्ताले एजेन्टलाई रकम बुझाउन सकेका छैनन्’ उनले भने । कोलकाताबाट नेपालका लागि हिँडेका सयौँ ट्रक र कन्टेनर सीमा नाकामा अड्किएका छन् । अहिले वीरगन्ज नाकाका लागि स्थलमार्गबाट आएका करिब दुई हजार ५०० कन्टेनर र सोही सङ्ख्यामा ट्रक बाटोमा रोकिएका आयातकर्ताको भनाइ छ ।