काठमाडौं। जेठ १९ अर्थात् आउँदो बुधबार देशभरी कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ।
नेपालको इतिहासमा पहिलो पटक हुनलागेको र फरक ढङ्गले हुनलागेको सो निर्वाचनमा कर्मचारी युनियनलाई औपचारिक प्रचारप्रसार गर्नको लागि आइतबारदेखि नै रोक लगाईसकिएको छ। यस्तो अवस्थामा कर्मचारीहरू मोबाइलफोन र इमेल तथा फेसबुकबाट आफ्नो प्रचारप्रसारमा लागिरहेका छन्।
यसै सन्दर्भमा नेपाल निजामति कर्मचारी युनियनका उर्जा मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष शालिकराम भण्डारी भने प्रचारप्रसारबाट नभई युनियनले आफ्ना सटिक एजेण्डा लिएर अगाडि जानु पर्नेमा यसरी धारणा व्यक्त गर्दछन्ः–
निजामती कर्मचारी देख स्थायी सरकारका प्रतिनिधि भनिन्छ र हो पनि तर धेरै सरकार भएपछि त्यसमा पनि साना र ठूलाको कुरा हुन्छ। स्थायी सरकार भनेपनि मन्त्री तथा प्रधानमन्त्रीको निर्णयमा चल्नेहामीहरू नै कतिपय समस्यामा रहेको कुरा सबैले स्वीकार्न सक्ने कुरा नै हो।
हामीमा रहेका यस्तै समस्या र समस्याका कारण कर्मचारीमा देखिएको नैराश्ताको प्रत्यक्ष असर कर्मचारीको कार्यप्रस्तुतीमा पर्ने र कार्यप्रस्तुतीको सीधा असर सम्पूर्ण नेपालीमा पर्ने भएकोले पनि सबैभन्दा पहिले हामीले कर्मचारीको हिनताबोध हटाउने काममा लाग्नुपर्छ।
कर्मचारीको हितमा कर्मचारी दिवसको दिन प्रभातफेरि गरेर मात्रै कुनै परिवर्तन हुनेवाला छैन। यसको लागि हामीले कर्मचारीको भावना बुझ्नुपर्ने देखिन्छ।त्यसको लागि कर्मचारीको मित्री समस्या बुझ्नुपर्ने हुन्छ।
त्यसको लागि नेपाल निजामती कर्मचारी युनियनले यस्ता कुराहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्नेछ।
१. समग्र देशको राजनीतिक स्थिरता र पारदर्शितामा बृद्धि
युनियनले राजनीतिक स्थिरता र पारदर्शिताको लागि आफूले सीधा भूमिका निर्वाह गर्न नसकेपनि कर्मचारी प्रशासनलाई सीधा राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नको लागि सक्दो प्रयास गर्नुपर्ने आवश्यकता रहेको छ।
२. सीमित व्यक्तिको निहित स्वार्थको लागि नीति निर्माण एवं संशोधन गर्ने प्रवृत्ति
यो प्रवृत्ति पछिल्लो समय ब्यापक हाबी हुँदै गईरहेको छ। हुनतः विकाशेन्मुख मुलुकमा यस्तो प्रवृत्ति धेरैतिर दोहोरिने गरेको कुरा पनि धेरै सुनिन्छ। तर आफ्नो निहीत स्वार्थमा कर्मचारीको मनोबल गिर्नेगरी नीतिनिर्माण एवं संशोधन गर्ने प्रक्रियालाई हामीले अन्त्यगर्नु आवश्यक रहेको छ।
३. माथिल्लो निकायको दबाब
त्यस्तै माथिल्लो निकायको दबाबका कारण हामी कर्मचारीहरू सधैं हतोत्साहित हुनेगरेका छौं। हामीले आफू स्वतन्त्र भएर काम गर्न नपाउने र माथिका कर्मचारीहरूको दबाबमा परेर काम गर्नुपर्ने अवस्थाले गर्दा हामी यति पीडित हुनेगरेका छौं कि यसलाई हामीले समयमा नै समाधान गरेनौं भने कर्मचारीहरूको मानसिकतामा नै नकारात्मक असर आउने पक्का छ। त्यसैले युनियनले सबैभन्दा महत्वका साथ यसलाई पनि हेर्नुपर्ने आवस्था रहेको छ।
४. कर्मचारीको वृत्तिविकास निश्चित र पारदर्शी मापदण्ड
वृत्तिविकास पनि कर्मचारीहरूको कार्य सम्पादन बढाउने गतिलो हतियार हो। यसको पारदर्शिता र यसमा निश्चितता नहुने हो भने यसमा पनि मनोमानी बढ्ने निश्चित रहेको छ। त्इसैले पनि युनियनले यो निर्वाचनमा कर्मचारीको वृत्तिविकासुमा विशेष ध्यान दिने छ।
५. कर्मचारीको दक्षता, क्षमता, ज्ञान र सिपको आधारमा जिम्मेवारी प्रदान
कर्मचारीको सिप भन्दा पनि आफूलाई सहज हुने क्षेत्रमा आफ्ना नजिकका कर्मचारीलाई सरूवा गर्ने प्रवृत्तिले गर्दा हाम्रो प्रशासनिक सुधारमा समेत समस्या सिर्जना गराईरहेको छ। त्यसले गर्दा कुनैपनि माथिल्लो निकायको कर्मचारीले आफ्ना निकटस्थहरूलाई क्षमताविहीन र आकर्षक ठाउँमा राख्न नपाउने व्यवस्था मिलाउन पनि आवश्यक रहेको छ। यसमा हामी युनियन पक्षधरहरूले प्राथमिकताका साथ प्रस्तुत हुनु पर्दछ।
६. पुरस्कार र दण्डको समुचित प्रयोग
अहिलेको निजामति प्रशासनमा राम्रो काम गर्ने लाई उचित पुरस्कार र नराम्रो काम गर्नलाई दण्डको व्यवस्था गरिएको छैन। यसले गर्दा राम्रालाई उत्साह र नराम्रालाई हतोत्साह जगाउनको लागि यसको आवश्यकता पर्दछ। यो अहिलेको वार्षिक एउटा पुरस्कारको भन्दा पनि कार्यसम्पादनको आधारमा उचित पुरस्कारको लागि हामीले पहल गर्नुपर्छ।
७. नवप्रवेशी कर्मचारीको आवश्यक भन्दा बढी महत्वाकांक्षा हुनु
कुनैपनि कर्मचारीले प्रवेश गर्नेवेलामा जस्तो महत्वाकांक्षा राखेर प्रवेश गरेको हुन्छ त्यो महत्वाकांक्षालाई पूरा गर्नको लागि हामीले आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ। यसमा हामीले उनीहरूको लागि आवश्यक स्रोतको पूरा गर्ने एजेण्डा पनि आफ्नो चुनावी घोषणामा ल्याएका छौं।
८. उचित र पर्याप्त पारिश्रमिक सुविधा तथा भत्ताको व्यवस्था
कर्मचारीहरूको तलब बढ्यो भनेर सबैले वाहवाही गर्दै आएका छन्। तर, यत्तिको तलबले सरकारी कर्मचारीले गर्ने खर्च कति ? सरकारी मात्रै होईन निजी कर्मचारीले पनि तलब भनेको पर्याप्त पाउनुपर्छ। अरूले भन्छन् सरकारी जागिरे भनेर तर आफ्नो घर खर्च पुर्याउन पनि समस्या भयो भने त्यहाँ कसैगरी पनि काममा आफ्नो क्षमता कर्मचारीले बृद्धि गर्न सक्दैनन्। त्यसैले म त भन्छु उचित पारिश्रमिकको लागि युनियन लडिरहेको छ र लडिरहने पनि छ।
९. ट्रेड युनियन आवद्ध रहेका र नरहेका कर्मचारीलाई व्यवस्थापनबाट समान व्यवहार
अहिले ट्रेडयुनियनमा आवद्ध मानिसहरूलाई र आवद्ध नभएका मानिसहरूलाई कर्मचारीहरूले गर्ने व्यवहारमा आकाश र जमिनको फरक रहेको छ। यसलाई हामीले न्यूनीकरण गर्नु आवश्यक रहेको छ। कुनैपनि कर्मचारी आफूलाई मन नलागेर कुनैपनि ट्रेड युनियनमा आवद्ध छैन भने पनि उसलाई जवर्जस्ती नगर्ने तथा अन्यले गर्ने व्यवहारमा पनि समानता ल्याउनु आवश्यक रहेको छ।