arrow

केपी र पीकेको साँढे जुधाई कहिलेसम्म ?

logo
मनोज कँडेल,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
oli-prachanda.gif.gif

विडम्बना नै भन्नु पर्ला नेपालमा राजनीति यतिसम्म दुर्गन्धित हुन पुग्यो कि आज राजनीति र नेताको विषयमा आमजनता कुरा गर्न रुचाउँदैनन् । देश विकासको लागि यि विषय सुन्न नचाहनु पनि झन अभिसाप हुने देखिन्छ नै । यो २० बर्षको प्रजातान्त्रीक व्यवस्थाको उतारचढावले नेपाली राजनीति यसरी धुमिलियो की अपवित्र कर्म नै राजनीति भन्ने अबस्था सिर्जना हुन पुग्यो । विशेष गरि २० देखी ३० बर्षको युवाहरु चरम निरास देखिए ।

नेपालको मुल राजनीतिक नेतृत्व व्यक्तिगत महात्वकांक्षा र पारिवारीक व्यवस्थापनमा लागे पछि आशा पनि कसरी गरुन । वास्तबमा राजनीति देशको समग्र व्यवस्थापनको मुल हो । यसकारण पनि राजनीति शुद्ध हुन जरुरी छ । जब राजनीति अशुद्ध हुन्छ आर्थिक रुपमा अपारदर्शिता, सैद्धान्तिक रुपमा गैरजिम्मेवारीपन र व्यवहारीक रुपमा तानाशाही प्रबृतिले मलजल पाउछ । आज नेपालको मुल राजनीतिक नेतृत्व यिनैबाट घेरिएकाछन् । यिनले बनमाराले अन्नबाली उम्रन नदिए जस्तै सुसासन, कानूनी शासन, जिम्मेवारी, नैतिकता लगाएत सबै राम्रा पक्षहरुलाई उम्रन दिएका छैनन र मूल नेतृत्व तानाशाही रोमाञ्चक यात्रामा रमाउन पुगेकोछ ।

मार्क्सले भनेका थिए “प्रत्येक समयका शासकहरुको विचार शासक वर्गहरु जस्तै हुन्छन ।” यिनै आर्दश बाक्यहरु पढेका र पढाएका केपी र पीके आज शासकको रुपमा उभिएकाछन् । तर मार्क्सले भने जस्तै उनीहरुको विचार र व्यवहार त्यही हिजोका शासक भन्दा पटक्कै फरक छैन । प्रजातान्त्रीक प्रणालीको स्थापना पछिको त्यो २० बर्ष नेपालमा सत्ता माथिको साँढे जुधाई डरलाग्दो नै रह्यो । एक बर्ष नपुग्दै सत्ता परिबर्तन भए । राजनिती पूर्णत देश र जनताप्रति केन्द्रीत हुन सकेनन् । राजनीतिक प्रणाली त परिबर्तन भएपनि आर्थिक पक्षलाई अगाडि बढाउन सकिएन । सुशासन र कानुनी शासनको खिल्ली उड्यो भने देशमा भ्रष्टाचार “राजनितीक संस्कृती”को रुपमा स्थापित हुन पुग्यो ।
 
यस विच यो अबस्था हुनुमा राजनीतिक पार्टीले स्पष्ट बहुमत कुनै पार्टीमा नहुनु हो भन्ने आमरुपमा स्थापित गरे, आम जनताले स्वीकार समेत गरे । फलस्वरुप संविधान पछिको पहिलो चुनावमा जनताले कम्युनिष्ट गठबन्धनलाई अत्यधिक बहुमत दिए र पहिलो पटक अत्यधिक बहुमत सहितको कम्युनिष्ट पार्टी सत्तासिन भयो र त्यसको नेतृत्व केपी कमरेडले गरे । तर बिडम्बना यो ३० महिनाको अबधिमा अध्यधिक बहुमत सहितको २ तिहाईको कम्युनिष्ट सरकारले हिजो गठबन्धन राजनीतिमा देखिएको सत्ताको फोहोरी खेल समेतलाई उछिनेको छ । यो अबस्था देशको विकास र संमृद्धीको यात्राको बीच ठूलो खाडलको रुपमा उभिएको छ, जुन खाडल पुर्न सायद अर्को दशक कुर्नुपर्ने हुन सक्छ । 

अब्राहन लिङ्कनले भनेका थिए – मानिसहरुले सामान्यतया आफ्नोलागी सबै दुखहरुलाई सहन सक्छ तर उसको आचरणको अग्निपरिक्षा गर्न उसको हातमा सत्ता दिनुस र हेर्नुहोस । हुन पनि नेपालको कम्युनिष्टहरुको आन्दोलनलाई नियाल्ने हो भने र आज सत्तासिन कम्युनिष्ट शासकहरुको आचरण हेर्ने हो भने अब्राहन लिङ्कनको यो भनाई हाम्रा नेताहरुलाई भने जस्तै स्पष्ट छ । नेताहरु जो आज सत्तासिन छन् उनीहरुको इतिहास हेर्ने हो भने जेल, नेल, झेल सहेर, जंङ्गलदेखी भुमिगत आन्दोलन गरेर, जीवनलाई दाउमा राखेर जनताको नाममा राजनीति गरेका होनाहार देशभक्त देखिन्छन् । कसरी पत्याउने यिनीहरुले भ्रष्टाचार गर्लान भनेर ? सत्ता, पद र पैसाको लागी यसरी साँढे जुधाई गर्लान भनेर कसरी मान्ने ? 

एक तस्कर र अपराधीले पनि पैसा कमाउनको लागी जस्तोसुकै परिस्थितीलाई पनि स्विकार गरेको हुन्छ । ति तस्करहरुलाई थाहा छ उनीहरु कुनै पनि बेला पक्राउ पर्नेछन, कुनै पनि बेला इन्काउन्टरमा मारिनेछन तर उनीहरु उनीहरुको त्यो आपराधीक सत्ता जोगाउन र सत्ता चलाउन सबै जोखिमलाई आत्मसाथ गर्दछन र आपराधीक दुनियाँमा मस्त रहन्छन । आज हाम्रा नेताहरुले हिजो आन्दोलनको नाममा दाउमा राखेको ज्यान र ति अपराधीले आपराधीक दुनियाँ संचालनको लागी दाउमा राखेको ज्यानमा के भिन्नता रह्यो ? कसरी मान्ने उनीहरुले देश र जनताको लागी भनेर त्यो हन्डर खाएका थिए ? त्यो राजनितीक लडाई लडेका थिए ?

नत्र हिजो उनीहरुले देखाएको त्यो आर्दश, सर्बहाराको शासन, देश, जनता, सुसासन र जनउत्तरदायित्व कहा पुग्यो ? के उहाँहरुको जेल बसाईको सावाँ व्याज सात पुस्तासम्मलाई पुग्ने गरि कमाउन र सत्ता र भत्तामा मोजमस्तिको लागी देशले दिनुपर्ने हो र ? हो भने हिजोकै राजतन्त्रलाई पाल्दा भयो नी ? कम्तीमा एक परिबार त थियो यो देशलाई थेग्न पनि सजिलो हुनेछ ।

कोभिडको कारण एक छाँकको लागी सयौ निरिह जनताहरु सडकमा लाम लागिरहेको यस अबस्थामा सांसद, मन्त्री, कर्मचारीहरुले दशैंको भत्ता खाने जुन आँट यि सर्बहाराहरुले गरेका छन यो कम्युनिष्ट सिद्धान्त र व्यवहारको ठाडो बलात्कार नै हो । यिनलाई कति चाहिने हो ? कति खाए पछि यिनले डर्कालान ? आन्तिरिक ऋृण उठाएर कोभिडले थलिएको यस बिषम परिस्थितीमा कम्तीमा भत्ता नखाएर त्यही भत्ताको पैसा ति सडकमा एकछाकको लागी लाम बस्नेलाई दिन किन सक्दैन ? अब कसरी यो सर्बहाराको कम्युनिष्ट सरकार भयो ?

यहा स्पष्ट लागु हुन्छ अब्रहान लिङ्कनको भनाई, हिजोका आदर्शहरु कम्यूनिष्टहरुले सत्ताको लागी फालेको कार्ड थियो र हिजोका यिनका जेलनेल पनि यहि सत्ताको लागी लगाएको बाजी थियो । जब सत्ता हात पर्यो सबै आचरण, सिद्धान्त र व्यवहार स्वत परिबर्तन भए । मार्क्सले भने जस्तै उहाँहरु पनि अब शासकमा परिबर्तन हुनु भयो त्यसकारण स्वत उहाँहरुको विचार, सोचाई पनि शासकिय हुन पुग्यो । 

कोभिडले देशको आर्थिक अबस्था थिलथिलो भएको छ, बेरोजगारले जनताहरु एकछाकको लागी तडपिनु पर्ने अबस्था छ, आम नागरिकहरुको व्यापार व्यवसाय लगभग धारासायी हुने अबस्था छ, हरेक क्षेत्रमा भ्रष्टाचारले संस्कारको रुप लिएको छ । सडकमा खानको लागी भिख माग्नेहरु बढेका छन् । स्थानियदेखी केन्द्र सरकारसम्म बेथिती बढेकोछ । सत्ता संचालकहरु र कर्मचारीहरुको तलबको लागी सरकार आन्तरिक ऋृण लिन बाध्य भएकोछ ।

तर केपी र पीके सरकारको १०० दिनको हनिमुन समाप्तीसँगै सरकार र पार्टीमा कसरी कब्जा गर्ने दाउँमा ३० महिना बित्दा समेत मुसा र विरालोको खेल खेलिरहेका छन् । यो ३० महिनामा १२ चोटी त मन्त्रीमण्डल पुर्नगठन भएकोछ । केपी र पीकेवीच सयौ पटक बैठक भए होलान तर मात्र पद र भागबण्डा बाहेक कुनै विषय नै प्रबेश पाएन । केही नेकपाका नेताहरुले देश र जनताको पनि बिषय कतै घुसाउनु होला भन्ने सल्लाह समेत दिनु परेको छ । यसरी देश र जनताको सेवामा समर्पित हुनु पर्ने मुल नेतृत्व केपी र पीके कर्तव्यबिमुख मात्र देखिएनन् आफ्नाले गरेको भ्रष्टाचारदेखी सबै नैतिकहिन कामहरुलाई स्वाबासी दिने काम गरिरहेका छन् । यो नेपालको इतिहासमै देखिएको देश र जनताप्रतिको उपहास हो भने राजनीतिक बेइमानीको पराकाष्ठा हो ।

अन्तमा, आम जनताहरु आज यहि सत्ताको साँढे जुधाईको अन्तको पर्खाइमा रहेकाछन् र सोधिरहेकाछन् केपी र पीकेको यो सत्ता लडाई कहिलेसम्म ? वास्तवमा नेपालको राजनीतिक शुद्धताको सुरुवात नै यहि साँढे जुधाईको अन्त्यको सुरुवातबाट हुनु जरुरी छ । 



नयाँ