काठमाडौं। नेपाल निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन आउँदै गर्दा निजामती सेवामा भर्खरै प्रवेश गरेका सोझा कर्मचारीहरूमाथि एमाले निकट कर्मचारी संगठनले अनावश्यक रूपमा आफ्नो संगठनलाई भोट हाल्न चर्को दबाब दिने गरेको बताएका छन्। सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठनले आफू निकटको दल सरकारमा रहेको भन्दै आफूलाई भोट नहाले तल्लो तहको निकायमा सरूवा गरिदिने र भोट हालेको खण्डमा राम्रो ठाउँमा सरूवा गरिदिने भन्दै आतंक मच्चाएको एम पीडित कर्मचारीले जानकारी दिए।
अर्थमन्त्रालयको विभागीय कार्यसमिति अन्तर्गत्का ती कर्मचारीका अनुसार कार्यालयमा आएर संगठनका नेताहरूले सुरूमा आफूलाई भोट दिन आग्रह गर्ने गरेका छन्। उनीहरूले त्यसको लागि सरकारले आफ्नो पहलमा २५ प्रतिशतसम्म तलब बढाएको र सेवासुविधा थप गर्नको लागि आफू कर्मचारीको पक्षमा रहेको भन्दै भानेट माग्ने गरेका छन्। ‘त्यससँगै तपाईहरू नयाँ हुनुहुन्छ, राम्रो ठाउँमा सरूवा हुनुछ भने संगठनमा भोट हाल्नूस् हामी तपाईँलाई सहयोग गर्छौ होईन भने सरूवा बढुवा विगार्न भनेपनि हामी पछि पर्दैनौं भन्दै कर्मचारीहरूलाई आतंकित गराउने गरेको आरोप विभिन्न कर्मचारीहरूले लगाउने गरेका छन्।
नयाँ कर्मचारी मात्रै नभएर कुनैपनि कर्मचारी संघमा आवद्ध नभएका कर्मचारीहरूलाई समेत यसैगरी धम्काउने गरेको भेटिएको छ। तर केही कर्मचारीहरूले भने यसरी आउने कर्मचारीलाई ‘तिमीहरूको पनि त सरकार कतिदिन टिक्ने हो र ? सकेको गर तर यस्तो धम्की चल्दैन’ भनेर जवाफ फर्काएका छन्। राजश्व अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीले आफूले यसरी आउने कर्मचारीलाई तिम्रा सरकार धेरैदिन टिक्दैन भन्ने जान्दाजान्दै यस्ता कुरा नगर्न चेतावनी दिएको बताए।
आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकिएसँगै सबै कर्मचारीहरू पछिल्लो समय व्यापक प्रचारप्रसारमा लागिरहेका छन्। आइतबार साँझदेखि औपचारिक रूपमा प्रचारप्रसार गर्न रोक लगाएको भएपनि टेलिफोन, इमेल तथा अन्य सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नेको संख्यामा भने कमि आएको छैन।
अधिकृत तहका कर्मचारीदेखि नायव सुब्बा, खरदार हुँदै पियन तहका कर्मचारीहरूसम्मले मतदान गर्न पाउने सो निर्वाचनबाट चयन हुने आधिकारीक नेतृत्वले अधिकृत तहभन्दा माथिका कर्मचारीको सरूवा तथा बढुवामा समेत प्रत्यक्ष भूमिका रहने भएकोले यो विषयलाई राजनीतिक दलहरूले समेत आफ्नो प्रतिष्ठाको विषय बनाएर परिणाम आफ्नो पक्षमा पार्नको लागि कसरत गरिरहेका छन्।
सो निर्वाचनको लागि संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सामान्य प्रशासन मन्त्री समेत बनिसकेका पूर्ण बहादूर खड्कालाई पार्टीको तर्फबाट सहयोगीको रूपमा खटाएको छ भने नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईलाई सो चुनावमा खटाएको छ।
यसरी निर्वाचनमा होमीएका संगठनहरूमा थ्रेसहोल्डको व्यवस्था गरिएकोले केही संगठनहरूले यो प्रक्रियाप्रति असन्तुष् जनाएपछि पटकपटक यो निर्वाचन स्थगित हुँदै आएको थियो। पूर्ण रूपमा संगठनहरूबीच मात्रै हुने यस्तो निर्वाचनमा पाँच पदाधिकारी सहित २१ सदस्यको लागि अहिले चारवटा कर्मचारी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ।
यसरी चुनाबी मैदानमा उत्रिएकाहरूमध्ये सबैभन्दा बढी मत ल्याउने संगठनलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेलाई महासचिव, तेस्रो हुनेलाई उपाध्यक्ष र चौथो हुने संगठनलाई सचिव पद दिईने छ। सदस्यहरूको टुङ्गो भने कर्मचारीहरूले प्राप्त गरेको मतको आधारमा विभाजन गरिनेछ।
कूल ५५ हजारको हाराहारीमा मतदान गर्ने कर्मचारी रहेको सो निर्वाचनमा २२ हजार भन्दा बढी मत काँग्रेस निकट कर्मचारी संगठनमा रहेको बुझिन आएको छ। आपसी गठबधनको सम्भावना नरहेको सो निर्वाचनमा धेरै कर्मचारी हुनेलाई कम कर्मचारीहुनेहरू मिलेर पाखा लगाउने सम्भावना देखिँदैन। किन भने थ्रेसहोल्डको न्यूनतम मत पनि नल्याएमा आफ्नो कर्मचारी संगठन नै खारेज हुने सम्भावना बढ्ने भएकोले पनि गठबन्धनको सम्भावना देखिँदैन।