गुणस्तर पुरा नगर्ने जगदम्बाको तीनसय टन फलामे रड नष्ट
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
584
Shares
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरुप उत्पादन नभएको तीनसय टन फलामे रड नष्ट गरेको छ । विभागले जगदम्बा स्टिल प्रालि बाराद्धारा उत्पादित १६ एमएम साइजको फलामे डण्डी नेपाल गुणस्तर अनुरुप नभएपछि बजारमा पठाएको र उद्योगमा रहेको तीनसय टन फलामे रड बिहिबार नष्ट गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बा स्टिल प्रालिबाट उत्पादित १६ एमएमको फलामे डण्डी नेपाल गुणस्तर अनुरुप नरहेकाले उत्पादित डण्डीलाई सङ्कलन गरी नष्ट गरिएको जानकारी दिए ।
विभागले असोज ४ गतेदेखि कात्तिक २ गतेसम्म उक्त डण्डी नष्ट गरेको हो । विभागले गरेको बजार अनुगमनका क्रममा उक्त डण्डी नेपाल गुणस्तर अनुरुप नभएपछि भदौ २६ मा नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।