arrow

खोजमूलक निबन्धात्मक कृति "माङखिम" ले नयाँ तथ्य उजागर गरेको छ : लेखक राई

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Mangkhim.jpg.jpeg
इलाम बाँझोका सचित राई राजधानीमा रहेर पत्रकारिता पेसामा क्रियाशील छन् । ‘पूर्व जाने हो...’ गीति एल्बम, ‘नयाँ नेपाल’ अन्तर्वार्ता सँगालो र ‘अर्को भ्रम’ कविता संग्रह प्रकाशन गरिसकेका सचितले हालै खोजअनुसन्धानमूलक निबन्धात्मक कृति ‘माङखिम’ बजारमा ल्याएका छन् । साहित्यमा सक्रिय उनी लेखन र सम्पादनमा दख्खल राख्छन् । यिनै युवा लेखकसँग गरिएको ‘माङखिम’ केन्द्रित कुराकानी ।।    
 
–माङखिमलाई कसरी बुझ्ने हो ?
शब्दको हिसाबले भन्नुपर्दा किरात राई बान्तवा भाषामा माङ (पितृ) र खिम (घर) जोडिएर माङखिम अर्थात् पितृघर भएको हो । विधागत हिसाबबाट मैले यसलाई निबन्ध संग्रह भनेको छु । यद्यपि, यी परम्परागत निबन्ध भने होइनन् भन्ने लागेको छ, प्रतिक्रिया पनि त्यस्तै प्राप्त भइरहेको छ । खोजअनुसन्धानमूलक लेखहरू समेटिएका छन् यसमा । त्यसो भएको हुँदा यसलाई खोजअनुसन्धानमूलक निबन्धात्मक कृति भन्दा हुन्छ होला । माङखिमको लाक्षणिक अर्थका हिसाबले भन्नुपर्दा यो ब्रह्माण्डलाई नै लिन पनि सकिन्छ । भौगोलिक दृष्टिले हाम्रो देश नेपाल पनि एउटा माङखिम नै हो ।  
 
–यो कृतिको जन्म कसरी भयो ?
सुरुमा म पहिचानसम्बन्धी लेखहरूको संग्रह प्रकाशनको सोचमा थिएँ । राष्ट्रगानका रचयिता व्याकुल माइलाको सल्लाहसुझावबाट म ‘माङखिम’सम्म आइपुगेको हुँ । कवि-निबन्धकार दीपक सापकोटाको पनि साथ सहयोग रह्यो । किताबको नाम ‘आत्मनिर्णय’देखि ‘पानीढलोको बाटो’ हुँदै ‘माङको घर’सम्म जुरेको थियो ।
 
 प्रकाशन संयोजनका क्रममा यो कृतिको पाण्डुलिपि ‘माङको घर’कै नामबाट इलाम समाज हङकङसम्म पुगेको थियो । आर्थिक पक्षको जोहो इलाम समाज हङकङले नै गरेको हो, उसको सहयोगबिना यो कृति अहिले नै यो स्तरमा प्रकाशन सम्भव थिएन । त्यही क्रममा पुष्पा लोहोरुङ र अशोक बान्तवाले ‘माङखिम’ बनाउन सल्लाह दिनुभयो । सुरुमा मलाई यो नाम ठीकै मात्र लागेको थियो, सल्लाहसुझाव नमान्नु निको लागेन । अहिले आएर भने एकदम राम्रो गरिएछ भन्ने महसुस भइरहेको छ । माङखिम शब्द उच्चारण गर्नासाथ किरात मुन्दुमी संस्कार–संस्कृतिको छायाचित्र आँखामा आइहाल्छ ।   
 
–यो कृतिको प्रकाशन र अहिलेको अवस्थामा कसरी तादात्म्य मिलेको छ भन्न सकिन्छ ?
पछिल्लो समय पहिचानको मुद्दा राजनीतिको केन्द्रमा रह्यो । साहित्यमा पनि पहिचानकै विषयवस्तुले फरकपन दिन थालेको छ । हुन त पहिचान भन्नुबित्तिकै कसैले नाक खुम्चाइहाल्नुपर्ने र कसैले नाक फुलाइहाल्नुपर्ने अवस्था पनि बन्यो । हामीले आफैंकहाँ लुकेर रहेका विषयलाई उजागर गर्नु आजको आवश्यकता हो 
। मैले राजनीतिक मात्र होइन, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका ‘सीमान्त विषय’लाई ‘माङखिम’मा समेट्ने प्रयत्न गरेको छु । यसलाई हामीले पुनव्र्याख्याको अवधि भन्न सक्छौं । अर्कातर्फ भूकम्पले ठूलो जनधनको क्षति पुर्‍यायो, त्यसले हाम्रो सोचमा पनि परिवर्तन ल्यायो होला भनेको त भ्रम मात्र रहेछ । हामीलाई भूकम्पले होइन, हामीबाटै निर्मित भौतिक संरचनाले मार्छ भन्ने पाठ यति चाँडै बिर्सिसकेछौं । यस्ता विषय पनि समेटिएका छन् । 
 
–तपाईंले जनजाति फिगर र जनजाति संस्कार–संस्कृतिबारे लेखेको भन्ने पनि यदाकदा सुनिन्छ, के भन्नुहुन्छ तपाईं ?
बजार चर्चा त जे पनि हुन सक्छ । यद्यपि, म त्यसलाई बेवास्ता गरिरहन भने सक्दिनँ, कुनै पनि लेखकले त्यसलाई ध्यान दिनुपर्छ । किनभने, लेखक-स्रष्टालाई स्वस्थ आलोचनाले अघि बढ्न मद्दत नै पुर्‍याउँछ । तर, कतिपय आलोचना भने पूर्वाग्रही पनि हुन्छन् भन्ने बिर्सनु हुँदैन । जहाँसम्म मेरो लेखन जनजातिकेन्द्रित भयो भन्ने कुरा छ, त्यसो भएको पनि होला ।
 
 भौगोलिक हिसाबले पूर्व (त्यसमा पनि इलाम जिल्लाकै) परेकै पनि होलान् । तर, यसमा मेरो कुनै पूर्वाग्रह छैन, आग्रहसम्म हुन सक्छ । किनभने, मैले जसका जे विषय उठान गरेको छु, सबै राष्ट्रिय महत्वका छन् । कुनै जाति, भाषा, धर्म, संस्कृति, भूगोल, समुदायको मात्र हितको कुरा होइन कि यी विषय राष्ट्रकै हितमा छन् । सचितले जनजातिकै लागि मात्र लेख्यो भन्नेले लेखेर देखाओस् न सबैका लागि, कस्तो लेख्दो रहेछ  ? अनि मात्र म त्यसलाई स्वस्थ आलोचना भन्छु । समाजको फरक पाटोको उठान गर्दा जोखिम हुन्छ नै, त्यसकै रूप पनि हुन सक्छ यस्ता आलोचना । मेरो लेखनलाई परम्परावादी चस्माले हेर्नुभयो भने त्यस्तै देखिएला । 
 
–भौगोलिक रूपमा तपाईं किन इलाममा मात्र केन्द्रित हुनुभयो ?
मेरो लेखन इलाममा केन्द्रित हुनु त स्वाभाविक छ । मैले जाने–बुझेकै इलामलाई हो । जहाँ म जन्में–हुर्कें, लामो समय बिताएँ, त्यो ठाउँको बारेमा नलेखी अरूको कसरी लेख्न सक्छु ? नलेख्ने भन्ने त होइन, मैले अमेरिकाको कल्पना गरेर लेख्ने कुरा भएन । आफ्नो लेखनलाई विश्वसनीय बनाउनुपर्छ । मेरै गाउँठाउँमा त्यत्रा प्रतिभा रहेछन्, चिनाउनुपर्ने कुरा थुप्रै रहेछन्, मैले त्यसलाई पाठकसम्म ल्याउने जमर्को गरेको हुँ । खासगरी, समाजमा फरक पाटोका रूपमा रहेका कुरालाई दस्तावेजीकरणको प्रयास हो ‘माङखिम’ । 
 
–तपाईंले ‘माङखिम’का विषयवस्तु राष्ट्रिय महत्वका छन् त भन्नुभयो, आधार के ?
रामप्रसाद राई, जो २००८ सालदेखि बेपत्ता भयो भनिएको छ । उनी प्रजातन्त्र स्थापनाका लागि नेतृत्वदायी पंक्तिमा रहेर लडेका थिए । गोर्खा सैनिकबाट फर्किएर नेपाली सेनामा (मिलिसिया)मा जागिर खाएर राणा–दरबार सम्बन्धलाई नजिकबाट नियालेका उनले तत्कालीन अवस्थामा राणा शासनको विरोधमा लागेकाहरूसँग पुलको काम गरेका थिए । किनकि, उनी राजा त्रिभुवनसँग निकट सम्बन्धमा रहेको देखिन्छ, सेनामा जागिर भएकै कारण उनलाई त्यो अवसर मिलेको थियो । पछि दिल्ली सम्झौताबाट असन्तुष्ट उनले रक्षा दललाई साथमा लिएर सिंहदरबार विद्रोह गरेका थिए । 
 
बन्दुकको नालबाट सत्ता जन्मन्छ भन्ने सिद्धान्त लिएर सशस्त्र द्वन्द्वमा होमिएको माओवादीले त सिंहदरबार कब्जा गर्न सकेन, त्यस बेलै रामप्रसादको नेतृत्वले त्यो काम गरेको थियो । यो विषय उजागर गर्दा २००७ सालको क्रान्तिको फरक पाटो आउने रहेछ । रत्नकुमार बान्तवा नेकपा (माले)का संस्थापक सदस्य हुन् । हत्या भएको झन्डै ३८ वर्षपछि हालै उनलाई सहिद घोषणा गरेको छ । उनका बारेमा खोजमूलक लेख छ । सरस्वती राई, जो महिला आन्दोलन/जागरणकी अगुवा हुन् । उनी राजसभा स्थायी समितिकी पहिलो महिला सदस्य थिइन् । त्यस्तै, मेरै गाउँठाउँ चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्द राष्ट्रिय विभूति हुन्, उनकै विषयमा पनि थुप्रै कुरा लेखिन बाँकी छ ।



नयाँ