arrow

भगवान बन्न कति गाह्रो हुन्छ? गोञ्जालो, प्रचण्ड र बाबुरामलाई सोध

logo
रवि पौडेल,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
baburam-bhattrai-jpg.jpg.jpeg

नेपालमा मात्रै होइन संसारैभरि जनताको परिवर्तनको आकांक्षालाई केही व्यक्तिले आफ्नो गौरवगाथा निर्माणमा दुरुपयोग गरेका उदाहरण छन्। अझ यसो भनौं– सर्वसाधारणको परिवर्तनका आकांक्षामाथि टेकेर केही मानिसले आफूलाई मान्छेबाट भगवानमा परिणत गरेका धेरै उदाहरण विश्व इतिहासमा छन् । त्यसको पछिल्लो उदाहरण पेरुका अविमायल गुजमान ‘गोञ्जालो’ र नेपालका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई हुन् ।

डा. अविमायल गुजमान दर्शनका प्राध्यापक थिए । भन्नै परेन– उनी डा. बाबुराम भट्टराईजस्तै विद्यावारिधि पनि थिए । तिनै डा. अविमायल गुजमानको नेतृत्वको पेरु कम्युनिस्ट पार्टी(साइनिङपाथ) ले सन् १९८०को दशकमा सुरु गरेको जनयुद्धमा ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । साइनिङपाथ पनि माओवादी विचारद्वारा अभिप्रेरित क्रान्तिकारी पार्टी थियो । भनिन्छ– सन् १९९० को दशकको शुरुवातसम्म आइपुग्दा पेरुका ती माओवादीहरु राजधानी लिमालाई घेराबन्दी गर्न सफल भइसकेका थिए । एकाएक सन् १९९२ डा. अविमायल गिरफ्तारीमा परे । अविमायलपछि एकजनाबाहेक साइनिङपाथका सबै पोलिटब्यूरो सदस्य गिरफ्तार भए ।

गोञ्जालोको गिरफ्तारीपछि नेपालमा गोञ्जालो बचाउ अभियान चलेको थियो । छोरी सहित डा. बाबुराम भट्टराई दम्पत्तीको एउटा पारिवारिक तस्विरको पृष्ठभूमिमा तिनै गोञ्जालो छन् । युनिभर्सिटी अफ लण्डनको बिर्वेक कलेजमा आधुनिक चीनको प्राध्यापक समेत रहेकी जुलिया लभेलले ‘माओवादः एक विश्वइतिहास’ शीर्षकको एक पुस्तकमा डा. भट्टराईको अनुमति लिएर उक्त तस्विर छापेकी छिन् ।

नेपालमा गोञ्जालोलाई क्रान्तिका नायकका रुपमा धुवाँदार प्रचार भइरहँदा गोञ्जालोले भने फुजिमोरीसित आत्मसमर्पण गरिसकेका थिए । उनमा ‘स्टकहोम सिन्ड्रम’ देखिएको थियो । स्टकहोम सिन्ड्रम एउटा यस्तो मानसिक हालत हो जसमा यातना पाउने व्यक्तिले आफूलाई यातना दिने व्यक्तिकै प्रशंसा गर्न थाल्छ । गोञ्जालोलाई कति यातना दिइयो दिइएन त्यो त अझसम्म प्रस्ट छैन । तर, गोञ्जालो फुजिमोरीको खोरमा थिए । उनले त्यही दुश्मनको खोरभित्र पोलिटब्यूरो वैठक आयोजना गरे । नयाँ दस्तावेज लेखे र शान्तिवार्ताको आह्वान गरे । जेल बाहिर उनका अनुयायीलाई फुजिमोरीले कत्लेआम गर्‍यो । गोञ्जालोका लागि क्रान्ति भनेकै आफू र आफू भनेकै क्रान्ति थियो । आफू नै जेल परिसकेपछि अब कुनै क्रान्तिको औचित्य थिएन । व्यक्तिवादका सगरमाथा थिए गोञ्जालो । उनले एउटा तुच्छ जीवनका लागि हजारौंको बलिदानबाट अगाडि बढेको क्रान्ति साटिदिए ।

मान्छेहरु गोञ्जालोलाई भगवान ठान्थे । गोञ्जालोले आफूले आफैलाई भगवान बनाएका थिए । उनको विचार माक्सवाद–लेनिनवाद–माओवादपछिको क्रान्तिको चौथो तरबार थियो । आखिरमा त्यो तरबार कर्कलाको रहेछ । फुजिमोरीको जेल परेपछि मात्रै त्यो थाहा भयो ।

यता नेपालमा प्रचण्ड र डा. भट्टराईले आफैले विस्तारवादी भनेको भारतको भूमिबाट शान्तिवार्ताको प्रस्ताव लिएर नेपाल आए । उनीहरुले गणतन्त्र स्थापनाका लागि लिएको उक्त कदम शायद उनीहरुले आफ्नो जीवनमा लिएका थोरै सही निर्णयमध्ये एक थियो । उनीहरु सत्रहजार नेपालीको रगतको भेल तरेर गणतन्त्रसम्म आएका थिए । तर, मानिसको ज्यान जानु उनीहरुका लागि ठूलो कुरो थिएन । त्यो क्रान्तिका लागि बुझाउनुपर्ने कोटा थियो । त्यस्तो कोटा उनीहरुले आफैंले भने बुझाउनु पर्थेन । उनीहरु त भारतका सहरमा आफूलाई सुरक्षित राखेर देशभित्र युद्धका लागि निर्देशन दिइरहेका थिए । उनीहरु मर्नका लागि जन्मिएका थिएनन् । उनीहरु त रगतको भेल तरेर सिंहदरबार छिर्ने दाउमा थिए शायद ।

गोञ्जालो जस्तै गिरफ्तार परेको भए प्रचण्ड र भट्टराईले के गर्थे? के भन्थे? आज आएर त्यसबारे एकिन गरेर भन्न गाह्रो छ । किनकि, उनीहरुको शरीरमा काँडाले पनि कोतर्नु परेन । तर, आत्मकेन्द्रीत व्यक्तिवादले मानिसलाई कहाँ पुर्‍याउँछ भन्ने कुराका बलियो उदाहरण हुन् गोञ्जालो ।

शान्तिप्रक्रियापछि प्रचण्ड र डा. भट्टराई पालैपालो प्रधानमन्त्री भए । प्रधानमन्त्री पदका लागि उनीहरुले के छोडेनन्? आफ्नो प्रधानमन्त्री पद जोगाउन डा. भट्टराईले जनमुक्ति सेनाको शिविरमा भएको रकम हिनामिनाप्रति आँखा चिम्लिए । रामहरि श्रेष्ठको हत्यामा प्रचण्ड र कालिबहादुर खामले गरेको घिनलाग्दो हर्कत नदेखेजस्तो अभिनय गरिदिए । श्रेष्ठसँगै गिरफ्तार गरेर चरम यातना दिएर मरणासन्न बनाइएका रघु र एटम भन्ने व्यक्तिलाई तेस्रो डिभिजनभित्र सुरुङ् खनेर लुकाए । अदालतमा उनीहरु नै अभियुक्त भएको नक्कली बयान दिन लगाए, बटाला थर भएका कमाण्डरलाई । आफ्नै कमरेडहरुमाथि यस्तो जघन्य अपराध हुँदा पनि माओवादीका सबै तैं चुप मैं चुप थिए र छन् । रघु र एटम भन्ने व्यक्तिलाई प्रलोभन र धम्की दिएर अदालतमा उपस्थित हुन दिइएको छैन । गोरखा क्षेत्र नं. १ का सांसद हरि अधिकारीले रघुलाई नक्कली नागरिकता उपलब्ध गराइदिएका छन् । पोस्ट बहादुर बोगटी आयोगले रघु र एटम भन्ने व्यक्तिलाई निर्दोष साबित गरेको थियो । उनीहरुलाई तत्कालिन माओवादीभित्र सफाई पनि दिइयो तर त्यो प्रतिबेदन कहिल्यै सार्वजनिक गरिएन ।

पूर्व माओवादी पंक्तिमा अन्यायमा परेको आफनै साथीका पक्षमा उभिने ह्याउ भएको एकजना पनि छैन । उनीहरुले न्यायको गफ हाँकेको देख्दा मलाई वाकवाकी आउँछ । डा. बाबुराम भट्टराईले जनयुद्धबाट आएका कार्यकर्तालाई पाखा लाएर करिश्मा मानन्धरहरुलाई नेता बनाउन खोजे । डा. भट्टराई र उनकी पत्नीका तर्क सुन्दा पनि जरा तताउने खालका छन्– उनीहरु आफू त्यही आन्दोलनबाट आए पनि शान्तिपूर्ण राजनीतिमा काम लाग्ने । तर, तलका तिनैले प्रशिक्षित गरेका कार्यकर्ताले राजनीतिमा होइन, अरबको मरुभूमिमा भविष्य खोज्नुपर्ने ।

आज डा. भट्टराई वर्षको कुनै एकदिन जनयुद्धका सहिदको स्मरण गर्न आवश्यक ठान्दैनन् । दस्तावेजमा नै व्यक्तिहत्याको नीति प्रवेश गराउने र केन्द्रीय एवम् प्रान्तीय समितिहरुबाट व्यक्तिहत्याका निर्णय गराउने प्रचण्ड र भट्टराई आज यस्तो अभिनय गरिरहेका छन् कि मानौं हिंसाको राजनीतिको सुरुआत गर्ने त्यतिबेलाका बालसेना थिए । कसरी सत्य निरुपणको फन्दाबाट आफूलाई जोगाउने र निर्दोष कार्यकर्तालाई फसाउने यतिमा नै नेताद्वय र उनका आसेपासेको ध्याउन्न छ ।

प्रचण्डको त के कुरा गर्ने । प्रचण्ड परिवारमा अहिले मारामार छ । दुई दुईपटक प्रधानमन्त्री हुँदा कमाएको र युद्धताका भारतमा सम्धीको नाममा जम्मा गरेको त्यो अकुत सम्पत्ति कसले कब्जा गर्ने भनेर दुई छोरी रेनु र गंगा र बुहारी बिनाबीच पानी बाराबारको स्थिति रहेको छ । भगवानहरु मान्छे भएपछि कति घिनलाग्दा देखिदा रहेछन् आज प्रस्ट भएको छ । प्रचण्ड र बाबुरामलाई हेरे थाहा हुन्छ, मान्छेलाई भगवान हुन कति गाह्रो हुन्छ । 



नयाँ