बस काउण्टरमा काम गरिरहेका बलबिर परियारलाई विहानै खुकुरी हाने नेकपा कार्यकर्ताले
कांग्रेसले गर्यो बिरोध
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
533
Shares
काठमाडौं। रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका वडा नं. ८ घर भई हाल वडा नं. ९ राडी बजारमा रहेको सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिको काउन्टरमा काम गर्ने नेपाली कांग्रेसका क्रियाशील सदस्य बलबिर परियारलाई नेकपा कार्यकर्ताहरुले मरणासन्न हुनेगरि सांघातिक आक्रमण गरेकोमा कांग्रेसले भत्सर्ना गरेको छ।
परियारलाई कार्तिक १५ गते विहान ५ बजे काउण्टरमा काम गर्दे गरेको अवस्थामा नेकपा निकट युवा संघका सदस्य रवि बुढाको नेतृत्वमा आएको करीब १० जनाको समूहले खुकुरी, रड जस्ता धारिला हतियार प्रयोग गरी मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ती निकाली निन्दा एवं भत्सर्ना गरेका हुन्।
दशैंको बेलामा यात्रुहरुको आवतजावतमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका बलबिर परियारमाथिको आक्रमणले त्यस क्षेत्रमा नेकपाले त्रासको माहौल बनाउन खोजेको कांग्रेसले जनाएको छ । आफ्नो कार्यक्षेत्रमा खटिएर नागरिक सेवा गर्दै आएका निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना गर्ने यस घटनामा संलग्न युवा संघका आपराधिक मनोवृत्तिका उच्छृङ्खल व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कार्वाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।