काठमाडौं । बुधबार देशभर भएको कर्मचारी निर्वाचनहरूको मत परिणाम भटाभट आउन थालेको छ । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीमध्ये ९५ प्रतिशत भन्दा बढीले भाग लिएको सो निर्वाचन विहान ९ बजेदेखि सुरू भएर साँझ ५ बजे चलेको थियो । जसमा रातभर मतगणना गर्ने बताईएको निर्वाचन मत परिणामको राती नौ बजेसम्म हामीलाई प्राप्त विवरणहरूको सारांश प्रस्तुत गरिएको छ ।
जसमा निजामती कर्मचारी युनियन र संगठनबीच कडा प्रतिस्पर्धा भईरहेको छ । निर्वाचनको प्राप्त मत परिणाम अनुसार दाङ मा भएको सिविए निर्बाचनमा युनियन(संघ) ४५५ मत ल्याएर विजयी भएको छ भने निजामति कर्मचारी संगठन २४० र राकसले ७९मत ल्याएको छ। दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ । सम्पन्न ऐतिहासिक निर्वाचनमा दोलखामा नेपाल निजामती कर्मचारी संगठनले १ सय ८१ नेपाल निजामती कर्मचारी युनियन (संघ)ले ९८, नेपाल राष्टिय कर्मचारी संगठनले ९५, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले २ र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले ७ मत ल्याएका छन् ।
त्यस्तै, सिन्धुली जिल्लामा नेपाल निजामती कर्मचारी संगठनले २ सय २६, नेपाल निजामती कर्मचारी युनियन (संघ) १ सय ४५, नेपाल राष्ट्रिय कर्मचारी संगठन ३० र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र ५ र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले ३७ मत ल्याएका छन् । त्यसैगरी, सिन्धुपाल्चोक जिल्लामा नेपाल निजामती कर्मचारी संगठनले १ सय ८८, नेपाल निजामती कर्मचारी युनियन (संघ) ले १ सय २५ नेपाल राष्ट्रिय कर्मचारी संगठनले ४८ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ८ मत पाएको छ भने नेपाल मधेशी निजामती कर्मचारी मञ्चले चार मत पाएको छ ।
काभ्रेमा भएको कर्मचारीको आधिकारीक ट्रेड युनियनको चुनाबमा काङ्ग्रेस निकट कर्मचारी युनियन संघ २५१ मत ल्याउदै प्रथम, एमाले निकट कर्मचारी सङगठन २३२ मत ल्याउदै दोस्रो र नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठन निजामती ४० मत ल्याउदै तेस्रो भएको छ। आधिकारीक ट्रेड युनियन लमजुङ शाखामा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ) १५९ मतका साथ बिजयी भएको छ भने एमाले निकट नेपाल निजामती कर्मचारी संगठन १३२, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन ४६, स्वतन्त्र कर्मचारी मिलन केन्द्र २२ र मधेशी कर्मचारीले १६ मत ल्याएका छन। ललितपुरमा एमाले निकट संगठन ५२८ काँग्रेस निकट युनियन ४०८ र माओवादी निकट राकसले १३४ मत ल्याएका छन्।
जिल्लागत विवरणकै कुरा गर्दा निर्वाचनमा रोल्पामा नेपाल निजामती कर्मचारी युनियन संघ ५२ मत अन्तरले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । जस अन्तर्गत नेपाल निजामती कर्मचारी युनयन संघले १४२, नेपाल निजामती कर्मचारी संगठनले ९०, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ६६ ,राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ३, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ६ मत प्राप्त गर्न सफल भएका छन् ।
नेपाल निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनमा बझाङ जिल्ला बाट नेपाल निजामति कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठनले १६६ मत ल्याएर विजयी भएको हो । यसका साथै कर्मचारी युनियन संघले ११७ मत र राष्टिय कर्मचारी संगठन २५ मत र मधेशि कर्मचारी संगठनले ३ मत ल्याएको थियो । ३५० कर्मचारी मतदाता संख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्बाचन अधिकृत मोहनि प्रसाद जोशीले जानकारी दिए ।
त्यस्तै, रुकुममा नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघ विजय भएको छ । जम्मा खसेको ३ सय ६२ मत मध्ये युनियन संघले १ सय ६३ मत ल्याएको छ । जिल्लामा दोस्रो हुने नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले १ सय ३ मत र नेकपा एमाले निकट नेपाल कर्मचारी संगठनले ८२ मत र नेपाल मधेसी निजामति कर्मचारी संघले ५ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ । विहान ९ बजेदेखि सुरू भएको निर्वाचनमा ९ मत बदर भएको बताइएको छ।
त्यस्तै, जाजरकोटमा पनि कर्मचारी संगठन विजयी भएको छ । संगठनले १ सय २५ मत प्राप्त गरेको हो । त्यसैगरी कर्मचारी युनियनले १०१ मत ल्याएर दोस्रो भएको छ भने राष्ट्रिय कर्मचारी संगठनले २५ मत ल्याएर तेस्रो भएको हाम्रा सहकर्मीले जनाएका छन् । जसमा जम्मा २५५ मत खसेको थियो ।
अर्को तर्फ विभागीय कार्य समिति अन्तर्गत् सर्वोच्च अदालत र कानून, न्याय तथा संसदीय मामिलामा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ । आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा सर्वोच्च अदालतमा रहेको कूल मत मध्ये संगठनले १ सय ४३, युनियनले, १ सय १ र राष्ट्रिय कर्मचारी संगठनले ९० मत ल्याएको छ भने ६ मत बदर भएको छ ।
त्यस्तैगरी, कानून न्याय तथा संसदीय मामला मन्त्रालयमा पनि संगठनले विजय हाँसिल गरेको छ । मन्त्रालयमा रहेको कूल ६२ मत मध्ये संगठनको ३९, युनियनको १३, कर्मचारी संगठन निजामतीको ८ र २ मत बदर भएको छ ।
गृह मन्त्रालय र शहरी विकास मन्त्रालयमा काँग्रेसी कर्मचारीहरू विजयी भएका छन् । गृह मन्त्रालयमा रहेको कूल ३३९ मतमा काँग्रस निकट युनियनले १ सय ६६ मत ल्याएको छ भने एमाले निकट संगठनले १ सय ३०, राष्ट्रिय कर्मचारी संगठनले २७ मत ल्याएको छ युनियनका महासचिव जीत बहादुर मडैले जानकारी दिए ।
त्यस्तैगरी , शहरी विकास मन्त्रालयमा पनि युनियनले विजय हाँसिल गरेको छ । शहरी विकासमा कूल खसेको १ सय ९ मत मध्ये युनियनको ५४, संगठनको ४३, राष्ट्रिय कर्मचारी संगठनको ९ र मधेशी मञ्चको २ मत आएको छ भने १ मत बदर भएको अध्यक्ष शहरी विकास मन्त्रालयका नायबसुब्बा बालकृष्ण दाहालले जानकारी दिए।
उता, सिंचाई मन्त्रालयमा काँग्रेसी कर्मचारीहरू विजयी भएका छन्। बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा सिंचाई मन्त्रालयमा निजामती कर्मचारी युनियन संघले विजय हाँसिल गरेको छ। सिंचाईमा कूल खसेको १ सय ६० मत मध्ये युनियनले ७३, संगठनले ७१, राष्ट्रिय कर्मचारी संगठनले ९ र मधेशी मञ्चले ३ मत पाएको सिंचाई विभागका इन्जिनियर कमल प्रसाद सिटौलाले जानकारी दिए।
महान्यायाधिवक्ताको कार्यालयमा कूल खसेको ८३ मतमध्ये एमाले निकट कर्मचारी संगठनले ४४, काँग्रस निकट युनियनले ३३, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनले ५ मत ल्याएको छ भने १ मत बदर भएको संघका सर्वाेच्च अदालत विभागीय कार्यसमितिका अध्यक्ष भुवनप्रसाद घिमिरेले जानकारी दिए।
अर्काेतर्फ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सूचना तथा सञ्चारमा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ। निर्वाचनमा प्रधानमन्त्री कार्यालयमा कूल खसेको मत मध्ये संगठनले १ सय ७३ मत प्राप्त गरी विजयी भएको छ भने युनियनले ६७ मत प्राप्त गरेका छन् । राष्ट्रिय कर्मचारी संगठनले २५ मत ल्याएको छ।
त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयमा पनि एमाले समर्थित संगठनले नै बिजय हासिल गरेको छ। सञ्चार मन्त्रालयमा संगठनले १ सय २८ मत ल्याएर बिजयी भएको भने कांग्रेस समर्थित युनियनले ८८ मत ल्याएर दोस्रो भएको छ । राष्ट्रिय कर्मचारी संगठनले १९ मत प्राप्त गरेका छन्।
महिला तथा बालबालिका र निर्वाचन आयोगमा एमाले निकट कर्मचारीहरूले विजय हासिल गरेका छन् । आयोगमा कूल खसेको मत मध्ये एमाले निकट संगठनले ४६, काँग्रेस निकट संघले ४० र राष्ट्रिय कर्मचारी संगठनले ११ मत ल्याएको छ।
त्यस्तैगरी , महिला तथा बालबालिका मन्त्रालयमा पनि संगठनले विजय हासिल गरेको छ। उक्त मन्त्रालयमा खसेको कूल ९२ मतमा संगठनले ४८, युनियनले २०, राष्ट्रिय कर्मचारी संगठन निजामतीले १६ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १ मत पाएको छ भने ५ मत बदर भएको संघकी विभागीय अध्यक्ष कल्पना ढुङ्गानाले जानकारी दिईन्। निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको निर्वाचनको मतपरिणाम जारी छ।
योजना आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काँग्रेस निकट कर्मचारीहरूले विजय हाँसिल गरेका छन् । योजना आयोगमा कूल खसेको १ सय ७० मत मध्ये काँग्रस निक युनियनले ९६, एमाले निक संगठनले ६२, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ३, राष्ट्रिय कर्मचारी संगठनले ८ मत ल्याएको छ भने तीन मत बदर भएको छ ।
त्यस्तैगरी , अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि युनियनले विजय हाँसिल गरेको छ । अख्तियारमा कूल खसेको १ सय ५४ मत मध्ये युनियनले ९९ संगठनले ४६, माओबादी केन्द्र निकट कर्मचारी संगठन निजामतीले ७ र मधेशी मञ्चले २ मत पाएको छ । जसमा ५ मत बदर भएको युनियन संघका अध्यक्ष सुदर्शन चालिसेले जानकारी दिए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको थियो । त्यस्तै गरी महिला आयोगमा भने एमाओबादी निकट संगठन निजामतीले विजय हाँसिल गरेको छ । जसमा खसेको कूल २३ मत मध्ये निजामतीले १२, युनियनले ८ र संगठनले ३ मत पाएको संघका विभागीय अध्यक्ष शशी शंकर महर्जनले जानकारी दिए । अन्यत्रको मतपरिणाम पनि आउने क्रम जारी छ ।
निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको मतदानमा स्थानीय विकास मन्त्रालय विभागीय समितिमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ। उसले कूल खसेको २३२ मत मध्ये ११६ मत ल्याएको छ।
त्यसैगरी, दोस्रो हुनेमा नेपाल निजामती कर्मचारी युनियन (संघ)ले ९१ भोट पाएको छ, तेस्रो हुनेमा राष्ट्रिय कर्मचारी सङ्गठनले १६ मत र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ४ मत र स्वत्रन्त्र कर्मचारी मिलन केन्द्रले २ मत ल्याएको छ भने बाँकी ३ मत बदर भएको संघका विभागीय अध्यक्ष पदमप्रसाद अधिकारीले जानकारी दिए। अन्यत्रको मतपरिणाम पनि आउने क्रम जारी छ।
त्यस्तै, उर्जा तथा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय विभागीय समितिमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ। उसले कूल खसेको १२६ मत मध्ये ७६ मत ल्याएको छ। त्यसैगरी, दोस्रो हुनेमा नेपाल निजामती कर्मचारी युनियन (संघ)ले ४० भोट पाएको छ, तेस्रो हुनेमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ३ भोट तथा राष्ट्रिय कर्मचारी सङ्गठनले १ भोट ल्याएको छ भने बाँकी ६ भोट बदर भएको संघका विभागीय अध्यक्ष सोमनाथ गौतमले जानकारी दिए।
उता उर्जा मन्त्रालय विभागीय कार्य समिति तर्फ पनि एमाले निकट संगठनले पहिलो स्थान हासिल गरेको छ। कुल खसेको एक सय १६ मत मध्ये संगठनले ५३ मत र संघले ४६ मधेशि संगठनले ५ र माओवादी निकटले २ मत र ४ मत बदर भएको संघका विभागीय अध्यक्ष शालिग्राम भण्डारीले जानकारी दिए।
निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ । यसैबीच, पाँचथरमा मतपत्रमा अर्धकट्टीको नम्बर भेटिएपछि विवाद भएको छ । विवादका कारण रोकिएको मतदान अपराह्न ५ बजे मात्रै सुरु भएको छ । ढिला गरी मतदान सुरु भएका कारण साँझ ६ बजेसम्म मतदान गर्न दिने व्यवस्था गरिएको थियो ।