काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा म्याग्दीमा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले जित हात पारेको छ । बुधवार सम्पन्न मतदानमा कुल खसेको ३ सय १८ मतमध्ये नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सबैभन्दा धेरै १ सय ७३ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले ९५ मत ल्याएर दोस्रो र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ४२ मत ल्याएर तेस्रो बनेको जिल्ला निर्वाचन अधिकृत खेमप्रसाद पाठकले जानकारी दिए । निर्वाचनमा मधेसी मञ्चले ३ मत ल्याएको थियो भने ५ मत बदर भएको थियो ।
त्यस्तै, ताप्लेजुङमा पनि संगठनले युनियनलाई भारी मतले पराजित गरेको छ । त्इहाँ कूल खसेको ३ सय १८ मत मध्ये संगठनको १ सय ४२, युनियनको ७५, राष्ट्रिय कर्मचारी संगठनको ५४, मधेशी मञ्चको १३ र स्वतन्त्र कर्मचारी मिलन केन्द्रको २२ मत आएको कोलेनिका ताप्लेजुङका लेखापाल मातृका प्रसाद नेपालले जानकारी दिए ।