काठमाडौँ। नेकपा (एमाले) स्थायी कमिटीको शनिबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भन्दै सरकार परिवर्तनमा अमेरिकालगायत मित्रराष्ट्रलाई आरोपित गर्दौ प्रकाशन गरिएको समाचारको पार्टीले खण्डन गरेको छ।
केही सञ्चार माध्यममा अमेरिका र भारत सरकार परिवर्तनमा लागेको भन्ने प्रधानमन्त्री ओलीको धारणा थियो भन्ने समाचार मित्रराष्ट्रसँग नेपालको सम्बन्धलाई बिगार्ने सुनियोजित उद्देश्यले प्रेरित देखिएको एमालेले जनाएको छ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणमा हाम्रा मित्रराष्ट्रको सदैव सद्भाव रहँदै आएको र विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्यमा प्राप्त अन्तर्राष्ट्रिय सहयोग, पुनःनिर्माणमा व्यक्त उदारमना सहायता एवम् संविधान कार्यान्वयनमा निरन्तर समर्थनले नेपाललाई कठिन समयमा पनि अगाडि बढ्ने भरोसा प्राप्त भएको उल्लेख गरिएको छ।
यस्तै, वर्तमान सरकार संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका निम्ति छिमेकी मित्रलगायत सबै मित्रराष्ट्रबाट अझ फराकिलो साथ र सहयोग प्राप्त हुने विश्वासका साथ सहकार्यमा रहेको सन्दर्भमा केही समय अगाडि देखा परेका कैयौँ असहजता पनि समाप्त भएर सम्बन्धको नयाँ आयाम प्रारम्भ भएको एमालेले जनाएको छ। रासस