arrow

बर्षेनी महिला हिंसाविरुद्धको अभियान चले पनि अझै हटेन छाउप्रथा

छाउगोठको विकल्प नहुँदा झन समस्या

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
humla-women.jpg

हुम्ला। देशभर १६ दिने महिला हिंसाबिरुद्धको अन्तर्राष्ट्रिय अभियान चलिरहँदा हुम्ला सहितका पश्चिम नेपालमा अझै छाउपढी प्रथा हट्न सकेको छैन्। पटक पटक छाडपढी विरुद्धको अभियान सञ्चालन हुँदा पनि जिम्मेवार व्यक्ति र निकायहरुको बोली र व्यवहार फरक हुँदा  छाडपढी प्रथाको अबस्था उस्तै रेहको खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर राबलले बताएका छन्।

पहिले भन्दा केही घटेपनि अझै छाउपढी प्रथा कायमै रहेको स्वीकार गरेका अध्यक्ष रावलले  भने, 'पहिले जस्तो घरघरमै छाउगोठ नभए पनि अहिले पनि महिलाले छाउ हुँदा घरभित्र बस्ने अवस्था भने छैन। यसो हुनुको मुख्य कारण यो कुप्रथा बिरुद्ध जिम्मेवार ब्यक्ति तथा निकायको बोली र ब्यबहार फरक भएर यसले दिनप्रतिदिन जरा गाडेको हो।'

कानुनमा छाउ प्रथालाई बढावा दिनेलाई राज्यबाट जाने सेवा सुविधा रोक्ने कानूनी ब्यवस्था भएपनि त्यस बारेमा जनप्रतिनिधि नै अनभिज्ञ देखिएका छन्। त्यतिमात्रै गाउँपालिकाले छाउ गोठ भत्काउने अभियान पनि सञ्चालन गर्यो तर यो सरकारको निर्देशन पालना गर्नका लागि देखाबटी मात्र भयो। दुई वर्ष अगाडि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा छाउ गोठको अनुगमन गर्ने र छाउगोठ भेटीएमा भत्काउने अभियान सञ्चालन गरिएको भएपनि त्यसले निरन्तरता पाउन सकेको छैन। अहिलेसम्म जिल्लामा कति छाउगोठ भत्काइयो त्यसको तथ्यांक  नत गाउपालिकासँग छ न त जिल्ला प्रशासन कार्यालयसँग।

सरकारी निर्देशन भए पनि कर्मचारी अभाबका कारण योकाम गर्न नसकेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको भनाई छ। कर्मचारीकै अभावले हाल यस्ता बिकृति बिसङ्गति बिरुद्ध कदम चाल्नै नपाएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा एक जना प्रमुख जिल्ला अधिकारी र एक जना खरिदारबाट दैनिक सेवा प्रबाह हुदै आएको छ।

अब छाउगोठ भत्काउने कर्मचारी पनि त चाहियो होला नि । हामी आफै कार्यालय सम्हाल्ने कि छाउगोठ भत्काउने ?' प्रजिअ गिरीले जनशक्ति र स्रोत अभावका कारण प्रशासनले सरकारले ल्याएका सामाजिक बिकृति बिरुद्ध ल्याएका सुधारका प्रयासलाई कार्यान्वयनमा ल्याउन नसकेको बताए।

गाउँपालिका र प्रहरी प्रशासनले महिनाबारी हुने महिलाहरु छाउगोठ भत्काए पछि कहा बस्ने त्यसको दिगो ब्यबस्थापन नै नगरि छाउगोठ भत्काएकाले गाउँमा महिनावारी हुने महिलालाई झन समस्या भएको स्थानिय महिला अगुवाहरु गुनासो गर्न थालेका छन्। पछिल्लो समय केहि सहज भएको भए पनि गाउँमा न त पुरानो संस्कार तोडेर घर भित्र नै गएका छन् न त बाहिर बस्ने नै ठाउँ छ यसले गर्दा हुम्लाका महिला झन समस्यामा पनेका महिला अगुवा बिजया बुढाले बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ