पोखरा। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लिएर एमाले जनताको माझमा जाने बताएका छन्।
कम्युनिष्ट आन्दोलनका अग्रज योद्धा बलराम उपाध्यायको १२ औँ स्मृति दिवसका अवसरमा आज आयोजित प्रवचनलाई सम्बोधन गर्दै उनले आव २०७३-७४ को बजेटले नयाँ नेपाल निर्माणको खाका तयार गर्ने दाबी गरे।
अहिलेको गठबन्धन टुट्न नदिन एमाले नेतृत्व अघि बढेको बताउँदै उनले साझा सहमति र एकता गर्न पार्टी कटिबद्ध भएको विचार व्यक्त गरे।
एमालेका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले स्व उपाध्याय सरल र गहन विचारका धनी हुनुहुन्थ्यो भने। एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले एमालेको अगुवाइमा संविधान कार्यान्वयन गरी देशलाई समृद्ध बनाउने काममा अघि बढ्न सबै पार्टी कार्यकर्तालाई आग्रह गरे। रासस