काठमाडौं । माओवादीका पुर्व नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन हुन लागेको नयाँ शक्ति नेपालको घोषणा कार्यक्रमलाई लिएर माओवादी घटकहरुमा अहिले टाउको दुःखाई भएको छ । आफ्नो पार्टीमा भविश्य नदेखेर कार्यकर्ताहरु पनि नयाँ शक्ति तर्फ लाग्ने हुन् की भनेर माओवादी नेताहरुलाई टाउको दुखाई भएको हो ।
नयाँ शक्ति पार्टीमा अहिले सम्म अधिकांश माओवादीकै कार्यकर्ताहरु गएका छन् भने केही अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि गएका छन् । घोषणा सभाको कार्यक्रम ठुलो र भव्य भयो भने अन्य कार्यकर्ताहरुमा पनि नयाँ शक्ति प्रतिको आकर्षण बढ्न गई कार्यकर्ताहरु नयाँ शक्ति तर्फ लाग्ने क्रम बढ्ने खतरा माओवादी नेताहरुले देखेका छन् ।
आफ्ना कार्यकर्ताहरु नयाँ शक्ति नेपालको कार्यक्रममा सहभागी हुन नपाउन र कार्यक्रममा सहभागीता पनि न्युन गराउनका लागि के गर्न सकिन्छ भनेर अहिले माओवादीहरुले विभिन्न उपायहरु सोचिरहेका छन् । त्यस्तै मध्येको एउटा उपाय आएको छ, नयाँ शक्ति नेपालको कार्यक्रमसंग जुझाउने गरी अर्को कार्यक्रम गर्ने ।
बैद्य माओवादी र विप्लव माओवादी दुवैमा यसका बारेमा आन्तरिक चर्चा भएपनि कार्यक्रम गरिहाल्ने मनस्थीतिमा भने उनीहरु पुगेका छैनन् । तर नेकपा माओवादी केन्द्रमा भने यस बारेमा गंभिर रुपमै केही नेताहरुले कसरत गरिरहेको एमाओवादीका एक केन्द्रीय सदस्यले हाम्राकुरालाई जानकारी दिए ।
उनले भने, “हामीले कुनै हालतमा त्यस दिन कार्यकर्तालाई इङगेज गर्नेगरी कुनै न कुनै कार्यक्रम गर्नै पर्छ, नत्र केन्द्रीयस्तरका नेताहरु पनि त्यस कार्यक्रममा जाने र उनीहरुका कुरा सुनेर बहकीएर उतै लाग्ने संभावना अत्याधिक छ, केन्द्रीयस्तरका त बहकीने संभावना छ भने तल्लो तहका कार्यकर्ता त नबहकीने कुरै छैन, त्यसैले त्यो कार्यक्रमसंग जुध्नेगरी केही न केही कार्यक्रम गर्नै पर्छ भनेर सचिवालयका नेताहरुलाई पटक पटक भनेका छौं ।”
उनले आफुहरुको प्रस्तावमा नेताहरु सकारात्मक पाएको पनि बताए । तर समय धेरै वाँकी नभएकाले धेरै कार्यकर्ता भुलाउने के कस्तो कार्यक्रम तत्काल गर्न सकिएला त भनेर नेताहरुले सोचिरहेको उनले दावी गरे । “त्यो दिन केही न केही कार्यक्रम त हुन्छ हुन्छ, सकेसम्म काठमाडौंमा नै, नत्र काठमाडौं बाहिर भएपनि केही कार्यक्रम गरिछाड्ने भन्ने चाही भएको छ,” उनले थप प्रष्ट पारे ।
नयाँ शक्तिको कार्यक्रमका अवसरमा २, ३ सय कार्यकर्ता उता गएपनि त्यो आफुहरुका लागि दोहोरो घातक हुने उनको बुझाई छ । “उनीहरु जाँद एक त हाम्रो पार्टी सानो हुन्छ, अर्को उनीहरुको आकार बढ्छ, अनि कार्यकर्ताका विचमा नयाँ शक्ति तिर जाने माहौल बन्न सक्छ, यो एकदमै खतरनाक छ । यस बारेमा केही न केही त सोच्नै पर्ने भएको छ,” ति नेताले चिन्ता व्यक्त गरे ।
नयाँ शक्ति नेपालको घोषणा सभा यही जेठ तिस गते काठमाडौंको दशरथ रंगशालामा हुदैछ । कार्यक्रममा अत्याधिक सहभागीताका लागि नयाँ शक्ति नेपालका तर्फबाट डा. भट्टराईले नै अभिनय र आह्वान गरेको विज्ञापन संचार माध्यम तथा समाजिक संजालहरुमा फिँजायईएको छ । कार्यक्रममा उनीहरुले कम्तीमा एक लाख जनता सहभागी हुने दावी गरेका छन् । उनीहरुको तयारी हेर्दा जनताको सहभागीता उल्लेख्य नै हुने धेरैले अनुमान गरेका छन् ।