सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी एकता शहीद परिवार, बेपत्ता परिवार घाइते योद्धा र आम जनताको योगदानका कारण सफल भएको बताएका छन् । सुर्खेतमा आयोजित ६ नम्बर प्रदेशको एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यसो भनेका हुन् ।
दाहाले भने। ‘पार्टी एकताको यो ठूलो अभियान हो, माओवादी आन्दोलनलाई नयाँ ठाउँ र नयाँ निश्कर्षमा पुर्याउनै पर्दछ, यसको निम्ति हामी सबैले संकल्प गर्नै पर्दछ । हामी विभाजित हुँदा दुश्मनको मनोवल बढ्यो, जनता निराश भए ।’ उनले हरेक १० वर्षमा नयाँ संंकट श्रृजना भएको सुनाए ।
दाहालले थपे, ‘यदि नयाँ विचार सहितको नयाँ नेतृत्व नयाँ पार्टी छ भने त्यो संकटलाई क्रान्तिकारी तरिकाले सामना गर्न सक्दछ । देश समाजवादमा प्रवेश गर्दैछ र वैधानिक रुपले नै समाजवाद उन्मुख भनिएको छ ।’ बाबुराम भट्टाराईले अबको २५ वर्षमा नेपाललाई विश्वकै धनी मुलुक बनाउने सपना सुनाए जस्तै दाहाले अबको १० वर्ष माओवादी आन्दोलनको एकीकरण र केन्द्रिकरणको वर्ष बनाउने सपना सुनाए ।
उनले भने, ‘अबको १० वर्ष समाजवादी क्रान्तिको १० वर्ष हुनेछ । विश्वमा जति पनि कम्युनिष्ट क्रान्ति भएका छन् ती सबै छलाङमा भएका छन् । यि सबै छलाङमय क्रान्तिको ब्याज खाएर बस्ने मानिस कम्युनिष्ट हुनै सक्दैन ।’ उनले माओवादी एकता एक सुरुवात भएको बताए ।