arrow

महामानव वीपीप्रति सच्चा सम्मान र मेलमिलापको नीति 

logo
बलदेव तिमल्सिना, 
प्रकाशित २०७७ पुष १६ बिहिबार
baldev-timalsina3.jpg

आज राष्ट्रिय एकता र मेलमिलाप दिवस अर्थात् महामानव वीपी कोइरालालाई सम्झने दिन । महामानव वीपी कोइरालाप्रति भावपूर्ण श्रद्धांजली ।  तत्कालिन शासकले मृत्युदण्ड सुनाए पश्चात् प्रवासबाट महामानव वीपी कोइराला २०३३ सालमा आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किनु भएको थियो । मेलमिलापको नीतिनुरुप तत्कालीन समयमा सम्पूर्ण नेपाली राजनीतिक दलहरु र देश भित्रका सम्पूर्ण शक्तिहरु आपसमा मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने अवधारणा अगाडि सारिएको थियो । वर्तमान सरकारको असंवैधानिक र प्रतिगामी कदमले उत्पन्न राजनीतिक खिचातानीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठाडो प्रहार गरिएको र राजनीतिक द्वन्द्व शृजना गराई मूलबाटो विराएको आजको सन्दर्भमा ४५ वर्ष पुरानो नीति झनै सान्दर्भिक बनेको छ ।

२०६२–६३ पछि पहिचानको एउटा दौड नै शुरु भएको छ । पहिचानको यस दौडमा हामीले हाम्रो सामुदायिक, धार्मिक, भाषीक तथा भौगोलिक पहिचानको पैरवी त गर्यौं तर नेपालीपनको सकल पहिचान ओझेलमा परेको आभास बढ्दो छ ।

राजनैतिक पार्टी, समुदाय, सभ्यता, धर्म अनि भाषा लगायतका कुराहरुमा मेलमिलाप र सदासयताको भावना नेपाली जनमनमा कुन्ठित भएको आभास भैरहेको वर्तमान सन्दर्भमा  सबैमा राष्ट्रिय एकता र मेलमिलापको विगुल फुक्दै सबै नेपाली एक हौं  भन्ने भावना सर्वदा जिवित रहोस् । जीवन्त रहोस् । तराइलाई दुख्दा हिमालले सहयोग गरोस् । पहाडका घाउहरुमा हिमाल र तराई मिलेर ओखती गरुन् ।

नेपाल साँच्चै पनि एउटा स्वर्गको टुक्रा हो । मेलमिलाप र एकताको भावनाले यो अनुपम स्वर्गलाई अझै उज्यालो पार्नेछ । कम्युनिस्ट सर्वसत्ताबाद र अधिनायकवादी चरित्रले मुलुक अनिर्णयको बन्दी बनिरहेका बेला वीपी कोइरालाको स्मरण थप ताजा भएर आएको छ । ‘कुनै निर्णय गर्न कठिन भए देशको माटो मुठीमा लिएर निर्णय गर्नु’ भनेर वीपीले भन्नुभएझैं यतिबेला राजनीतिक दलका शीर्ष नेतृत्वले देशलाई केन्द्रमा राखेर, राष्ट्रियतालाई प्राथमिकतामा राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सही कार्यान्वयन गर्न सके वीपीप्रति सच्चा सम्मान हुनेछ ।

युग नेता वीपी कोइरालालाई नेपाली कांग्रेसको राजनीति अनि एउटा पार्टीगत छविबाट नहेरिकन राजनीतिक आग्रह पूर्वाग्रहबाट बाहिर निस्केर स्वतन्त्र नेपाली वैचारिक योद्धाका रुपमा नियाल्ने हो भने मेलमिलापको राष्ट्रिय नीति उहाँको महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ ।

वर्षमा १–२ पटक फोटोमा पूजा गरेर र नाम जप्दै भाषण गरेर मात्र होइन आजका दिनमा झनै सान्दर्भिक वीपी विचार र आदर्शलाई आत्मसात गर्दै मुलुक सामु देखापरेको कम्युनिस्ट सर्वसत्तावादको समुल अन्त गर्न र सबैखाले अतिवादको विरुद्ध सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने, सबैसँग मेलमिलाप र एकताबद्ध हुँदै देशलाई निकास दिन सक्ने, सिद्धान्तनिष्ट, स्पष्ट दृष्टिकोणसहित वर्तमानका हाम्रा सामु देखिएका सबैखाले चुनौतीको सामना गर्नसक्ने बलियो कांग्रेस निर्माण गर्नसक्ने शक्ति हामी सबैमा प्राप्त हुन सकोस् ।

हरेक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ। हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ जस्तो लाग्छ । राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास  र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ। तसर्थ  हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन्। 

हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो । जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन  र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा  बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान  र कार्यले मात्र  स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको  भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।

४५औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अबसरमा सबैमा हार्दिक शुभकामना !!! (लेखक नेविसंघका महामन्त्री हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ