arrow

मानवता हराएका मन्त्री साह

मन्त्री प्रभु साहको गाडीले पैदल यात्रुलाई ठक्कर दिएर भाग्यो, घाईतेको उपचार हुँदै

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
ghaite5.jpg

सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तरगत हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको जीप शहरी विकास मन्त्री प्रभु साहको भएको पुष्टी भएको छ । मन्त्री साहको जीपले लालबन्दी–८, चन्द्रपुर घर भएका अन्दाजी ३०/३५ वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो ।

प्रत्यक्षदर्शी हरिवनको सुकेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्वयवियु सभापति प्रज्वल ढुंगानाले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले ठक्कर दिने वित्तिकै आफूहरु दौडेर घाइतेको उद्धारतर्फ लागेको तर जीप भने भागेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए । ‘मन्त्री ज्यू चढेको जीपले ठक्कर दिएको रहेछ’, राठौरले भने, ‘दुर्घटनाबारे माथि जाहेर गरिसक्यौं,कम्मर र खुट्टामा चोट लागेका घाइतेको हरिवनमा उपचार भईरहेको छ ।’

मन्त्री साहरौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा उनी चढेको ना. १ झ ३८४२ नम्बरकोजीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 'अगाडी झण्डा फहराईरहेको थियो, गाडीको पूरै नम्बर हेरेर नोट गर्ने भन्दापनि हामीहरु तत्काल घाइतेको उद्धारतर्फ लाग्यौं’, ढुंगानाले ‘खाली ३८४२ नम्बर जस्तो देखियो, ठक्कर दिने वितिकै जीप रोक्दै नरोकी पूर्व हुँइकियो ।’

जीपले पौने १२ बजेतिर पैदल यात्रुलाई ठक्कर दिएको हो । मुलुकको मन्त्री जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाईतेको उद्धार लगायतमा सहभागि हुनुको सट्टा फरार भएर मानवीय संवेदना समेत नदेखाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।'

‘यो त कस्तो गैरजिम्मेवार प्रवृत्ति हो’, ढुंगानाले भने, ‘मन्त्री जस्तो मान्छे चढेको जीपले ठक्कर दिएपछि घाईतेको उद्धारमा लाग्नुको सट्टा भाग्नु भनेको गैरजिम्मेवारी र मानव संवेदनहिनताको पराकाष्टा हो ।’

यसअघी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि राजमार्गमा घाइतेहरुलाई सडकमा छोडेर हिडेको समाचारले सामाजिक संजालमा उनको चर्को आलोचना भएको थियो। यो प्रकरणमा मन्त्रीकै गाडीले यात्रुलाई घाइते बनाएर भागेपछि मन्त्री साहलाई कार्वाही हुनुपर्ने भन्दै चर्को विरोध भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ