arrow

पाकिस्तानमा रुसको प्रवेश, चीनलाई भयो तनाव

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
russia-china-putin-xi.jpg

काठमाडौं । लगानीका नाममा इस्लामीक मुलुक पाकिस्तानी बजारमा एक्लौटी कब्जा गरिरहेको चीनलाई चुनौती थपिँदै गएका छन् ।पाकिस्तानले जुलाइबाट रुससँग मिलेर एक हजार एक सय किलोमिटर लामो पाइपलाइन निमार्ण गर्ने भएको छ ।

यसले पाकिस्तानलाई लिक्युडिफाइड नेचुरल ग्याँसको थप टर्मिनल सञ्चालन गर्न दिने छ ।

यो परियोजनामा पाकिस्तानको ५१ देखि ७४ प्रतिशत बहुमत हिस्सा रहनेछ भने, बाँकी  लगानी रुसले गर्ने छ ।

पाकिस्तानी प्रधानमन्त्रीका पेट्रोलियम सल्लाहकार नदीम बाबरले गत डिसेम्बर १४ मा यस्तो बताएका हुन् ।

उनका अनुसार पाकिस्तानको ग्यास वितरक कम्पनी सुइ साउर्थन ग्यास कम्पनी र सुइ नोर्थन ग्यास पाइपलाइन लिमिटेडले पाइपलाइनका लागि जग्गा अधिग्रहण गर्न सुरु गरेको छ । यो परियोजनको जिम्मा भने रुसी कम्पनीले लिने छ ।

पाकिस्तान इन्धनको उदाउँदो बजारमध्येको एक हो । पाकिस्तानमा इन्धनको बजार बढ्दै जाँदा रुसले आफ्नो तेल र ग्यासको मुख्य बजार पाकिस्तानलाई बनाउँन खोजेको हो ।

पाकिस्तानमा अहिले २ एलएनजी टर्मीनल रहेका छन् । पाकिस्तानलाई थप दुई टर्मीनलको आवश्यक्ता रहेको छ ।

मुख्य रक्षा क्षेत्रको निर्यातकर्ताका रुपमा रहेको रुसलाई पुटिनले ग्यास र तेलको शक्तिकारुपमा समेत विकास गर्न खोजिरहेका छन् । पाकिस्तानसँगको यो पाइपलाइन रुसका लागि महत्वपूर्ण उपब्धि हुने छ ।

तर, पाकिस्तानमा रुसी लगानी भने चीनका लागि दोस्रो प्रतिस्पर्धीसँग सामना गर्नुपर्ने स्थिती जस्तै भएको छ ।

कुनै समय पाकिस्तान र चीन एक असल मित्र राष्ट्र भएपनि अहिले चीनले पाकिस्तानलाई निमर्म तरिकाले प्रयोग गरिरहेको छ ।

पाकिस्तानको भौगोलिक स्थितीका कारण यो चीनका लागि महत्वपूर्ण छ । भारतलगायत विभिन्न देशको व्यापारीक मार्ग पर्ने मलाक्काको जलमार्ग हुँदै चीनले अहिले आफ्नो उत्पादन बाहिर पठाउँछ र आयात भित्र्याउछ ।

अफ्रिका र युरोपतिर आफ्नो उत्पादन बेच्न एवं इन्धन भित्र्याउन अहिले चीनले १२ हजार किलोमिटर समुन्द्री मार्ग पार गर्नुपर्छ । चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिप्याक) बन्यो भने चीनले २ हजार किलोमिटर मार्ग पार गर्दै उक्त बजारमा पहुँच बनाउँन सक्छ ।

चीनको काश्गरबाट पाकिस्तानको ग्वादर बन्दरगाह जोड्ने यो मार्ग(सिप्याक)ले चीनलाई भविष्यमा आयात एवं निर्यातका लागि ठूलो फाइदा पुर्‍याउनेछ ।

यसै फाइदाका लागि चीनले पाकिस्तानमा त्यहाँका स्रोत साधन एवं सम्पदाको मतलब नगरी सिप्याक पूरा गर्न खोजिरहेको आरोप लाग्दै आएको छ । तर,अहिले पाकिस्तानका प्रजातन्त्रवादी समर्थकले चीनलाई यो परियोजना पूरा गर्न चुनौती दिँदै गएका छन् ।

यस्तो अवस्थामा आफ्नो लगानी फिर्ता आउँने डर बढेपछि सिप्याक अन्तर्गतकै एमएल१ रेलमार्गमा ६ अर्ब डलर लगानी गर्न चीनले केही दिनअघि पाकिस्तानसँग उच्च ब्याजदरको माग गरेको छ ।

पाकिस्तानको आन्तरिक मुद्दाका कारण चीन त्यहाँ लगानी गर्ने क्षमता गुमाउँदै गएको छ । यस्तो अवस्थामा पाकिस्तानमा रुसको लगानी बढ्नु चीनलाई तनावको संकेत हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ