arrow

राराको डीलमा जय बहादुरको सुस्केरा

नाती पढाउने धोको

logo
अजयबाबु शिवाकोटी।
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
jay-bahadur-rokaya-mugu.jpg.jpeg
रारा, मुगु। स्वर्गकी अप्सराको उपमा पाएको ठाउँ हो रारा। यहि अप्सरालाई आफ्नो काखमा राखेर मुगुले अहिले धेरैलाई लोभ्याउन थालेको छ। पहिले पहिले आक्कल झुक्कल पुग्ने आन्तरिक र वाह्य पर्यटकहरु सडक मार्गले मुगुलाई छोएपछि अहिले ह्वात्तै बढ्न थालेका छन्। दैनिक भिडभाड हुन्छ। बस्ने खाने ठाउँको पर्याप्त व्यवस्था हुन नसकेपनि कर्णाली अनि रारा पुग्ने सपनालाई साकार पार्न दैनिक दर्जनौ व्यक्तिहरु रारा पुग्ने गरेकाछन्। जति पुग्छन उनीहरु राराको मोहक र मादक रुपमा रमाइरहन्छन। राराले प्रत्येक दिन वातावरण अनुसार फेर्ने रङले उसको चञ्चलता झल्काउँछ। तर पनि आफ्नो रङ फेरिरहन्छ। पर्यटकहरु यसैमा रमाइरहन्छन। प्रकृतिको अनुपम वरदान यहि रारामा पर्यटकहरु रमाइरहँदा एक बृद्ध भने त्यसैको डीलमा उभिएर कुनै सुसाइरहेका भेटिन्छन। 
 
रारा गाविस मुर्मा ८का ७८ बर्षिय बृद्ध जय बहादुर रोकायाले १३ बर्ष अघी आफैले आफ्नो छोरा धनराज रोकायाको सद्गती गर्नुपर्योु। कुनै रोगले च्यापेर भनौ अरु कुनै दुर्घटनामा परि धन बहादरले ज्यान गुमाएका थिएनन। त्यसो हुँदो होत जय बहादुरले पनि चित्त बुझाउँथे होलान। तर चित्त बुझाउने ठाउँ थिएन। हुलाकको कर्मचारी रहेको छोरा धनराजलाई स्थानिय माओवादीले वाजुराको सिमाना नजिकको एक झोलुङगे पुलमा लगेर हत्या गरिदिए। कारण थियो उसको पेशा। हुलाकको कर्मचारी गाउँघर सबैतिर चिठीपत्र पुर्यािर्उन पुग्नुपर्ने। तर तत्कालिन विद्रोही माओवादीले उनलाई हत्या गर्नु अगाडी नियन्त्रणमा लिएपछि गम्भिर आरोप लगाए नेपाली सेनाको सुराकी भनेर। 
 
माओवादीले आफ्नो निसानाका व्यक्तिको सफाया गर्नुपरे लगाउने आरोप यस्तै हुन्थ्यो। सुराकी, दलाल, भ्रष्टाचारी, व्यभिचारी यस्तै यस्तै। त्यसको स्वतन्त्र छानविन कहाँ हुन्थ्यो र? उनीहरुनै आरोप लगाउँथे आफै अदालत बसाउँथे। आफै फैसला गर्थे। धनराजको हकमा पनि उनीहरुले त्यसै गरे। आफैले आरोप लगाए। आफैले अदालत बसाए। आफैले फैसला गरे। अनि मुगु र बाजुराको सिमानामा पर्ने सुखाडीक गाविसको एक झोलुङगे पुलमा लगेर हत्या गरिदिए। माओवादी डरको राजनीति पनि गरिरहेको थियो। त्यो हत्यापछि उसले स्थानियमा डरको मनोविज्ञान पनि सिर्जना गर्नु थियो। भयो पनि त्यस्तै। त्यसपछि माओवादीको विरुद्ध कस्ले वोल्ने आँट गर्नु। 
 
हत्या हुने बेलामा धनराज ३५ बर्षका थिए। ३५ बर्षमै उनका ४ छोरी र २ छोरा भइसकेका थिए। सानै उमेरमा विवाह हुनु अनि अरु ठाउँमा भन्दा धेरै सन्तान पाउनु कर्णालीको प्रवृती नै छ। धनराजको पनिआधा दर्जन सन्तान  भइसकेका थिए। दुख सुख गरेर सन्तानको शिक्षा दिक्षा पनि गर्थे होलान। माओवादीले उनैको हत्या गरेपछि सबै बृद्ध जय बहादुरको काँधमा आइपुग्यो। बुढो उमेरमा लठ्ठी टेकेर उनी आफ्नो दुख सुनाउन रारातिर पुग्छन। केहि उकालो हिडेपछि पुगिने रारामा थकाइ मार्न खुइयको सुस्केरा हाल्छन। भर लाग्ने मान्छे देखे भने उनी सुनाउन थाल्छन आफ्ना दुखका कथा। छोराको हत्यादेखि नातिनातिनाको शिक्षा दिक्षामा सहयोगको आग्रह पनि हुन्छ उनको। रारा पुगेका सबै मानिस उनको घर भएको ठाउँ मुर्मा ८ मा पुग्दैनन। राराको पानी निकास भएर जाने बाटैमा पर्छ जय बहादुरको घर। त्यहि बाटो त्यस भुगको आवातजावतको मार्ग हो। तर बाहिरबाट आएकाहरु त्यो बाटोको कमै उपयोग गर्छन त्यसैले पनि जय बहादुर केन्द्र(काठमाडौं)बाट वा अन्य ठाउँबाट आफूलाई सहयोग गर्ने हैसियत भएको मान्छे आएको ५ भन्ने सुचना पाएमा रारा पुगिहाल्छन। लौरो टकेर बाक्लो सीसा भएको चस्मा लगाएर आएका उनै जय बहादुरलाई यहि जेठ २५मा रारामा भेट्दा उनी यिनै दुखका पेटारो खोल्दै थिए। 
 
कर्णालीको राजनीतिक र संसदीय भ्रमणमा थिए काँग्रेस नेता तथा संसदका उर्जा तथा कृषि समितिका सभापति गगन थापा। थापासँग उनले सबै वेलिविस्तार लगाएपछि एउटा नातीको लागि पढ्ने व्यवस्था मिलाइदिन आग्रह गरे। नातीनिहरुको बिहे गरिसकेका रोकायाले साथमा रहेको एउटा नातीको लागि पढ्ने व्यवस्था मिलाउन पाए आफूलाई मर्ने बेलामा सन्तोष हुने बताए। छोरा मारिएपछि सबै सम्पति पनि माओवादीले लुटेपछि थातथलो छोडेर विस्थापित भएका रोकाया परिवार अहिले पुरानै थातथलोमा आएको छ। परिवार पुरानै स्वरुपमा फर्कने प्रयास गरिरहेको छ। कान्छो नातीबाहेक अरु नातिनातिनालाई पनि केहि सामाजिक संस्थाहरुको सहयोगमा अध्ययन गराएको बताउने बृद्ध रोकायाले आफूसँग गाउँमा नै रहेको कान्छो नातीमा आफ्नो सास अड्किएको बताएपछि उनलाई ढाडस दिदै थापाले भने काठमाडौं पुगेपछि विद्यालयको व्यवस्था गरेर पार्टीका स्थानिय साथीहरुमार्फत खबर पठाउछु। गर्न सक्ने गर्छु। 
 
द्धन्दको समयको घटनाको बारेमा अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिनेक्रम देशभरी चल्दा उनले पनि आफ्नो छोराको हत्या, गरिएको लुटपाट र विस्थापित हुनुपरेको घटनाको विवरण सहित आयोगको जिल्ला स्थित सम्पर्क कार्यालय मार्फत उजुरी दिएका छन। शंका मिश्रित आवाजमा उनले भने न्याय पाइने होकी होइन थाहा छैन तर द्धन्दको घाउ मेटाउन पनि पिडितहरुले न्याय त पाउनै पर्छ। घरबार बिग्रिएकाहरुको जीवन सपार्नुपर्छ। आफ्नो छोराको मलामी जानुपरेको मात्र हैन बुढेसकालमा झन बढी जिम्मेवारी आएपछि पनि धैर्य नगुमाएका रोकाया द्धन्दको समयमको एक जिउँदा साक्षी हुन। यस्ता पीडाका हजारौ सत्य कथाहरु खोतलेर सत्य निरुपण तथा मेलमिलाप आयोगले पिडितलाई न्याय दिलाउन सक्ला? ठूलो प्रश्नको छोटकरी उत्तर पिडितहरु कुरेर बसिरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ