arrow

इक्यानलाई ३ दिनभित्र जवाफसहित उपस्थिति हुन प्रशासनको पत्र

logo
प्रकाशित २०७३ असार १ बुधबार
ecan-photo.jpg.jpeg
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लाई तीन दिन भित्र शैक्षिक मेला सम्बन्धि सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको छ । इक्यानले आयोजना गरेको दशौं शैक्षिक मेला प्रायोजनका लागि प्रायोजक छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि तीन दिन भित्र जवाफ पेश गर्न गत जेठ २६ गते इक्यानको नाममा प्रशासनले पत्र काटेको हो ।
 
प्रशासनले इक्यानलाई पत्र पठाउँदै भनेको छ–‘शैक्षिक मेला प्रायोजनका लागि प्रयोजक छनौट गर्ने विषयमा अनियमितता भएको भनि राकेश श्रेष्ठलगायतले यस कार्यालयमा दिएको निवेदन उजुरीको छायाँप्रति यसै साथ संलग्न छ । सो सम्बन्धमा के भएको हो, वास्तविकता खुलाई पत्र प्राप्त भएको मितिले तीन दिन भित्र यस कार्यालयमा पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’ श्रेष्ठ एर्रे इन्टरनेशनल प्रालिका सञ्चालक हुन् । 
 
इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुले मेला रोक्न आग्रह गदै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेका हुन् । यद्यपि, शैक्षिक मेला गैरकानुनी भन्दै रोकेर छानविन गर्न उजुरी हालेपनि समयको अभाव तथा प्रमुख जिल्ला अधिकारीले मेला सम्पन्न भएपछि छानविन गर्ने आश्वासन दिएको हुँदा मेला भने रोकिएन । 
 
प्रशासन कार्यालयमा दर्ता भएको उजुरीमा संघले मिति चैत्र २८ गते एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी मेला आयोजना गर्नलाई मेला संचालन गर्ने कम्पनी संस्थालाई दरभाउ सहित पेश गर्न आब्हान गरेको उल्लेख छ । इभेन्ट म्यानेजमेन्ट गर्ने सस्था एर्रे इन्टरनेशनल प्रालि, राइज इभेन्टस प्रालि र वान अप इभेन्ट प्रालिले उक्त मेला आयोजना गर्न दरभाउ पेश गरेका थिए । दरभाउ पेश गरेका ३ वटा कम्पनीको दरभाउ पत्र गोप्य भनिए पनि संघका पदाधिकारीको मिलेमतोमा ३ जनाको मञ्जुरी विना नै शिल खोली एक अर्काको दरभाउ हेरेर संघका अध्यक्ष प्रकाश पाण्डेले आपूm निकट रवि झाको कम्पनी वान अफ इभेन्ट प्रालिलाई दरभाउ दिएको उनीहरुको आरोप छ । 
 
डेढ वर्ष पहिला मात्र स्थापना भएको वान अफ इभेन्ट प्रालिलाई आर्थिक चलखेलकै आधारमा संघका पदाधिकारीहरुको मिलेमतोमा उक्त व्यवस्थापनको जिम्मा दिएकोले आर्थिक नियमावली २०७२ बमोजिम बोलकबोलका लागि प्रतिष्पर्धा आउने सूचना गरे अनुरुप सो नियमवालीको परिच्छेद ७ दफा ३४ को उपदफा ७ बमोजिम नभएको भन्दै मेला आयोजना रोक्न सिडियोमा उजुरी परेको थियो ।
 
झाको कम्पनी एक वर्ष अगाडि दर्ता भएपनि उनले भने पुरानो प्रोफाइल र गलत डकुमेन्ट पेश गरी टेण्डर हात पारेका थिए । बाहिर हेर्दा झाले इक्यानलाई गत वर्ष भन्दा बढी पैसा तिर्ने शर्तमा टेण्डर हात पारेको देखिएपनि भित्री रुपमा भने उनी र पाण्डेबीच साँठगाँठ देखिएको इभेन्ट कम्पनीहरुको आरोप छ । 
 
पाण्डे र झाको कार्यालय बानेश्वरस्थित एउटै भवनमा रहेको र झालाई टेण्डर दिलाउँदा पाण्डेले लाखौं कमिसन हात पारेपछि इक्यानकै केही पदाधिकारीहरुले नोट अफ डिसेन्ट लेखेर मेला बहिस्कार गरेको एक इभेन्ट कम्पनीका सञ्चालकले बताए । 
 
मेलामा २०० वटा स्टलका लागि प्रति स्टल ३० हजार(भ्याट बाहेक) का दरले ६० लाख उठाउने शर्तमा वान अपका झाले टेण्डर पाएपनि अन्तिममा भने १०० वटा स्टल थपी थप ३० लाख घोटला भएको उनीहरुको आरोप छ । यो सरासर गलत र गैरकानुनी रहेको इक्यानकै पदाधिकारीहरु बताउँछन् । त्यसो त इभेन्ट गर्दा प्रायोजन, स्पोन्सर, टाइटल स्पोन्सर, मुख्य प्रायोजक गरी दर्जनौं कन्सलटेन्सी र विदेशी विश्वविद्यालबाट समेत इक्यानले लाखौं रकम उठाएको छ भने विज्ञापन खर्चमा आर्थिक नियमावली विपरित अध्यक्ष पाण्डे र मेला संयोजक रमेश वाग्लेको मिलेमतोमा मनपरी खर्च गरिएको इक्यान स्रोतले बतायो । 
 
चार दिन सम्म चलेको मेलामा १७ वटा प्याभिलियनबाट प्रति प्याभिलियन झण्डै एक लाख ३० हजारका दरले उठाइएको छ । प्याभिलियन र स्टलको खर्चमा समेत घोटला भएपछि मेलामा स्टल राख्ने इक्यानका सदस्यहरुले अन्यायमा परेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ