arrow

नेपाली राजनीतिलाई लिएर गैरआवासीय नेपालीहरु विभाजित नहुन आग्रह

logo
प्रकाशित २०७७ माघ १० शनिबार
Pradip-gywali-news.jpeg

काठमाडौं । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाली राजनीतिलाई लिएर गैरआवासीय नेपालीहरुलाई विभाजित नहुन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रीय महाधिवेशनको शनिबार भर्चुअल उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सामाजिक संस्थालाई राजनीतिबाट टाढा राख्न अनुरोध गरेका हुन् । उनले नेपाल बाहिर जाँदा यहाँका विभाजन र नराम्रा कुराहरु भन्दा राम्रा कुराहरु लिएर जान सुझाए ।

‘गैरआवासीय नेपालीहरुबीच देखिएको विवादमा सहमति जुटाएर अघि बढनु भएकोमा धन्यवाद छ,’ परराष्ट्र मन्त्रालयमा परेको उजुरीका बारेमा संकेत गर्दै उनले भने । संघको उद्घाटन  सत्रलाई सम्बोधन गर्दै उनले गैरआवासीय नेपालीसँग चार अपेक्षा राखे ।

‘तपाई जुन देशमा बस्नु भएको छ, त्यो ठाउँमा नेपालको इमेज प्रमोसन गर्न, नेपाली भाषा, संस्कृति र परम्परागत नेपालीपन जोगाउन, विदेशमा सिकेका ज्ञान, क्षमता र दक्षता नेपालको विकासमा लगाई नेपालमा लगानी भित्र्याउन भूमिका खेल्न तथा नेपालको संकटमा जारी सहयोगलाई निरन्तर गर्नुहोस,’ परराष्ट्र मन्त्री ज्ञवालीले भने ।

कोरोना महामारीको संकटमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले नेपालको विकासमा सहयात्रीको भूमिका निर्वाह गर्न अनुरोध गरे । ‘संगठनको औचित्य संकटमै परिक्षा हुने हो, त्यो महामारीको बेला एनआरएनए खरो उत्रिएको छ’, परराष्ट्र मन्त्रीले भने।

नेपाल सरकारले तय गरेको मुख्य २० नीति मध्ये डायस्पोरा सम्बन्धी विषय नयाँ परराष्ट्र नीतिमा समेटिएको उनले बताए  । उनले  गैरआवासीय नेपालीहरुले उठाएका विषयहरु सम्बोधन गर्न संसद विघटनका कारण केही ढिलो भएपनि कानुन ल्याइने आश्वासन दिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले  प्रतिनिधिसभा विघटनले गणतन्त्र र लोकतन्त्रको जग नभत्कने दावी गरे । उनले जनताबाट प्राप्त विश्वास जनतामै फर्काउने गरि निर्वाचनमा जान लागेको बताए ।

एनआरएनएका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले संस्थाले हालसम्म प्राप्त भएका उपलब्धि संरक्षण गर्न र भत्काउन बाटोमा नजान आग्रह गरे । उनले युवा, महिला, नयाँ पुस्तालगायतलाई समेटेर एनआरएनएलाई विश्वस्तरीय संगठनका रुपमा विकास गर्न आग्रह गरे ।

पूर्व अध्यक्ष देवमान हिराचनले आकस्मिक काम बाहेक विधान संशोधन भर्चुअल रुपमा नगर्न अनुरोध गरे । उनले ‘भिजन २०२०’ स्वीकृत भएर पनि कार्यान्वयन नगरेकोमा आश्चर्य प्रकट गरे । अर्का पूर्व अध्यक्ष जीवा लामिछानेले विधान संशोधन सहमतिबाट गर्न लगिएकोमा सवैलाई धन्यवाद दिए । उनले एनआरएनएलाई  विगतमा भएका निर्णयको समीक्षा गर्न पनि अनुरोध गरे ।पूर्व अध्यक्ष भवन भट्टले आफु बसेका मुलुकबाट सिकेर एनआरएनएलाई संस्थागत रुपमा कार्यक्रम अघि बढाउन आग्रह गरे ।

संरक्षक रामप्रताप थापाले नागरिकता निरन्तरताका लागि अझै दवावमूलक काम गर्न सुझाव दिए । उपाध्यक्ष डा. बद्री केसीले नेपाल बाहिर कोरोना पीडितहरुलाई सघाउंदा सघाउँदै निधन हुनुभएका एनआरएनकर्मीहरुलाई  शहीद मान्नु पर्ने माग गरे ।

उद्घाटन सत्रमा बोल्दै संघका सल्लाहकार कुल आचार्यले  संस्थालाई सहमतिमा अघि बढाउन आग्रह गरे । उनले संस्था भित्र उठने असन्तुष्टीहरुका बारेमा बृहत छलफल गर्दै सहमति भएका कुराहरु इमान्दारीपूर्वक लागू गर्न नेतृत्व समक्ष अनुरोध समेत गरे ।

उपाध्यक्षद्वय अर्जुन  श्रेष्ठ र सोनाम लामा, सल्लाहकार टिवि कार्कीलगायतले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा संचालन भएको महाधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष रवीना थापाले स्वागत मन्तव्य दिएकी थिइन् । अध्यक्ष पन्तले एनआरएनएले मध्यपूर्व लगायतका मुलुकहरुबाट करीव डेढ लाख नेपालीहरुको उद्धार  गरेको जानकारी दिए ।

उनले पाँच हजार एनआरएनएलाई स्वदेश फर्काउन एनआरएनएले सहयोग गरेको जनाए । साथै, महामारीमा सहयोग अहिले पनि जारी रहेको बताए । प्रविधिको उपयोग गर्दै आयोजना गरिएको भर्चुअल महाधिवेशन भावी दिनका लागि पनि शिक्षा हुने उनले आशा व्यक्त गरे  ।

शनिबार र आइतबार चल्ने विशेष महाधिवेशनमा आर्थिक साथै संघका उपाध्यक्ष मन केसी तथा पूर्व प्रवक्ता भूषण घिमिरेले तयार परेको विधान संशोधन प्रस्ताव प्रस्तावहरुमाथि  छलफल हुने छन्  ।-जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ