काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि मधेसी मोर्चालाई आह्वान गरेपछि संघीय गठबन्धनमा आवद्ध दलहरुले छलफल गरेका छन् । प्रधानमन्त्री केपी ओलीले सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ७ राजनीतिक दलको नाममा पत्राचार गरेपछि गठबन्धन मार्फत आन्दोलन गरिरहेका मोर्चा आवद्ध दलहरुबीचमै मतभेद भएपछि छलफल भएको हो ।
तीनकुनेस्थित संघीय समाजवादी फोरम कार्यालयमा बसको बैठकले प्रधानमन्त्रीको पत्रबारे छलफल गर्दै वार्ताको विश्वासिलो आधार तय गर्न सरकारलाई आग्रह गरेको बैठकमा सहभागि तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले जानकारी दिए । गठबन्धनको बैठक सकिए लगत्तै मोर्चाको बैठक बसेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा विहीबार विहान ११ बजेदेखि बसेको बैठक झन्डै ५ घण्टा सम्म चल्यो ।
प्रधानमन्त्री ओलीले पठाएको पत्रमा मधेसी मोर्चालाई मात्रै सम्बोधन गरिएको भन्दै संघीय समाजवादी फोरमलगायत जनजाती घटकका नेताहरुले आपत्ति जनाए । उनीहरुले संघीय गठबन्धनलाई पत्र आएमात्रै वार्ताबारे सोच्न सकिने अडान राखे । यद्यपि, तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीलगायत मधेसवादी दलले पहिले मधेसी मोर्चाले गरेकै आन्दोलन गठबन्धनले अघि बढाएको र मोर्चाको आन्दोलनको विस्तारित रुप भएको भन्दै आन्दोलन एवं वार्ता मधेसी मोर्चाकै नाममा भएको तथा प्रधानमन्त्रीको पत्रले त्यसलाई स्वीकारेकाले सकारात्मक रुपमा लिनु पर्ने तर्क गरे ।
छलफलमा नेताहरुले वार्ताका लागि विश्वासिलो आधार बनाउन, गठबन्धनले बुझाएको (मोर्चाका ११ सहित) २६ बुँदे मागपत्र सम्बोधनको प्रतिबद्धता जनाउन सरकारसमक्ष माग गर्ने निधो गरे । यस्तै, गठबन्धनको बैठकले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका महासचिव ओम गुरुङलाई नयाँ प्रवक्ता घोषणा गरेको छ । यसअघि प्रवक्ता रहेका परशुराम तामाङ ५ दिनअघि नया शक्तिमा गएपछि गुरुङ नयाँ प्रवक्ता घोषित भए ।
प्रधानमन्त्री ओलीले जेठ ३० गते सरकारको तर्फबाट तेस्रो पटक पत्राचार गर्दै मोर्चासंवद्ध दललाई सम्बोधन गरी वार्ताका लागि डाकेका थिए । ओलीकै पत्रले गठबन्धन र मोर्चाभित्र जुहारी चलेको छ । मूख्य गरी संघीय समाजवादी फोरमका अध्यक्ष एवं गठबन्धन नेता उपेन्द्र यादव र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र मतोबीच तीब्र मतभेद रहेको बताइन्छ । तराई–मधेस केन्द्रीत आन्दोलन ताका नै यी दुईबीच दुरी बढ्ने क्रम सुरु भएको थियो । दुबैले आन्दोलनको जस कसले लिने भन्नेमा विवाद गरिरहेका स्रोतले बताएको छ ।