arrow

विश्लेषण

गृहजिल्लामा झलनाथलाई धक्का, सुभासलाई सकस: पुरानो शाख र अस्तित्व जोगाउनै हम्मे

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
Subash-JN.jpg

काठमाडौं ।  झापा विद्रोहबाट राजनीतिक उचाइ लिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुभासचन्द्र नेम्बाङ कुनै समय सहयात्री थिए । एजेन्डा र मोर्चा एउटै थियो । त्यतिमात्र होइन इलाम आदर्श स्कुलमा सँगै पढेका दौंतरी थिए । उनीहरु राजनीतिक प्रतिस्पर्धी भन्दा पनि एक आपसका सहयोगी थिए । अहिले पनि संगठन विस्तार र सामाजिक विकासमा उनीहरुको योगदानको उच्च कदर हुनेगर्छ ।

सुभासको तुलनामा झलनाथले राजनीतिक रुपमा धेरै सफलता हासिल गरे । एक दशक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व मात्र सम्हालेनन् नेपालको ३५ औं प्रधानमन्त्रीको कुर्सी पनि सम्हाले । सुभास भावी प्रधानमन्त्रीका उम्मेदवार मात्र हुन् । तर ऐतिहासिक संविधान सभाको सभामुख बनेर नेपालको राजनीतिक इतिहासमा आफ्नो नाम स्वर्णीम अक्षरमा लेखाए । इलामका दुईवटा क्षेत्रबाट पटक पटक सांसदको माला लगाएका झलनाथ र सुभास यतिबेला दुई ध्रुवमा प्रष्ट रुपमा विभाजित छन् ।

पछिल्लो समय नेकपा एकढिक्का हुँदा पनि एउटै कित्तामा उभिन नसकेका यी दुई राजनीतिक हस्ती यतिबेला झनै छिन्नभिन्न अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा सुभासले जिम्मेवारी सम्हालेका छन् भने झलनाथ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको एक हिस्सेदार बनेर मोर्चा सम्हालिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई ध्रुवमा विभाजित यी दुई नेता गृहजिल्लामा आफ्नो अस्तित्व रक्षामा जुटेका छन् । विरलै मात्र गृहजिल्ला पाइला टेक्दै आएका यी दुई नेता यतिबेला जिल्लामा आफ्नो समूहलाई बलियो बनाउने अभियानमा छन् । त्यतिमात्र होइन सुभास र झलनाथलाई आफ्नो शाख जोगाउँदै अस्तित्व बचाउन नै सकस परिरहेको छ । नेकपा इलामका एक पाका कार्यकर्ता भन्छन्,‘सुभास र झलनाथ अब इलामको इतिहास मात्र बन्नेछन्, अस्तित्व सिध्याइसके, फेरि चुनाव लडेभने त्यो रहर मात्र हुनेछ ।’

केन्द्रिय स्तरका नेताहरु विभाजित बनेपछि त्यसको असर गाउँ गाउँसम्म मात्र पुगेको छैन, कार्यकर्तामा निराशा पनि पैदा भएको छ । कार्यकर्ताको मनोबल बढाउन झलनाथ आफ्नै जिल्लामा सक्रिय हुन थालेका छन् भने नेम्बाङले पनि आफ्ना जिल्लास्तरका नेतालाई परिचालन गरिसकेका छन् । यद्यपी, गृहजिल्लामा झलनाथ र सुभासले आफ्नो पूरानो शाख र गरिमा कायम राख्नसक्ने अवस्था भने गुम्दै गइरहेको छ ।

हुनत झलनाथको समूह भन्दा सुभास आवद्ध ओली समूह इलाममा बलियो देखिन्छ । झलनाथकै नेता तथा कार्यकर्ताहरुलाई सुभासले चोरेर आफ्नामा भित्र्याउँदै लगेका छन् । त्यसको काउन्टर दिन झलनाथको समूह त्यति मजबूद देखिएको छैन् । पूर्व माओवादी केन्द्रभन्दा पूर्व एमाले इलाममा बलियो मानिने भएपनि झलनाथ प्रचण्डको कित्तामा उभिनुलाई कतिपय अगुवा कार्यकर्ताले दुर्भाग्यपूर्ण मानेका छन् । जसको असर प्रत्यक्ष रुपमा झलनाथलाई परेको छ । उनका सारथीहरुले धमाधम साथ छाड्न थालेका छन् ।

नेपालको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार हटाइएको सार्वजनिक अभिब्यक्ति दिए पनि ओलीको बचाउमा उत्रिएर बदनाम बनेका सुभासको शाख पनि पहिलेजस्तो छैन् । इमान्दारिता र शालीनतालाई दाउमा राखेर उनले ओलीको कदमलाई साथ दिएका कारण सुभासको साथ छाड्ने कार्यकर्ताको संख्या पनि उत्तिकै छ ।

हुनत प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटै क्षेत्र नेकपाको एकलौटी छ । यसैगरी १० वटा स्थानीय तहहरुमध्ये सबै चार वटा नगरपालिकाको प्रमुख उपप्रमुख र छ वटा गाउँपालिका मध्ये तीनमा अध्यक्ष र पाँचमा उपाध्यक्ष नेकपाले जितेको छ । उपाध्यक्ष जितेको गाउँपालिकामा पनि नेकपाकै स्पष्ट बहुमत छ । प्रदेशमा निर्वाचितहरुमध्ये धिरेन्द्र शर्मा रमण मात्रै साविकको माओवादी केन्द्रबाट निर्वाचित हुन् । जिल्ला समन्वय समितिमा सबै साविक एमालेका जनप्रतिनिधिहरुले जितेका छन् । वास्तवमा पूर्व माओवादी केन्द्र इलाममा कमजोर छ । जसको समूहलाई झलनाथले नेतृत्व गर्नु राजनीतिक यात्रा ओरालो लागे सरह मानिन्छ ।

को कता ?

विघटित प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल र क्षेत्र नम्बर २ मा सुभासचन्द्र नेम्बाङले विजयीको माला लगाए । प्रदेश सांसद्हरुमध्ये जिल्ला अध्यक्ष समेत रहेका रामबहादुर मगर र काजीमान कागते सुभास अर्थात ओलीतिर तथा धिरेन्द्र शर्मा रमण र खिनु लङ्वा झलनाथतिर देखिन्छन् । जिल्ला समन्वय समितिमा निर्वाचित भएका सदस्य पूर्ण बस्नेत बाहेक प्रमुख गणेशप्रसाद बरालसहित सबै पदाधिकारी, सदस्यहरु ओली पक्षमा लागेका छन् ।

नेकपा इलामका युवा नेता तथा जिल्ला कार्यालय सचिव नवराज शंकरले सेयर गरेको एक विश्लेषणमा इलाम नगर प्रमुख महेश बस्नेत, देऊमाईका प्रमुख सूर्य पोख्रेल र माईका प्रमुख दिपक थेवे ओली पक्षमा छन् । सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई झलनाथतिर छन् ।

गाउँपालिका अध्यक्षहरु मध्ये चुलाचुलीका अध्यक्ष प्रदीपचन्द्र राई ओलीसँग छन् । सन्दकपुरका अध्यक्ष उदय राई र माईजोगमाईका अध्यक्ष जितबहादुर झलनाथतिर छन् । चार वटा नगरपालिकामा निर्वाचित उपप्रमुखहरु र पाँच गाउँपालिकामा निर्वाचित उपप्रमुख र उपाध्यक्षहरु सबै जना ओलीतिर छन् ।

विगतमा एकता हुँदा १४७ जनाको जिल्ला कमिटी रहेकोमा साविक एमालेबाट ९५ जना र माओवादी केन्द्रबाट ५२ जनाको सहभागिता थियो । जसमा अध्यक्षसहित बहुमत संख्या ओली पक्षमा छन् भने झलनाथ समूह अल्पमतमा छ । जिल्ला कमिटीका साविक एमालेका ९५ जनामध्ये १६/१७ जना मात्रै र साविक माओवादी केन्द्रका ५२ जनामध्ये ४६/४७ जना मात्रै झलनाथतिर छन् भने बाँकी ओली पक्षमा लागेका छन् । लामो समय झलनाथसँगै रहेको जिल्ला अध्यक्ष तथा प्रदेश सरकारका राज्यमन्त्री रामबहादुर मगर र प्रदेश सांसद् काजिमान कागतेले उनको साथ छाडिसकेका छन् ।

दुवै नेतालाई आक्षेप

जिल्लामा गतिलो काम गर्न नसकेको आरोप खेपिरहेका सुभास र झलनाथलाई जिल्लामा मात्र नभइ राष्ट्रिय स्तरमै विभिन्न आक्षेपहरु लाग्दै आइरहेको छ । सुभासलाई जातीवादी मात्र नभई चुनाव जितेर गएपछि फर्किएर नहेरेको आरोप छ ।

संसद विघटन जस्तो ‘असंवैधानिक’मानिएको कदमलाई साथ दिएका नेम्बाङलाई शालिनताभित्र कुटिलता लुकेको नेताका रुपमा चिनिन थालेको छ । आश्वासन बाँडेर जनता झुक्याउने मात्र होइन सिमित ब्यक्तिको घेराभित्र बसेर जिल्लाको विकासमा माँखो नमारेको आरोप सुभासलाई लाग्दै आइरहेको छ ।

त्यस्तै पछिल्लो समय झलनाथका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले विषालु सर्प पाल्न ७२ करोडको सम्झौता गरेको समाचार बाहिरिएपछि उनीमाथि दर्जनौं प्रश्नहरु तेर्सिएका छन् । जिल्लामा विकासे कामका लागि बजेट विनियोजन गर्नुको साटो सर्पमै ७२ करोड खर्च गर्नु बेकार भएको उनकै कार्यकर्ताहरुले बताउने गरेका छन् ।

जिल्लामा ठूला आयोजनाहरु भित्र्याउनुको साटो आफ्ना निकट र नातागोतालाई काखी च्यापेर संगठनको बदनाम गराएको आरोप झलनाथलाई लाग्दै आइरहेको छ ।

खनाल र नेम्बाङको गृहजिल्ला इलाममा नेकपा छिन्नभिन्न, तोकिए दुई अध्यक्ष



नयाँ