काठमाडौं । शुक्रबार मात्रै बीरगञ्जबाट ८ जना चिकित्सकलाई नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले शनिबार काठमाडौं उपत्यकाबाट पनि डाक्टरहरूलाई पक्राउ गरेको छ ।
सिआईबीका एक अधिकारीका अनुसार शनिबार सिआईबीको टोलीले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू पक्राउ गरिएको हो । ती अधिकारीका अनुसार किष्ट कलेजका आईसियूमा काम गर्ने एक चिकित्सक पक्राउमा परेको बताएका छन् ।
उनीसँगै विभिन्न अस्पतालका चिकित्सकहरू पनि पक्राउ परेको भएपनि उनीहरूको नाम सिआईबीले गोप्य राखेको छ । तर, यस विषयमा सिआईबी स्रोतले पुष्टी गरेपनि आधिकारिक रूपमा भने सुचना दिन आनाकानी गरेको छ ।
सिआईबीका प्रवक्ता दिवस लोहनीले आफू बिदामा रहेको भन्दै यसबारे आफूलाई जानकारी नभएको दाबी गरे ।
उता, किष्ट अस्पतालमा पनि यस विषयमा सोध्दा अस्पतालले चिकित्सक पक्राउको विषयमा आफूलाई जानकारी नभएको बताएको छ । आफ्नो अस्पतालको सेवा निरन्तर चलिरहेको भन्दै यसविषयमा आफूलाई पत्तो नभएको पनि अस्पतालले स्पष्ट पारेको छ ।
उता, सिआईबी स्रोतका अनुसार डिएसपी भन्दा माथिल्लो तहका अधिकारीहरू भने अहिले महाराजगञ्ज स्थित कार्यालयमा बैठक बसिरहेका छन् ।