चितवन। प्रेस युनियनको केन्द्रीय महिला भेलामा सहभागी भएर काठमाडौँबाट चितवन फर्केका युनियनका केन्द्रीय सदस्य वसन्त पराजुलीलाई मुग्लिनबाट नारायणगढ आइपुग्न नौ घन्टा लाग्यो। शनिबार दिउँसो १ बजे कुरिनटारसम्म पुगेको गाडीको लाइनमा लागेका पराजुली राति १२ बजे भरतपुरको आँपटारी आइपुगे। यसको एक महिनाअघि प्रेस चौतारीको महाधिवेशनमा सहभागी हुन नारायणगढबाट एक समूह लिएर गाएका प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाललाई मुग्लिनसम्म पुग्न ११ घन्टा लागेको थियो।
यो एक महिनाको अवधिमा यी प्रतिनिधि पात्रलाई मात्र होइन यो सडकखण्ड भएर आवातजावत गर्ने सबैलाई यस्तै समस्या आइपरेको छ। यो सडक प्रयोग गर्ने धेरैको रात वा दिन सडकमै बित्ने गर्दछ। माथिबाट पहिरो खसिरहन्छ, तल लामबद्ध सवारी साधन रहन्छन्। सवारी साधनभित्र मानिस ठेलमठेल हुन्छन्। त्रासैत्रासमा सडक पार गर्नुपर्ने बाध्यता यात्रुको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य सुरु भएयता यात्रुले यो हैरानी व्यहोर्नु परिरहेको छ। आँपटारीबाट मुग्लिनसम्मको दूरी ३५ किलोमिटर छ। यसमध्ये मुग्लिनबाट पाँच किमी नारायणगढतर्फ पर्ने कालीखोला र पाँचकिलो भन्ने ठाउँ बीचको भाग पहिरोको उच्च जोखिम छ। त्यहाँ सडक फराकिलो बनाउन भित्तो काट्ने काम भइरहेको छ। गत महिनासम्म दिउँसो चार घन्टा आवागमन रोकेर सडक फराकिलो बनाएका कारण जाम बढी थियो भने अहिले पहिरोको कारण समस्या उत्पन्न भएको छ।
पहिरोका कारणमात्र नभएर ट्राफिक व्यवस्थापनको अभावमा समस्या भएको सोही बाटो भएर यात्रा गर्नुभएका पराजुली बताउछन्। उनले भने – “ट्राफिक व्यवस्थापन कमजोर हुँदा सवारी साधनले एकले अर्कोलाई उछिन्ने होडका कारण समस्या उत्पन्न भएको छ।” तर रामनगर र मुग्लिनबाट गएका प्रहरीले व्यवस्थापनमा सहयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर दावी गर्छन्। यद्यपि व्यस्थापकीय पाटो भने निकै कमजोर नै रहेको आम यात्रुको बुझाइ छ।
सडक विस्तार भइरहेको उक्त सडकखण्डको ठाउँठाउँमा भारी सवारीका साधन फस्ने, बिग्रने समस्या पनि उत्तिकै छ, सवारी बिग्रने, फस्ने र सानासाना पहिरोले गर्दा सबै ठाउँमा दुईतर्फी सडक सञ्चालन हुन सक्दैन। जसका कारण पनि सवारी जाम हुने समस्या उत्पन्न हुन्छ।
नारायणगढदेखि ३६ किमीको दूरीमा रहेको मुग्लिन सहज अवस्थामा एक घन्टामा पुग्न सकिन्थ्यो, तर हिजोआज उक्त सडकखण्ड पार गर्न १०/१२ घन्टाभन्दा धेरै समय लाग्ने गरेको छ।
नारायणगढ–मुग्लिन आयोजनाका इञ्जिनियर शिव खनाल पहिरो कतिखेर जान्छ, कसैलाई थाहा नहुने बताउनुहुन्छ। उन भने – “यो प्राकृतिक घटना हो, कसैले भन्न सक्दैन।” खनाल उक्त सडकखण्ड भएर जाने सवारीलाई लामो भए पनि वैकल्पिक राजमार्गको प्रयोग गर्न सुझाव दिन्छन्। उनी भन्छन् – “पूर्वी नेपाल जाने सवारीले त्रिभुवन राजपथ र पश्चिम नेपाल जाने सवारीले सिद्धार्थ राजमार्ग प्रयोग गर्दा लामो भए पनि सहज हुन्छ।” त्रिभुवन राजपथमा भने ठूला र भारी सवारी सञ्चालन गर्न असहज हुने भएकाले यही सडक प्रयोग गर्न बाध्यता रहेको उन बताए।
नारायणगढदेखि ३१ देखि ३४ किमी दूरीमा रहेका चार किलो र कालिखोला भन्ने ठाउँ पहिरोको उच्च जोखिममा रहेको बताउँदै खनालले अहिलेसम्मका ८० प्रतिशत पहिरो सोही ठाउँमा खसेको बताए।
नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक सात हजार तीन सय गाडी ओहोरदोहोर हुने अघिल्लो आवको तथ्याङ्क छ। ठेक्का दिँदा २०७४ सालको वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भू्कम्प र नाकाबन्दीका कारण चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ। विसं २०७२ को वैशाखबाट निर्माणकार्य थालिएको हो।
विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक विस्तार थालिएको हो। हाल उक्त सडकखण्डको आँपटारीदेखि १६ किमीसम्म ११ मिटर चौडा र त्यहाँबाट मुग्लिनसम्म नौ मिटर चौडा बनाइँदै छ। रासस