arrow

'अहिले नेकपामा ठुलो भुईँचालो गएको छ यसको पराकम्प काँग्रेसमा जानु हुँदैन'

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
ramesh-lekhak5.jpg

कञ्चनपुर । प्रतिनिधि सभा विघटनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन रहेकाले सर्वोच्चको निर्णय आफूहरूलाई स्वीकार हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले बताएका छन् ।

सरकारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैतडीको सदरमुकाम गोठाला पानीमा आयोजना गरेको सभामा बोल्दै नेता लेखकले भने- संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो । नेपाली काँग्रेसका नेता लेखकले संसद् विघटन सर्वसत्तावादी चिन्तनबाट भएको बताए ।

 उनले भने ‘संसद् विघटन संविधान विपरीत छ । हामी यो विषयमा स्पष्ट छौँ । प्रधानमन्त्रीले सर्वसत्तावादी चिन्तनले संसद् विघटन गरेका हुन् ।’

विरोध सभामा बोल्दै नेता लेखकले सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक भए पनि सर्वोच्चको निर्णय भने आफूहरूले मान्ने बताए । आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको बताउँदै नेता लेखकले नेकपामा ठुलो भुईँचालो गएको उल्लेख गरे ।

नेता लेखकले भने- ‘अहिले नेकपामा ठुलो भुईँचालो गएको छ । यसको पराकम्प नेपाली काँग्रेसमा जानु हुँदैन । यसमा हामी सबै सजक हुनुपर्छ ।’

विरोध सभामा बोल्दै नेता लेखकले काँग्रेस हार्दा देशले हार्छ भन्ने कुरा स्पष्ट भएको बताए । गएको चुनावमा नेपाली काँग्रेस पराजित भएकै कारण अहिले देशमा यस्तो स्थिति आएको उनको दाबी छ । सरकारले संसद्को हत्या गरेको समेत उनले बताए ।

यस्तै नेता लेखकले बलात्कारपछि हत्या गरिएकी भागिरथीका हत्यारालाई छिटो पत्ता लगाउन सरकारसँग माग गरे । भागिरथीको न्यायका लागि आफ्नो पार्टीले सबै प्रकारका पहल गर्ने नेता लेखकले बताए ।

आफूलाई पार्टीले भागिरथीको हत्याका विषयमा बुझ्न पनि पठाएकाले यही फागुन ५ को केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गर्ने बताए । नेता लेखकले आफू मन्त्री भएको बेला सुदूरपश्चिमका थुप्रै भौतिक पूर्वाधारका कामको सुरुवात भए पनि अहिले ती योजनाहरूमा बजेटको अभाव भएको दाबी गरे ।

नेपाली काँग्रेस बैतडीले संसद् विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा नेपाली काँग्रेस नेता एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, जिल्ला सभापति नरेन्द्रसिंह थापा, उपसभापति चतुरबहादुर चन्द, जिल्ला सचिव बीरबहादुर विष्ट, महासमिति सदस्य उत्तरबहादुर ऐर, केशवबहादुर चन्द लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ