arrow

'मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ'

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
kp-sharma-oli-pm.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताएका छन् । 'केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्', उनले भने, 'लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।'

एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले शुक्रवार कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गरे ।

निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे । उनले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताए । उनले निर्वाचनको तयारी तीव्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिए । 'जनतालाई आभास हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ', प्रधानमन्त्री ओलीले भने ।

निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गरे । लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उनको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उनले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पारे ।

 'मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ', प्रधानमन्त्री ओलीले भने । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उनले आपत्ति प्रकट गरे । उनले विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी रहेको उल्लेख गरे । ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उनले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताए ।

बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उनले उल्लेख गरे ।

विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताए । '२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन् ।' उनले भने, विसं २००७ अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको सो अवसरमा उनले स्मरण गरे । 'परिवर्तनका लागि कवि र लेखकहरुले जागरण अभियान चलाएका हुन्', उनले भने । 'बुद्धिजीवीहरु अलमलिए पनि जनता अलमलिँदैनन्', उनले भने, 'वुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।'

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २००७ सालकै परिवर्तनका कारण नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । बीचबीचमा विभिन्न विघ्नबाधा आए पनि २००७ सालकै जगमा देशमा महत्वपूर्ण परिवर्तन भएको उनले उल्लेख गरे । 'आजको दिन पवित्र दिनका साथै जीवनको अभिन्न अङ्गसमेत बनेको छ', कुलपति उपे्रतीले भने, 'आजको दिन आगामी यात्राका लागि पनि प्रेरणा बन्ने छ ।'

सो अवसरमा प्रधानान्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनुभएका सर्जकलाई नगद र सम्मानपत्रसहित सम्मान गरेका थिए  । निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो भए । उनहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार प्रदान गरिएको थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए । कार्यक्रमको समापनमा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्यायलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा विभिन्न वेशभूषा र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ