arrow

बाँकेमा कोरोना खोप लगाउन छुटेकालाई थप दुई दिन मौका

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
corona-vaccine-covid.jpg

नेपालगञ्ज । बाँकेमा दोस्रो चरणमा कोरोना खोप लगाउन छुटेका लक्षित वर्गलाई आइतबार र सोमबार पनि खोप लगाइँदै छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका 'फोकल पर्सन' तेज वलीका अनुसार खोप लगाउन छुटेकाले आज र भोलि (आइतवार र सोमवार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भेरी अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।

पत्रकार, जनपथ प्रहरी र जनप्रतिनिधिहरूले लक्ष्य भन्दा कम खोप लगाएकाले उनीहरूलाई खोप लगाउन आग्रह गरिएको छ । दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि फागुन ८ गतेसम्म चलेको हो ।

बाँकेमा दोस्रो चरणमा ४ हजार ५ सय ६३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ९५.१६ प्रतिशत हो । दोस्रो चरणमा ४ हजार ७ सय ९५ लाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरणमा भने ४ हजार ९ सय ६७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । जुन लक्ष्यको ९९.३४ प्रतिशत हो । पहिलो चरणमा ५ हजारलाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरण भन्दा दोस्रो चरणमा ४ प्रतिशत कमले खोप लगाएका छन् ।

दोस्रो चरणमा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाका ९ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्य भन्दा बढी हो । स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी र प्राधिकरण तथा संस्थानका कर्मचारीले लक्ष्य भन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पत्रकारहरूमा ९० जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ९० प्रतिशत हो ।

दोस्रो चरणमा सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, निजामती कर्मचारी, बैङ्क तथा वित्तीय संस्था लगायतलाई लक्षित गरी खोप अभियान चलाइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, वृद्धाश्रमका हेरालु, कैदी वन्दी तथा सुरक्षाकर्मीलाई खोप दिइएको थियो । माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरणमा खोप लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ