arrow

भीरकोट नगरपालिका स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगर घोषणा हुँदै

बालबालिकाका अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
bhimkot-child-friendly.jpg

(भीरकोट) स्याङ्जा। यही फागुन २२ गते शनिवार भीरकोट नगरपालिकालाई गण्डकी प्रदेशको दोस्रो तथा स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ। बालमैत्री नगरपालिकाले बाल अधिकार महासम्धीमा उल्लेखित बाल अधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ।

बालमैत्री नगरपालिका निर्माणको यात्रामा भीरकोट नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ। जसका कारण बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्त्वपूर्ण स्थान दिएको छ।

बालमैत्री नगर घोषणा पूर्व आयोजित पत्रकार सम्मेलनमा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले हामीले नगरपालिकालाई बालमैत्री घोषणा गर्दै छौं, यो सँगै बाल अधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेको बताए। खनालले नगरपालिकाले बालबालिकाको अवस्था र सूचकहरू थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्ने बताए।

बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गर्न सके यसको निरन्तरता सदैव हुनेमा खनाल आशावादी छन्। 
बालमैत्री नगर निर्माणका लागि केही मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ। सोही अनुरूप भीरकोट नगरपालिकाले २०७५ साल देखि नै बालबालिकाको क्षेत्रमा पुजिगत बजेटको केही प्रतिशत बजेट विनियोजन गर्दै आएको छ।

जसले गर्दा सत प्रतिशत बालबालिका विद्यालय भर्ना हुन सहयोग मिलेको छ, सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय रहेको छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ , बालबालिकाहरूको जन्म दर्ता पनि भएको छ। साथै नगरपालिकाले होटेल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्यूनीकरणको काम तीव्र रूपमा गरिरहेको छ र बालविवाह रोकथाम, न्यूनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ ओटा सूचक पूरा गर्नुपर्ने भएकाले भीरकोट नगरपालिकाले सबै सूचकमा काम गिरहेको छ। जसमध्ये २० सूचकमा सत प्रतिशत र बाँकी सूचकहरूमा ९० प्रतिशत भन्दा बढी नतिजा प्राप्त गरेको छ।

बालमैत्री राष्ट्रिय तालिम सहजकर्ता विष्णु चौवेका अनुसार भीरकोट नगरपालिकाका सम्पूर्ण बालबालिका, युवा र समग्र नगरवासी बधाईको पात्र छन् , जसले बालमैत्री स्थानीय शासनको महाअभियानलाई सफल बनाउन योगदान गर्नेछ ।  बालबालिकाको उज्ज्वल र थप शान्तिपूर्ण भविष्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरूप बालमैत्री नगरपालिका घोषणा हन भएकोले राष्ट्रको प्रगतिको लागि आज यो अभियान एउटा कोशे ढुङ्गा बनेको चौवेको भनाई छ।

भीरकोट नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत २ वर्षदेखि मात्रै सुरु गरेको थियो, यसै समयमा कोभिड महामारीको कारण अभियान प्रभावित हुन पुग्यो। बालमैत्री अभ्यासले बालमैत्री स्थानीय शासनको प्रारूप तयार गर्न सहयोग गरेको भीरकोट नगरपालिकाका नगर प्रवक्ता दीपेन्द्र केसीले बताए। बालमैत्री सम्बन्धी अवधारणा नेपाल सरकारले २०६८ सालदेखि अवलम्बन गरेको छ। बालमैत्री नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि भीरकोट नगरपालिकाले स्थानीय स्तरबाट काम गरेको वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारीले बताए।

भीरकोट नगरपालिकाका बाल सञ्जाल अध्यक्ष सुदिप पौडेलका अनुसार नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना पूरा भएको छ। बालमैत्री घोषणा गर्ने क्रम सँगै बालमैत्री नगरको रूपमा हामीले सबै बालबालिकाको अधिकार सुनिश्चित गरेको पौडेलको भनाई छ। बालबालिकाले सुरक्षित वातावरणको महसुस गर्न पाएको र बालमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाएको पौडेलले बताए।

बालबालिकाको आवाज सुनिँदै गएको तथा योजना तर्जुमा प्रक्रियामा पनि निरन्तर सहभागी हुने अवसर पाएकोमा पौडेल खुसी छन्। पौडेल जस्तै बाल क्लबमा बसेर नगरपालिका सँग नजिकमा रहेर काम गर्ने अवसर पाएका कारण, विभिन्न तालिमहरूमा सहभागी भएका कारण अधिकांश बालबालिकाहरूको राम्रो क्षमता विकास भएको देखिन्छ। हजारौँ मानिसहरूको अगाडि बालबालिकाहरू मञ्चमा उभिएर बोल्न सक्षम भएका छन्। यस्तै क्षमता विकासको अवसर देशका प्रत्येक बालबालिकाले पनि पाउनुपर्ने नगर बाल सञ्जालका सहजकर्ता खुमकान्त खनाल बत्ताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ