- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
घरेलु हिंसा भन्ने बित्तिकै हामी महिला माथि हुने हिंसाका रुपमा बुझ्छौं । हुनपनि घरेलु हिंसाका जति घटना सार्वजनिक भएका छन् त्यसमा महिला नै पीडित छन् । घरेलु हिंसाका अन्य स्वरुप नभएका होइनन् या भनौं घरेलु हिंसामा परिवारबाट महिला हिंसामा परेका बाहेकका घटना पनि छन् । तर, मूल रुपमा घरेलु हिंसामा महिला नै पिल्सिएका छन् भन्नु अत्युक्ति हुँदैन । नेपाली समाजलाई बेला–बेलामा यस किसिमका हिंसाजन्य घटनाले तरंगित गरिरहेको पाइन्छ । एक्काइसौं शताब्दीको यो समयमा आइपुग्दा पनि नेपाली समाज यस्ता कुरुप घटनाको विम्ब बोकेर हिँडिरहेको छ । टेलिभिजन कार्यक्रम‘ऐना’मार्फत प्रस्तुत घरेलु हिंसाको कुरुप यथार्थले नेपाली समाजलाई झस्काएको छ ।
कार्यक्रम ऐनामा प्रस्तुत धादिङ आगिन चोककी पूजा परियारमाथि श्रीमानले गरेको अमानवीय घटना घरेलु हिंसाको एउटा ज्वलन्त उदाहरण हो । पूजा अहिले श्रीमानले खन्याइदिएको तातो तेलको घाउ लिएर न्यायको पर्खाइमा हिंडिरहेकी छिन् । पूजाका श्रीमानले खन्याएको तातो तेलले उनको शरीर मात्र जलेन उनको भविष्य नै कठिन मोडमा पुर्याइदियो । २०७७ कत्तिक १८ गते पूजामाथि उम्लिएको तेल खन्याउँदै गर्दा उनकी सासुसमेत मुकदर्शक बन्नु अर्को दुर्भाग्यपूर्ण कुरा हो । यो घटनाले पूजाको शरीरमा मात्र चोट लागेको छैन उनलाई जीवनभरि दुखिरहने घाउ दिएको छ ।
पुजा एउटा प्रतिनिधि पात्रमात्र हुन् । अहिले पनि उनीजस्ता कैयौं पूजाहरु पितृसत्तात्मक मानसिकताको शिकार भइरहेका छन् । पुरुषले म नै शक्तिशाली हुँ, मैंले जे भन्यो त्यही सत्य हो, मैले श्रीमतीलाई जसरी पनि दबाउन सक्छु, हेप्न सक्छु, पिट्न सक्छु वा पाउँछु भन्ने मानसिकताले घर घरमा महिलामाथि हिंसा भई नै रहेको छ । घरेलु हिंसाका घटना महिलाले सहनुपर्छ, परिवारको इज्जतका लागि बोल्नु हुँदैन भन्ने सोचले पनि यस्ता घटनालाई प्रश्रय दिइरहेको महिला अधिकार अभियन्ता मोना शेर्पाको बुझाइ छ । शेर्पाले आफूलाई कुनै पनि प्रकारको हिंसा भइरहेको छ भने त्यहाँबाट उम्किने विषयमा पहल थाल्न महिलाहरुलाई आह्वान समेत गरिन् ।
घरेलु हिंसाकै मारमा परेर धनुषाको चिरैया निवासी कामी यादवले आफ्नी छोरी गुमाउनुपर्यो । विवाह गरेर गएकी छोरी निर्मला यादवलाई सामान्य विवादमै लागू पदार्थको कुलतमा फसेका ज्वाइँ मुकेशले हातखुट्टा बाँधेर जलाइदिए । २०७६ वैशाख ५ मा जलेकी निर्मलाको ११ दिनपछि उपचारका क्रममा निधन भयो । निर्मलाको हत्या गरेका उनका श्रीमान, सासु र ससुरा अहिलेसम्म पक्राउ परेका छैनन् । कार्यक्रम ऐनामा प्रस्तुत गरिएको निर्मला यादवको घटना तराई-मधेशको प्रतिनिधिमूलक घटना हो । घरेलु हिंसाका घटना कुटपिट, यातना र हत्यासम्म पुगेपछि मात्र बाहिर आउनु विडम्वना भएको औंल्याउँछिन् महिला अधिकार अभियन्ता मोना शेर्पा ।
एक अध्ययन अनुसार विश्वमा हरेक चार महिलामध्ये एक महिला घरेलु हिंसाको सिकार हुने गरेका छन् । घरेलु हिंसाका स्वरुप विभिन्न किसिमका छन् । श्रीमानबाट मात्र हिंसा हुन्छ भन्ने आम बुझाइ छ । तर,कपिलवस्तु माइती भएकी हेटौंडाकी सुस्मिता केसी श्रीमान बितेपछि श्रीमानको परिवारको निशानामा परिन् । कपिलवस्तु गोडगाउँकी गंगाकुमारी क्षेत्री र कृष्णबहादुर केसीले छोरी सुस्मिताको विवाह हेटौंडाका रुपेन्द्र थापासँग २०७६ सालमा गरिदिएका थिए ।
विवाहको ५ महिनापछि सुस्मितालाई माइत छोडेर घर हिँडेका रुपेन्द्रको बाटैमा दुर्घटनामा परी मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि क्षतिपूर्ति बापतको रकम सुस्मिताले पाइन् । रुपेन्द्रको मृत्युपछि उनले काम गर्ने कार्यालयबाट आउने रकम नै सुस्मिताका लागि अभिसाप बन्यो । रुपेन्द्रको परिवारले बुहारी सोचेन छोराको मृत्युपछि आउने पैसा सोच्यो जसको परिणाम परिवार नै मिलेर २०७७ असार २ गते सुस्मिताको हत्या गरिदिए । अहिले सस्मिताका बुवाआमा न्यायका निम्ति अदालतको चक्कर काटिरहेका छन् ।
कार्यक्रम ऐनामा राजनीतिज्ञ एवं लेखक कुन्ता शर्मा र उनका कान्छो छोरा प्रशान्त शर्माले आफूहरु हिंसामा परेको घटना सुनाइरहँदा गरिब र अनपढ परिवारमा मात्रै महिलामाथि हिंसा हुन्छ भन्ने भाष्यलाई चुनौती दिएको देखियो । समाज र राजनीतिक व्यवस्था बदल्न हिंडेकी एउटी शिक्षित महिला कसरी श्रीमान मञ्जुलबाट हिंसामा परिन् भन्ने कथाले नेपालमा महिलाको सकसपूर्ण अवस्थालाई उजागर गर्छ । ९ वर्षसम्म प्रत्यक्ष हिंसा भोगेर अनि वर्षौवर्ष मानसिक हिंसा सहेकी शर्मा अहिले महिलालाई सुझाव दिन्छिन्, ‘महिलाले आँट गर्नुपर्छ, सबैभन्दा ठूलो कुरा चेतनाहो । सहनु पटक्कै हुँदैन ।’
आर्थिक वर्ष २०६६/६७ मा नेपाल प्रहरीमा ९ सय ३८ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका थिए । एक दशकको आँकडालाई हेर्दा यो संख्याकरिब एघार गुणा बढेको छ । आर्थिक वर्ष २०७६/०७७ मा आइपुग्दा घरेलु हिंसाका घटना ११ हजार ७ सय ३८ पुगेको प्रहरीको तथ्यांकले देखाउँछ । यो तथ्यांकलाई सोझो रुपमा हेर्ने हो भने, उजुरीको संख्या बढेको मान्नपनि सकिन्छ तर गहिरिएर हेर्ने हो भने घरेलु हिंसा कसरी घरघरमा जरो गाडेर बसेको छ भन्ने बुझ्न सघाउँछ ।
कानुन छ, नीति-नियम छन्, कारबाही गर्ने निकाय छन् तर पनि घरेलु हिंसामा परेर महिलाहरु पिल्सिइरहेका छन् । ललितपुरको गोदावारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मुना अधिकारी स्वयं घरेलु हिंसामा परिन् । न्यायदिने ठाउँमा बसेकी महिला समेत अन्यायमा पर्नु चानचुने विषय होइन । हुन त उपप्रमुख मुना अधिकारीले आफूले हिंसा नसहेर एक्लै बस्ने निर्णय लिनु र नगरपालिकामा हिंसामा परेका महिलाका लागि आवास गृह बनाउन पहल गर्नु सकारात्मक पक्षपनि हो । लड्दै उठ्ने र अघि बढ्ने यस्ता पात्रले समाजमा उज्यालो छर्ने काम गर्छन् ।
कार्यक्रम ऐनामा निर्धक्कसँग आफ्ना कुरा राखिरहेकी कपिलवस्तु तौलिहवाकी विन्द्यवासिनी हरिजनको संघर्षको कथाले पक्कै पनि घरेलु हिंसामा परिरहेका कयौं महिलालाई आत्मवल प्रदान गर्नेछ । टेलिभिजन कार्यक्रम ऐनाले जसरी सामाजिक मुद्दालाई राष्ट्रिय बसहमा ल्याइरहेको छ, यसले केहीहदसम्म समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने र मान्छेहरुलाई प्रश्न गर्ने आँट दिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।