arrow

चिनियाँ लगानीको कम्पनीहरूमा म्यानमारका आन्दोलनकारीले गरे आगजनी, गोली प्रहारबाट २२ प्रदर्शनकारी मारिए

सैनिक कू विरुद्धको आन्दोलनमा अहिलेसम्म १२६ जनाको मृत्यु

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत २ सोमबार
myanmar-protests.jpg

काठमाडौँ। म्यानमारमा सैनिक कू विरुद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीले उत्तरी छिमेकी चीनलाई निशाना बनाउँदै उसले लगानी गरेका कम्पनीहरूमा तोडफोड र आगजनी गर्न थालेका छन्। आइतबार यांगुनको लाइङथाया औद्योगिक क्षेत्रमा रहेका चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएको छ। उद्योगमा आगजनीपछि प्रहरीले चलाएको गोली लागेर कम्तीमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स संस्थाका अनुसार अन्य ठाउँका प्रदर्शनमा आइतबार थप १६ जना प्रदर्शनकारी पनि मारिएका छन्। मृत्यु हुनेमा एक जना प्रहरी पनि छन्।

म्यानमारस्थित चिनियाँ राजदूतावासले उद्योगमा रहेका केही चिनियाँ नागरिक पनि घाइते भएको जनाएको छ। उसले म्यानमारमा रहेको चिनियाँ सम्पत्तिको सुरक्षा गर्न पनि भनेको छ। म्यानमारका धेरै नागरिक चीनले जुन्ता सरकारलाई सघाइरहेको विश्वास गर्छन्। चीनको मौनतालाई उनीहरूले षडयन्त्र ठान्दै आएका छन्।

औद्योगिक क्षेत्रबाट आगोको मुस्लो निस्किएपछि सुरक्षाकर्मीले प्रदर्शनकारी माथि गोली हान्न थालेका थिए। ‘यो अत्यासलाग्दो थियो। मेरै आँखा अगाडि मानिसहरूलाई गोली हानियो। यो कुरा म कहिल्यै भुल्न सक्ने छैन,’ एक जना फोटो पत्रकारले भने। लाइङथाया र आसपासका क्षेत्रमा अहिले मार्सल ल लागू गरिएको छ। सेनाद्वारा सञ्चालित टेलिभिजनले चार वटा गार्मेन्ट उद्योग र एउटा मल बनाउने कारखानामा आगजनी भएपछि सुरक्षाकर्मीले कारबाही गरेको जनाएको छ।

आइतबारको भएका मृत्युसँगै म्यानमारमा सैनिक कू विरुद्धको आन्दोलनमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने २ हजार १  सय ५० जनालाई पक्राउ गरिएको छ। चिनियाँ दूतावासले आइतबारको  घटनापछि परिस्थिति निकै नाजुक भएको बताएको छ तर सुरक्षाकर्मीको गोलीले मारिएका प्रदर्शनकारीबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

‘म्यानमारले हिंसात्मक गतिविधि रोक्नका लागि प्रभावकारी कदम चाल्न, दोषीलाई कानुनअनुसार दण्डित गर्न र म्यानमार रहेका चिनियाँ नागरिक र सम्पत्तिको सुरक्षा गर्न चीन आग्रह गर्दछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ। चिनियाँ लगानीका उद्योगमा भएको आगजनीको कुनै समूहले जिम्मा लिएको छैन। तर सामाजिक सञ्जालमा भने मानिसहरू चीन विरुद्ध खनिएका छन्।

फेब्रुअरी १ को कू पछि पश्चिमा मुलुकले जसरी बेइजिङले कू को विरोध नगरेपछि म्यानमारमा चीन विरोधी भावना बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ