arrow

मेगा बैङ्कबाट रिक्सा चालकहरूलाई रिक्सा नै धितो राखी कर्जा दिने सुविधा

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
mega-golchha-agreement.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरूका लागि विशेष सुविधा ल्याएको छ। मेगा बैङ्क र हंसराज हुलासचन्द एन्ड कम्पनीबीच तीन पाङ्ग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो।

सम्झौतामा मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्।

विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरूलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो। रिक्सा चालकहरूले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ। त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ।

मेगा बैङ्ककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरूलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढङ्गले सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइन्।

नेपाल राष्ट्र बैङ्कको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैङ्कको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरूलाई मेगा बैङ्कले यो कर्जा प्रदान गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ