arrow

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन निर्माणको ठेक्का सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
nta-charge-station.JPG

काठमाडौँ। सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मत सम्भारका लागि ठेक्का सम्झौता भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेन्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनबिच मङ्गलवार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो । एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।  

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने जानकारी दिए ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठुला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन मुख्य राजमार्ग,बसपार्क र ठुला सहरहरूमा राखिने छ । काठमाडौँ उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिने छ । १ नं प्रदेशका झापाको दमक,भद्रपुर,कनकाई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् ।

२ नं प्रदेशको पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर,धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा  चार्जिङ स्टेसन स्थापना हुनेछन् ।  

बागमती प्रदेशको धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २,मकवानपुरको हेटौँडामा २, चितवनको भरतपुरमा २ तथा मुङलिन-कुरिनटारमा ४ र काभ्रेको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।  

गण्डकी प्रदेशमा नवलपुर,तनहुँको दमौली,स्याङ्जामा १-१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।  

लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसनहरू रहने छन् । बाँकेको नेपालगन्जमा १,दाङको भालुवाङ तथा दाङमा १-१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट-सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन् ।

कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेलधुरामा १-१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेछन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ