arrow

लुम्बिनी प्रदेशमा सत्ता समिकरण: बन्लान् त कुल प्रसाद केसी मुख्यमन्त्री ?

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख २ बिहिबार
kul-prasad-kc.jpg

रुपन्देही । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भङ्ग भएपछि उत्पन्न नयाँ राजनीतिक समीकरणको जोड घटाउ विभिन्न प्रदेशसँगै लुम्बिनी प्रदेशमा पनि सुरु भएको छ ।

सो जोड घटाउले हाल लुम्बिनी प्रदेश सरकार सञ्चालन गर्दै आएको एमाले (ओली) पक्षले मात्रै सरकार सञ्चालन गर्न सक्ने अवस्था टर्दै गएको छ । नयाँ परिस्थितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाज पार्टी (जसपा)को गठबन्धन भएमा लुम्बिनी प्रदेशको सत्ता समीकरण फेरबदल हुने पक्का भएको छ ।

तीन दलको समीकरण मिलेमा माओवादी केन्द्रको नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको हो । जसको नेतृत्व माओवादी केन्द्रका नेता एवं हाल लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले गर्ने सम्भावना प्रबल देखिएको छ ।

तर, मन्त्री केसीले मुख्यमन्त्रीको कमाण्ड गर्न नेपाली कांग्रेससँगै अन्य दुई दलको साथ चाहिन्छ। उक्त सत्ता समीकरणलाई निर्णायक बनाउनका लागि मुख्यमन्त्री शङ्कर पोख्रेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धनको तयारी नपुग्दा सरकारलाई दिएको समर्थन कायमै राखेको माओवादी केन्द्रले प्रदेश सरकारमा कांग्रेससँग गठबन्धन बनाउन छलफललाई घनिभूत रूपमा निरन्तरता दिएको छ ।

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने गृहकार्यले लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउनका लागि नेपाली कांग्रेसले सहयोग गर्ने समझदारी भएको बुझिएको छ । सोही समझदारी अनुसार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा छलफल तीव्र पारिएको एक मन्त्रीले जनाएका छन् । तर, यता अविश्वासको प्रस्ताव दर्ता हुन्छ कि भन्ने आशङ्काले हाल लुम्बिनी प्रदेश सभा स्थगन गरिएको छ ।

लुम्बिनी प्रदेश सभामा कूल सांसदको सङ्ख्या ८७ मध्ये सरकार बनाउन ४४ मत आवश्यक पर्दछ । जसका लागि १९ सांसद रहेको नेपाली कांग्रेस, २० सांसद रहेको माओवादी केन्द्र र ६ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) बीचको समीकरण आवश्यक छ ।

समीकरणका लागि माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूले जपासँगको सघन छलफललाई महत्त्व दिएका छन् । लुम्बिनी प्रदेशमा एमालेको ४१ सिट रहेको छ । जुन, अङ्कगणितले एमालेका नेता एवं मुख्यमन्त्री पोख्रेललाई सरकार जोगाउन थप दुई जना सांसद चाहिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ